PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रम ओलीले सद्‍भावना दूत बनाएका बलिउड हिरोइन जय प्रदा भाजपा छिरिन्



पहिलोपोस्ट

प्रम ओलीले सद्‍भावना दूत बनाएका बलिउड हिरोइन जय प्रदा भाजपा छिरिन्

प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक दूत नियुक्त गरेका बलिउड कलाकार जयप्रदा भारतीय जनता पार्टी प्रवेश गरेकी छिन्।

नेपाल भारत सम्बन्धमा सांस्कृतिक दूतका रुपमा ओलीले यसैवर्ष उनलाई नियुक्त गरेका थिए।

चुनावको मुखमा पार्टी प्रवेश गराएसँगै भाजपाले उनलाई उत्तर प्रदेशको रामपुरबाट उम्मेदवार बनाउने सम्भावना रहेको छ। उनलाई उत्तर प्रदेशको समाजवादी पार्टीका भेट्रान उम्मेदवार आजम खानविरुद्ध उम्मेदवार बनाउने तयारी रहेको भारतीय मिडियामा खबर छ।

जयप्रदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काम गर्ने शैलीबाट प्रभावित भएर पार्टी प्रवेश गरेको प्रतिक्रिया दिएकी छिन्। भाजपा प्रवेश गर्नुलाई उनले जीवनकै महत्वपूर्ण क्षणका रुपमा व्याख्या गरिन्।

सन् १९९४ मा तेलगु देशम् पार्टीबाट राजनीति सुरु गरेकी उनी आन्द्र प्रदेशबाट राज्य सभा सदस्य रहिसकेकी छिन्। जयप्रदा त्यसपछि समाजवादी पार्टीसँग जोडिइन्। समाजवादी पार्टीका नेता अमर सिंहसँग नजिकको सम्बन्ध बनाएकी जया प्रदा सन् २००४ र २००९ मा रामपुरबाट संसदमा निर्वाचित भइन्।

सन् २०१० मा पार्टीभित्र विवाद भएपछि उनलाई समाजवादी पार्टीबाट अपदस्थ गरिएको थियो। सन् २०१४ को निर्वाचनमा उनी राष्ट्रिय लोकदलबाट विनजोरबाट उम्मेदवार बनिन्। तर, त्यतिखेरको चुनावी दौडमा उनी चौथो स्थानमा सीमित भइन्।

नेपालको संस्थापनसँग नजिकको नाता रहेको उनी यसै वर्ष दुई पटक सार्वजनिक रुपमा देखा परिन्। एकपटक उनी नेपाल आउँदा यस वर्षको जी सिने अवार्ड नेपालमा हुने तय गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ घन्टा छलफल गरेको उनीसहित जी टेलिभिजन र फिल्म निर्माताहरुको टोलीले नेपालमा अवार्ड आयोजना गर्नेबारे छलफल गरेको थियो। ओलीले त्यसमा सकारात्मक संकेत दिएलगत्तै नेपालमा अवार्ड आयोजना गर्ने तय भएको थियो। रोचक त के थियो भने, जी सिने अवार्डमा एउटा विधा नेपाली फिल्मलाई पनि समेट्ने बताइएको थियो।

उत्कृष्ट नेपाली फिल्मले जी सिने अवार्ड पाउनेगरी आयोजना गर्ने भनिएको त्यो कार्यक्रम इन्डियामा नै आयोजना भइसकेको छ। प्रधानमन्त्री ओलीसँग ३ घन्टा लामो छलफल गरेर तय भएको कार्यक्रम यहाँ किन आयोजना गरिएन भन्ने कसैले पनि बाहिर ल्याएको छैन।

जय प्रदाको औपचारिक नेपाल भ्रमण सद्‍भावना दूत बनाउँदा भएको थियो। प्रधानमन्त्री ओलीले दुई देशलाई सांस्कृतिक रुपमा जोड्न उनलाई दूत बनाएको हो। उनले 'सिँदुर', 'गंगा जमुना शरस्वती', 'घर घरकी कहानी', 'संजोग', 'जबरदस्त', 'होसियार', 'हकिकत', 'मेरा साथी' जस्ता २ दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell