PahiloPost

Apr 18, 2019 | ५ बैशाख २०७६

जनताको छोरा राजा बनेको खुशीयालीमा पाटनको फरक घोडेजात्रा, सरकारले दिन्छ मात्रै दुई हजार

जनताको छोरा राजा बनेको खुशीयालीमा पाटनको फरक घोडेजात्रा, सरकारले दिन्छ मात्रै दुई हजार

सहयोग रञ्जित/पहिलोपोस्ट


घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी भए, घोडा दौडको अवलोकन गरे। विशिष्ट व्यक्तिहरु सैनिक मञ्चमा कुर्सीमा विराजमान हुँदा सर्वसाधारण भने त्यही कार्यक्रमको एक झलक हेर्न टुँडिखेलका चारै कुनामा तँछाडमछाड गरिरहेका थिए। 

त्यही बेला पाटन दरबार क्षेत्रको चहलपहल पनि काठमाडौंको टुँडिखेल भन्दा फरक थिएन। त्यहाँ पनि घोडेजात्रा हेर्न आउनेको भीड थियो। तर, त्यहाँ न त कुनै सरकारी ओहोदाको व्यक्ति थिए, न प्रशिक्षण प्राप्त सैनिकहरु कला प्रदर्शन गर्न आएका थिए। 

त्यहाँ थिए त जनताको छोरा राजा बनेर घोडा सवारी गरेको हेर्न आएका जात्रामा रमाइरहेका मानिसहरु।

आज आँखामा गाजल, गालामा रातो अबिर, शिरमा भादगाउँले टोपी र दौरा सुरुवाल र स्टकोटमा सजिएका सूर्यमान महर्जन पाटनका एक दिने राजा बने। गत वर्ष पनि उनैले घोडा दौडाएका थिए। 

मल्लकालबाट सुरु भएको यो जात्रालाई अहिले पनि वल्खु चिबहा: का महर्जनहरुले जीवन्त बनाइरहेका छन्। 

नेपालभाषामा ‘च्यो’ भनेको दरबारमा काम गर्ने सुसारेहरु। 

कथन अनुसार एक दिन दरबारमा काम गरिरहेको एक च्यो तबेलामा घोडालाई स्याहारसुसार गर्न छोडेर थकित भएर निदाएछ। राजा भने घोडाको स्याहार नगरी च्यो कहाँ गयो भनेर खोज्नै बाध्य भएछ। निदाइरहेको च्योको टाउकोमाथि पाँचवटा टाउको भएको नाग बसिरहेको राजाले देखे।

राजाले आफू जस्तै बलियो र परिश्रमी च्यो देखेर छक्क परे। राजाले च्योलाई एक दिने राजकाजको जिम्मेवारी दिँदै एक दिनको लागि राजा बनाएर घोडा लिएर नगर परिक्रमा गर्न लगाए।

त्यहाँदेखि च्योलाई राजा बनाएको दिनको सम्झनामा आजसम्म पनि वल्खु टोलको भीमसेन गुठी च्यो खल: का सदस्यहरु मध्ये एक सदस्य घोडा चढेर एक दिनका लागि राजा बनेर नगर परिक्रमा गर्छन्। 

भीमसेन गुठी च्यो खलमा वल्खु चिबहा: मा बस्ने महर्जनहरु मात्रै सदस्य छन्। उक्त गुठीका अध्यक्ष शंकर महर्जनका अनुसार उनका पूर्वजहरुले नै दरबारको स्याहार गर्दै आएका थिए। माथि उल्लेखित कथनहरु कै आधारमा पाटनमा जनताको छोरो राजा बनेर घोडेजात्रामा सहभागी हुँदै आएको बताए। 

तर काठमाडौंको घोडेजात्राले पाटनको जात्रालाई कतै ओझेलमा पार्‍यो। सैनिक मञ्चमा शाही तरिकाले घोडेजात्रा हेरिआएकाले बीच सडकमा दौडाइने यो संस्कारलाई महत्व दिएनन्। अझ मुख्य समस्या भनेको त यो जात्रा संचालन गर्न बजेटको समस्या। गुठी संस्थानले यो जात्रा संचालन गर्न वार्षिक २ हजार दिँदै आइरहेको छ। यो वर्ष भने महानगरपालिकाले १५ हजार थप रकम दिएको छ। 

तर, यतिमात्रै रकमले जात्रा र गुठी संचालन गर्न सक्ने अवस्था नरहेको बताउँछन् गुठीका सचिव सानुकाजी महर्जन।

'परम्परागत संस्कृतिको संरक्षण गर्न हामी तयार छौं । घोडा चढ्ने तयार मानिसहरु समेत धेरै छन्। तर भविष्यमा बजेटको अभावमा यो जात्रा रोकिने खतरा हुनसक्छ।' हाल गुठीयारहरुकै बीचबाट पैसा जम्मा गरे जात्राको खर्च जोहो गर्दै आइरहेका छन्। पहिला भन्दा जात्रालाई व्यवस्थित बनाउन घोडा चढ्न सक्षम व्यक्तिहरु छनौट गरि सिंहदरबारमा रहेको क्याभलरीमा प्रशिक्षण गर्न पठाउँछन्। गुठीका अन्य काम, देवीदवेताको पुजा, भोज लगायतका सबै खर्च गुठीयारहरुकै काँधमा छ। j

काठमाडौंमै भव्य तरिकाले घोडे जात्रा मनाइरहँदा पाटनको जात्रालाई भने केही हजारमात्रै दिने गरेकोमा उनले दुखेसो पोखे। 

’टुँडिखेलमा घोडे जात्रा भनेर रमिता देखाउन लाखौं खर्च गरेको छ सरकारले। तर यहाँ जनताको छोरा राजा बनेको खुशीयालीमा मनाएको पर्वमा भने दुई हजार मात्रै दिने?’ उनले भने ‘सरकारले रमिता गर्नेहरुलाई प्रशस्त रकम दिएको छ। बोलीमा संस्कृतिलाई बचाउन पर्छ भनेर भाषण गर्दै हिँड्छन्। त्यही सैनिक मञ्चमा गर्ने घोडेजात्राको होडबाजीबाट केही प्रतिशत रकम यहाँको जात्राको संरक्षण गर्न दिने तर्फ उनीहरुले कहिल्यै सोचेनन्।'

यसो त पाटनमा मनाइने यो जात्राको इतिहासको बारेमा थप अध्ययन हुनपर्ने बताउँछन् उनी। तर कथनहरु जे रहे पनि अब भने यसबारे प्रचारप्रसार गर्नुपर्ने अवस्था रहेको उनको तर्क छ। 

‘सरकारलाई सचेत गराउन र यहाँ कुनै रमिता नभइ सांस्कृतिक जात्रा भइरहेको भन्ने बारे सरकारलाई झकझकाउने बेला आएको छ। दुई हजारमा अहिले जात्रा संचालन होला?’ उनी सरकारलाई प्रश्न गर्छन्। घोडा

यसपटकको जात्राका लागि पनि वल्कु टोलका गुठीयार र युवा नै सक्रिय भए। सूर्यमान महर्जनले पाटन दरबार क्षेत्रबाट  घोडा चढेर आफ्नो यात्रा सुरु गरे। त्यहाँबाट वल्खु पुगे चिबहा: लाई तीन पटक परिक्रमा गरे, घोडालाई खानेकुरा खुवाए। सूर्यमान त्यसपछि बखुमबहाल, लोंल, भोलढोका हुँदै बालकुमारी मन्दिर पुगे। उनले तीन पटक बालकुमारी मन्दिरबाट भोलढोकामा रहेको भोल गणेशको मन्दिरसम्म तीन पटक परिक्रमा गरे। 

यसै जात्राका लागि करिब ८ दिन प्रशिक्षण लिएका उनी दोस्रो परिक्रमा गर्दा बालकुमारी मन्दिरनिर भने लडे। यद्यपि उनले तीनै पटक परिक्रमा गर्ने परम्परा भने पालना गरे। 

बालकुमारी मन्दिरलाई तीन पटक परिक्रमा गरेपछि उनलाई पाटन दरबारबाट राजाको प्रतिकमा आएका एक खड्गधारी वृद्धले सूर्यमानलाई पान र पैसा दिए। सूर्यमानले पान खाएर केही बेर घोडसवार गरे। र क्याभलरीबाट आएका अधिकृतलाई घोडा हस्तान्तरण गरे। यसैसँग यसपटक पाटनको सांस्कृतिक घोडेजात्रा सम्पन्न भयो। 

सूर्यमानमा खुशी र डर दुबै छ। टोलले विश्वास गरेर घोडेजात्रामा सहभागी बनाएकोमा उनलाई गौरव छ। तर सरकारले यस जात्रालाई संरक्षण गर्न छिट्टै केही पहल नगरे च्योहरुको योगदानको कदर गर्दै राजाले सुरु गरेको यो जात्रा लोप हुन सक्ने डर छ।

भन्छन्,’ दरबारको हेरचाह गर्नेलाई राजा बनाउने परम्परा यहाँबाहेक कत्तै छैन। राजा हटाएर देश हाँक्न आएकाहरुले यसको हेक्का राखेको भए हामी अझै धुमधामले यो पर्व मनाउँछौं।’ 



ट्रेन्डिङ पोस्ट