PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किन धमाधम पक्राउ पर्दैछन् प्रतिबन्धित नेकपाका नेता कार्यकर्ता? विप्लवलाई कति क्षति?



विधुर ढकाल

किन धमाधम पक्राउ पर्दैछन् प्रतिबन्धित नेकपाका नेता कार्यकर्ता? विप्लवलाई कति क्षति?

काठमाडौं: सरकारले प्रतिवबन्ध लगाएसँगै प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पाटी (नेकपा)का कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन्।

फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फटसँगै नेकपाका कार्यकर्ताहरु प्रहरीको उच्च निगरानीमा रहेका थिए। सो घटनामा एक जनाको ज्यान गएको थियो।

विस्फोटको जिम्मा लिने नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ समेत पक्राउ परेका छन्। उनी हालसम्म पक्राउ परेका उच्च तहका नेता हुन्। सुदर्शन नेकपाभित्र तेस्रो वरियताका नेता हुन्।

प्रहरीले पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) केन्द्रीय सदस्य बसन्त श्रेष्ठ, कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ, मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, नवलपरासी इञ्चार्ज गंगा ज्ञवाली ‘सुमन’, कालिकोट जनसरकार प्रमुख धनराज शाही, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का संयोजक राजु कार्कीसहित करिब २०० को हाराहारीमा प्रतिबन्धित नेकपाका नेता तथा कार्यकर्ताहरु पक्राउ परिसकेका छन्।

महानगरिय प्रहरी कार्यालय काठमाडौंले मात्र दुई दर्जनको हाराहारीमा विप्लवका कार्यकर्ता पक्राउ गरेको छ।

गृह मन्त्रालयले चन्द समूहका केन्द्रीय नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएको छ। सोही अनुरुप प्रहरीले विप्लवको गृह जिल्ला कपिलबस्तु, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृहजिल्ला कालिकोट, सुदर्शनको गृहजिल्ला रुकुम, स्थायी कमिटी सदस्य सन्तोष बुढामगरको रोल्पासहितका जिल्लाहरुमा उच्च सतर्कता कायम राखिएको छ।

चैत १ गते अवैध वा नवीकरण नगरेका हतियार ३५ दिनभित्र प्रहरी कार्यालय वा सेनाको ब्यारेकमा बुझाउन सूचना जारी गरेको गृहले १० गते विप्लव समूहलाइ सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई समेत कारबाही गर्ने सूचना जारी गरेको थियो।

विप्लवलाई कति क्षति?

नेता सुदर्शन हालसम्म पक्राउ परेका प्रतिबन्धित नेकपाका शीर्ष तहका नेता हुन्। रुकुमको त्रिवेणीका सुदर्शन तत्कालिन नेकपा माओवादीका केन्द्रीय सदस्यसम्म पुगेका नेता हुन्।

उनी २०५१ सालमा नेकपा एकता केन्द्रका रुकुम जिल्ला सेक्रेटरी थिए। २०५१ साल फागुन १ गते तत्कालिन माओवादीले जनयुद्धको सुरुआत गर्दै गरेकोरुकुमको राडी प्रहरी चौकी आक्रमणका कमिसार सुर्दशन थिए।

उनी २०५४ सालमा भारतको हरियानामा भएको बैठकबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। २०५५ साल माघ २८ गते बाजुरामा पक्राउ परेर २०५८ असार २१ गते रिहा भएका थिए। शान्ति प्रक्रियापछि तत्कालीन राप्ती ब्युरो इन्चार्ज, मगरात राज्य समिति इन्चार्ज भएका थिए।

०६९ मा पार्टी विभाजनपछि लामो समयसम्म प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी हुँदै नेकपा माओवादी केन्द्रमा रहेका उनी प्रचण्डसँग असन्तुष्टि हुँदै न्युक्लियसमा सामेल भए।

पछि उनले कम्युनिस्ट न्यूक्लियसलाई विप्लव समूहमा विलय गराएका थिए। तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि कुनै राजनीतिक लाभको पदमा उनी पुगेका थिएनन्।

सुदर्शन प्रतिबन्धित नेकपाका मध्य कमाण्ड इञ्चार्ज मात्र होइनन् केन्द्रीय स्कुलिङ विभागका प्रमुखसमेत हुन्। उनको पक्राउसँगै विप्लव समूहलाई मध्य क्षेत्रमा ठूलो क्षति पुगेको छ।

यस क्षेत्रमा संगठनलाई सुदृढ बनाउँदै गएको अवस्थामा उनको पक्राउले नेकपाको यस क्षेत्रमा विस्तारलाई समस्यामा पारेको छ।

त्यस्तै पूर्वी कमाण्ड अन्तर्गत संगठन विस्तार अभियान चलाईरहेको अवस्थामा कोशी ब्युरो प्रमुखसमेत पक्राउ पर्दा पूर्वी क्षेत्रमासमेत नेकपालाई सांगठनिक क्षति पुगेको छ।

यद्यपि नेकपाको प्रभाव क्षेत्र उनीहरुकै विभाजनका आधारमा पश्चिम कमाण्ड हो। यहाँ प्रहरीले उच्च निगरानी बढाए पनि यस क्षेत्रका खासै ठूला नेतालाई पक्राउ गर्न प्रहरी सफल भइसकेको छैन।

किन पक्राउ परे सुदर्शन?

निर्वाचन अगाडि देखि नै नेकपाका ठूला नेताहरु अर्धभूमिगत जस्तै थिए। उनीहरु कमै मात्र सार्वजनिक कार्यक्रममा देखिन्थे।

पछिल्लो पटक नख्खु विस्फोटसँगै नेकपाका नेताहरु पूर्ण रुपमा भूमिगत हुँदै गए। प्रहरीले उनीहरुको पिछा गर्दै थियो। सुदर्शन तीनै नेता हुन जो नख्खु विस्फोटको जिम्मा लिएका थिए। सुरु देखि नै प्रहरी उनको निगरानीमा थियो। प्रतिबन्ध लगाएको दुई साता नहुँदै उनी पक्राउ परे।

विप्लवका नेताहरुले आफ्नो सुरक्षित सेल्टर निर्माण गरिनसकेका कारण यति धेरै नेता कार्यकर्ताहरु पक्राउ परिहेको हाल स्वतन्त्र रुपमा रहेका पूर्व माओवादीका एक वुद्धिजिबीले बताए।

‘सरकार एग्रेसिभ रुपमा प्रस्तुत हुँदा उहाँहरु डिफेन्सिभ पनि हुन सक्नु भएन,’ उनले भने, ‘नाम चाँही नलेखिदिनु होला बोल्ने अवस्था नै छैन।’

उनका अनुसार विद्रोहीहरु भन्दा सरकार आक्रमक देखिएको छ। ‘क्रान्ति आवश्यक त हो। तर वेला भएको थिएन। विप्लवजीहरु तयार नहुँदै सरकारले फायर खोल्यो,’ उनले पहिलोपोस्टसँग भने, ‘आधार इलाका तयार भइसकेका थिएनन्। सुरक्षित सेल्टर भइसकेका थिएनन्। हिजो कै आधार इलाका प्रयोगमा थिए। जसको भेद खुलिसकेको थियो।’

हिजो माओवादीले प्रयोग गर्ने सेल्टर र आधार इलाका तथा रुट नै अहिले विप्लवले प्रयोग गरिरहेका कारण यति धेरै नेताकार्यकर्ताहरु पक्राउ परेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell