PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सुरु भयो लगानी सम्मेलनः प्रधानमन्त्रीको घोषणा, 'स्वदेशी सरह विदेशी उद्योगलाई संरक्षण'



पहिलोपोस्ट

सुरु भयो लगानी सम्मेलनः प्रधानमन्त्रीको घोषणा, 'स्वदेशी सरह विदेशी उद्योगलाई संरक्षण'

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई तिहाइ बहुमतसहितको सरकारलाई नेतृत्व गरिरहेकाले विदेशी लगानीको संरक्षण र नाफाको ग्यारेन्टीका लागि प्रतिबद्ध रहेको बताएका छन्। करिब ७०० जना विदेशी पाहुनाहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले नेपाली लगानी सरह नै विदेशी लगानीको पनि संरक्षण र सहुलियत दिने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री ओलीले शुक्रबार लगानी सम्मेलन उद्घाटन गर्दै विदेशी लगानीकर्ताका लागि अत्यन्तै उच्च नाफा र सम्भावना भएका ७७ वटा परियोजनाहरू तयारी अवस्थामा राखेको बताए। उनले नेपालले सबै राजनीतिक संक्रमणहरुलाई पार गर्दै स्थायित्वको अवस्थामा आइपुगेको बताउँदै अबको नीति आर्थिक समृद्धि भएको समेत बताए।

'मेरो सरकारको नीति नै समृद्ध नेपाल सुखी नेपाली हो। यसका लागि हाम्रो आन्तरिक स्रोतबाट मात्र पुग्दैन' उनले भने, 'त्यसैले तपाइहरूसँग साझेदारी गर्न हामी तत्पर छौँ।'

उनले लगानीको वातावरणलाई थप बलियो बनाउन कानुनी र संरचनागत सुधार भइरहेको जानकारी दिँदै विदेशी लगानीकर्ताको सहजताका लागि 'एकद्वार केन्द्र' सञ्चालनको तयारी भइरहेको समेत बताए।

उनले नेपाल चाँडै नै न्यून आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुन लागेको जानकारी दिँदै त्यसका लागि निरन्तर आर्थिक सुधारको काम भइरहेको समेत जानकारी गराए। प्रधानमन्त्री ओलीले नेपालको विकाससँगै लगानीकर्ताको लाभ साझा साझेदारीबाट मात्र सम्भव भएकाले नेपालको जुनसुकै क्षेत्रमा लगानी गरे पनि नाफा हुने दाबी गरे।

प्रधानमन्त्रीले पछिल्लो समय सुशासनमा निकै सुधार भइसकेको जानकारी दिँदै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर हिँडिरहेको बताए। उनले निजी क्षेत्रलाई सँगै लिएर हिँड्ने बताउँदै नेपालको राज्य पुनःसंरचनापछि प्रदेश प्रदेशबीच पनि लगानीका लागि प्रतिस्पर्धा चल्न थालेको बताए।

ओलीले नेपालमा कमाएको पैसा लैजाने ग्यारेन्टी गरिएको बताउँदै जग्गा प्राप्ति, रजिष्ट्रेसनमा सहजीकरण गरिएको समेत बताए। उनले भुक्तानी प्रक्रिया अनलाइन माध्यमबाट हुने व्यवस्था गरिसकेको बताउँदै अन्य सुधारका कामहरू लगानीकर्तासँग छलफल गरेर गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे।

प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपाली श्रम बजारमा युवा जनशक्ति बढ्दो रहेको बताउँदै यसबाट उत्पादकत्व वृद्धि गर्न लगानीकर्तालाई सहज हुनेसमेत बताए। उनले कानुनी विवाद उत्पन्न भए त्यसलाई 'फास्टट्र्याक' बाट टुङ्ग्याउने बताए। उनले लगानी प्रवर्द्धन गर्न विशेष आर्थिक क्षेत्र सञ्चालनमा आइसकेको बताउँदै थप सात वटा सञ्चालनको तयारी भइरहेको बताए।

उनले विदेशी लगानीकर्ताका लागि भौगोलिक हिसाबले पनि नेपाल उपयुक्त रहेको बताउँदै भने ‘हामी चीन र भारतको बिचमा छौँ। जुन ठूलो बजार हो।' उनले नेपाल र भारतबीच अधिकांश बस्तु तथा सेवामा कर छुट रहेको बताउँदै चीनसँग पनि त्यही स्तरको समझदारी भएकाले नेपालमा लगानी गर्नेहरूले त्यसबाट फाइदा उठाउन सक्ने बताए।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले केही वर्षदेखि निरन्तर उच्च आर्थिक वृद्धि हासिल गरिरहेकाले विदेशीका लागि नेपाल लगानीका लागि उपयुक्त हुने तर्क प्रस्तुत गरे।

लगानी सम्मेलनमा विदेशी पाहुनाहरूलाई स्वागत गर्दै उनले नेपालले विदेशीका लागि उपयुक्त हुने परियोजनाहरू तयार पारेर राखेकाले त्यसमा काम गर्न आग्रहसमेत गरे। उनले नेपालको आर्थिक अवस्थाको जानकारी दिँदै उच्च नाफाको ग्यारेन्टी समेत गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell