PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


आफ्नै माटोको कथा उन्दै हिरा बिजुली : कर्णालीलाई यसरी जोड्दैछन् काठमाडौंसँग


स्वेच्छा राउत

आफ्नै माटोको कथा उन्दै हिरा बिजुली : कर्णालीलाई यसरी जोड्दैछन् काठमाडौंसँग

'गर्भ छिटा', नाटकमा सँगै आमा छोरी र मुगु

श्यामे दमाइले आफ्नो बच्चाको गर्भ छिटा गरिदिएका थिए। ‘गर्भ छिटा’ अर्थात् कर्णालीमा बच्चा गर्भमै रहँदा उसको विवाह तय गरिदिने प्रचनल। पुरुषहरु मजाक मजाकमा आफ्नी श्रीमतीको पेटमा हुर्किरहेको बच्चाको बिहे तय गरिदिन्छन्। त्यस्तै भयो हिरा बिजुली नेपालीको हकमा पनि। बुबाले आफ्नो साथीलाई वचन दिए, सम्धी बन्ने। 

छोरा जन्मन्छ वा छोरी मतलव छैन, जन्मिए र हुर्किएपछि ती बच्चाहरुले एकअर्कालाई मन पराउँछन् कि पराउँदैनन् भन्नेले पनि अर्थ राख्दैन। तर, विवाह हुन्छ किनकि यहाँ रिती (कुरिती)ले ज्यादा महत्व राख्छ।  

हिरा दुई कक्षामा पढ्थे। शिक्षकले सबै विद्यार्थीलाई झै सोध्थे - तिमीहरुको गर्भ छिटा भया कि नाई? 

हिरा रौसिदै भन्थे - अँ। फलानोसँग। 

त्यसपछि साथीहरुलाई के चाहियो सबैले जिस्काउँथे - फलानो हिराको ‘स्वास्नी’, हिरा त फलानोको ‘पोइ’। 

हिराको पढाइ सकेर मात्र विवाह गर्ने अठोटले उनको गर्भ छिटा पूर्ण भएन। किनकि उनी कलेज पढ्न काठमाडौं आए। केटीको परिवारले हिरालाई पर्खिएनन्, छोरीको ‘उमेरमै’ विवाह गरिदिने चलन जो थियो। 

गर्भ छिटामा परेनन् तर प्रचलनले हिराको दिमागमा निकै गहिरो असर गर्‍यो। जसकाविरुद्ध उनी बोल्न चाहन्थे। बाल विवाह, गर्भ छिटा लगायत चलन ठीक होइन भन्ने सन्देश प्रवाह गर्न चाहन्थे। त्यसैले सोही विषयमा नाटक तयार पारे- ‘गर्भ छिटा’।

यो प्रचलन ‘पहिले थियो तर अहिले छैन’ भनिन्छ, जसरी ‘छाउपडी कानुनी रुपमा छैन’ भनिन्छ, ‘जातीय विभेद छैन’ भनिन्छ। हिराले सुनाए, 'यी सबै कुराहरु अघोषित रुपमा छन्। जसलाई हामीले छैन भन्न मिल्दैन किनकि कलाकर्मीको धर्म यथार्थ देखाउने हो।‘

गत फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव भयो। बाह्र नेपाली नाटकहरु मञ्चन भए। तीमध्य एक थियो ‘गर्भ छिटा’। जसमा मुख्य पात्र पम्पाको भूमिका निभाएकी थिइन् हिरा बिजुलीकै श्रीमती विष्णुमाया परियारले। उनकी आमा बनेकी थिइन्, जसुली नेपाली। 

जसुली ४५ वर्षकी भइन्। उनकी १९ वर्षीया छोरी औषिमा परियार पनि नाटककी एक पात्र हुन्। छोरीले संगिनीको भूमिका निभाएकी छिन्। यी आमा छोरीको सहभिता उदाहरणीय लाग्छ। जसुली बोल्छिन्, 'पीडा भोगेको हंशले नै नाटकको कथा ठीकै त छ भन्या। त्यसपछि आमाको रोलमा मुई खेल्छु भन्या हुम्।‘ 

जसुलीले ९ वर्षअघि नै पाठेघर सम्बन्धी सडक नाटक खेलेकी थिइन्। जसमा पाठेघर खसेकी बुहारीको भूमिका निभाएकी थिइन्। नाटकमा सासु ससुराले दु:ख दिएको गुनासोका संवाद उनलाई अझै याद छ। उक्त नाटकले आफ्नो पाठेघर सम्बन्धी सचेतना पनि बढाएको र नाटक खराब हुँदैन भन्ने पनि बुझाएको सुनाउँछिन् उनी। 

छोरीले पहिलो पटक नाटक गर्न जान्छु भन्दा उनलाई खासै निको लागेन। हिरा उनको ज्वाइँ पर्छन्। उनकै विश्वासमा छोरीलाई पठाइन्।

श्रीमानले पनि भने-  ‘आन्टी र अंकल भएपछि छोरी कहीँ बिग्रिदिनन्, भत्किदिनन्। पठाए भैगो नि।' 

एसएलसी लगत्तै औषिमाले कर्णाली थिएटरसँग जोडिन पाइन्।

नाटक गर्भ छिटाको रिहर्सल भइरहँदा आमा पात्रको खोजी भयो। खबर पुग्यो जसुलीसम्म। खबर पाएपछि आफ्नो मनमा लागेको कुरा खस लवजमा सुनाइन्, 'नाटक खेल्न जाउ न त, अब थलोमा गया भनेसी केही न केही सिकिन्छ पन बुझिन्छ पन भनिछोरीसँगै नाटक खेल्न आया हम्।'

बाजे बज्यैको गर्भ छिटा भएको कहानी सुन्दा रमाउने उनलाई नाटक गरेपछि त्यही कथाले त्रसित बनाएको छ। उनी स्वयंको पनि मागी विवाह भयो, आमाबुबाको जबरजस्तीका करण। अब आफूले भने छोरीले इच्छाएको व्यक्तिसँग विवाह गर्न दिने मनसाय बनाएको सुनाइन्। भनिन्, 'हामीले खोज्यासँग छोरी खुशी नभए हामीलाई पनि पीर बढ्न्या हो। त्यसैले यति पढेपछि आफ्नो कुरा मिल्न्या आफै रोज्न सक्छन् ह न?’,

छोरीतिर हेर्दै प्रश्न गर्छिन्। 

छोरी कुरा सुनेर मुस्कुराउँछिन् मात्र।

अभावले जोड्यो नाटकसँग 

हिरा बिजुली नेपालीले एसएलसी पास गरे। मुगुको भाम बाडामा दलित समुदायबाट एसएलसी पास गर्ने एक मात्र पुरुष। २०६० सालतिरको कुरा हो, हिरा कलेज पढ्न काठमाडौं जाने हल्ला फैलन समय लागेन। कुरा काट्ने धेरै भए। भन्थे, 'कसलाई ठगेर खान जान लागेको हो। नत्र पैसा छैन कसरी पढोस्।' कतिले ओठ लेप्राए। अनि धेरैले भने, 'दमाईको छोराले पढेर के गर्छ?’ 

बाटो छेउको टहरामा लुगा सिलाउँथे उनका बुबा। आधा जिन्दगी अरुको लुगामा रफु गरेर बिताएका उनी चाहन्थे - सन्तानलाई मास्टर बनाउँ अनि बाँकी जीवन सानका साथ बिताउँ। मास्टर बन्न पढ्नु पर्थ्योै। श्यामे दमाईले आँट गरेर काठमाडौं ल्याए। मीन भवनस्थित एक आवसायी विद्यालयमा भर्ना गरिदिएर फर्किए।

कुरो २०५३ सालमा हो। हिरा बाह्र वर्षका मात्र थिए। ‘काठमाडौंमा साथीहरु थिएनन्, आमाबुबा थिएनन्। मलाई निकै न्यास्रो लाग्यो र मुगु फर्किएँ,’ उनले सुनाए। 

स्कूल पढ्दा एक्लोपनले गाँजेर गाउँ फर्किए। कलेज पढ्न एक्लै काठमाडौं हान्निए, सात वर्षपछि। यस पटक ठाउँ चिनाउँदै, कथा सुनाउँदै पुर्या्उन आउने बुबा थिएनन्। बुबाको २०५९ सालमै निधन भयो, उनले एसएलसी दिनुभन्दा एक वर्षअघि। 

सोचेका थिए- काठमाडौंमा काम गर्दै पढ्छु। बस्न, खान, कलेजमा तिर्न पुग्ने कमाइ भइहाल्छ। नपुगे आमाले दु:ख गरेर भए पनि पठाइ हाल्छिन्। सरस्वती क्याम्पसमा आइकम भर्ना भए। सुरुवाती केही दिन साथीहरुसँग डेरा गरेर बसेका थिए। केही समयमै समाज विकास छात्रावासमा भर्ना भए। दलित किशोर तथा पुरुषहरुका लागि सञ्चालित उक्त छात्रावासमा मासिक १२ सय रुपैयाँ तिर्नुपर्थ्यो । 

‘गाउँबाट शहर पस्दा कल्पना अर्कै थियो। यहाँ जागिर पाइन्छ, पैसा कमाइन्छ, पढिन्छ, बाइक किनिन्छ भन्ने थियो। तर, दु:ख परेपछि आफ्नो घरै ठीक छ भन्ने लाग्यो,’ उनीले त्यतिखेरको अवस्था सम्झिए, 'गाह्रो रहेछ तर मैले पढ्न छोड्नु हुन्न भन्ने थियो। गाह्रो परे गुहार्न आमा थिइन्।' 

कलेज भर्ना भएको तीन महिना नबित्दै खबर आयो, आमा दाँते नेपाली घर छोडेर निस्किइन्। कता, किन पत्तो थिएन। जे होस् हिराको भर रहिनन्। घरमा भएको १३ वर्षीय भाइ जनकलाई झल्झल्ती सम्झिए। अन्तत: उसकै लागि पनि आफू फर्कने निर्णय लिए। पढाइ छाडेर। 
मुगु फर्कन पैसा थिएन। चिनजानका मीनबहादुर भाम मात्र थिए काठमाडौंमा। उनकैमा पुगे। गाउँ फर्कने खर्चका लागि पैसा माग्न। 

‘उहाँसम्म पुग्नु नाटकसम्म पुग्नु रहेछ,’ सुनाए, 'सायद उहाँले पनि चाहनु भएन सम्भावना बोकेको केटो निराशा बोकेर फर्कियोस्। पैसाका नभए कमाइका लागि नाटक खेल्ने सुझाव पो दिनु भयो।‘ 

उनका लागि नाटक नौलो विषय थियो, सुन्नमा पनि। 

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवका लागि नाटक बनाउँदै रहेछन्, भाम। जुम्लाको कथामा बन्ने नाटकमा अभिनय गर्ने सुझाव दिए, पाँच हजार रुपैयाँ कमाइ हुने जानकारीसहित। ‘पाँच हजार भए पाँच महिना खान पुग्छ भन्ने सोचेँ। त्यसैले नाटक गर्ने भएँ,’ पहिलो नाटक गरेपछि त उनी अभिनयमै रत्तिए। 

घरमा माइला दाजु थिए, ज्याला मजदुरी गरेर कमाउँथे। भाइ उनीसँगै रहे।

त्यसपछि नाटकघर आरोहण गुरुकुलबाट उनको यात्रा अघि बढ्यो। अभावले जोडिएका उनी त्यहाँ तलबी कलाकार बने। मासिक सात, आठ हजार रुपैयाँ कमाउँथे। नाटकसँगै अघि बढ्यो उनको पढाइ पनि। ‘अभिनयमा पनि भोग्दै आएको अनि देख्दै आएका जीवन त बाँच्नु पर्थ्योट। नाटकले कलाको शक्ति त बुझायो नै सँगै जिन्दगीका उताव चढाव स्वीकार्न पनि सिकायो,’ नाटकले दिएको सन्तुष्टिका कुरा सुनाए।

उनको कुरा सुनिरहेका जुम्लाका गोविन्द सुनार गम्भीर देखिए। उनी पनि गर्भ छिटाका कलाकार हुन्। मण्डलामा चरणदास चोर हेरेपछि नाटक गर्ने हुट्हुटीले छोयो। तर, नाटक सिक्न पैसा थिएन। सुनारले सुनिल पोखरेलसँग अभाव र इच्छाको कुरा सुनाए। पोखरेलसँग केही सिके, केही थप सिके ब्याकस्टेज काम गरेर। पूरा समय नाटकलाई दिँदा अरु काम गर्न पाएनन्। पैसा भएन। ब्याचलर्स सकाएका उनले मास्टर भर्ना गर्न सकेनन्। दैनिकी बिताउन नि गाह्रो नै हुन थालेपछि जुम्ला फर्किए। 

‘उता गएर पनि नाटक नै गर्छु भन्ने थियो। तर, सजिलो हुन्न रहेछ। गाउँमा अभाव मात्र होइन राजनीतिले पनि केही गर्न नदिने,’ हिराले फिस्स हाँस्दै भने, 'हामीले रोज्या बाटो कहाँ सजिलो छ र।'

  

र, आफ्नो भोगाइ सुनाउन थाले -

२०६५ सालमा नाटक ‘कर्णाली दख्खिन बग्दो छ’ मञ्चन भयो। सुनिल पोखरेलको परिकल्पना र निर्देशनमा बनेको नाटकले कथा कर्णालीको जीवनको बोक्यो, दु:खको बोक्यो। चामलका लागि चार पाँच दिन लाम बस्नु पर्ने बाध्यता, नागरिकता बनाउन दुई दिन लगाएर धाउनु तर सिडिओ कार्यालयमा नआउँदाको कष्ट, ज्यान जोखिममा राखेर तुइनबाट वरपर गर्नुको दु:ख, तीन, चार सबै कक्षाका विद्यार्थी एकै ठाउँ, एउटै मास्टर। बाल विवाह। नाटकलाई जिवन्तता दिएको थियो कर्णालीकै कलाकारहरुको अभिनयले। उनीहरुलाई ल्याएका थिए हिरा बिजुली, मीनबहादुर भाम लगायतको पहलले। उनीहरुको पहलले नै काठमाडौंले कर्णालीको पीडाको केही अंश देखे। 

भने, 'कर्णालीको दु:ख भोग्नेले जति सुन्नेले र सुन्नेले जति भोग्नेले मनन गर्न सक्दैन थिए। त्यसैले जसलाई त्यहाँको पीडा थाहा छ उनीहरुलाई गराउने भनेर बाह्रजना कलाकार ल्यायौं। तीन महिना नाटकको कोर्स गराइ नाटक बनायौं। १२, १३ लाख खर्च भएको थियो।' 

कर्णालीमा कलात्मक अभियानको सुरुवात गर्ने हुटहुटी थियो उनीहरुमा, आफ्नो कथा भन्ने। त्यसैले नाटक संयुक्त रुपमा प्रस्तुत गर्‍यो ‘आरोहण गुरुकुल र कर्णाली थिएटर’ले। 

नाटकले काठमाडौंलाई कर्णाली चिनाएन मात्र नाटकघरसम्म उल्लेखनीय दर्शक भित्रायो। नाटकको प्रभावबारे हिराको दाबी छ, ‘विकासको सन्दर्भमा कर्णालीले दश वर्षमा ठूलो फड्को मार्‍यो। २०६५ मा हामीले नाटक गर्‍यौं।  २०६९ मा गमगढीमा गाडी पुग्यो। अप्रत्यक्ष रुपमै सही नाटकले सम्बन्धित निकाय र मान्छेको मगजमा पक्कै हान्यो। हामी कहाँ पुग्यौं कहाँ।’ 

उनले भनेजस्तै परिवर्तनका केही खाकाहरु कोरिए। तर, कर्णाली थिएटरमार्फत् आफ्नो ठाउँको कला, संस्कृति परम्परा प्रवर्द्धनका लागि केही गर्ने योजना बनाएर नाटक सिकाएकाहरु कता छुटे कता। उनीहरुलाई नियमित पारिश्रमिक दिएर राख्न सकेनन्। अभिनयको भोक र सिकाइलाई एउटै नाटकमा थाती राख्दै सबैले रोजी रोटीको बाटो खोजे। 

कर्णाली थिएटर थियो, कथा थियो तर कलाकार थिएनन्। 

२०६९ सालमा कर्णालीकै लोककथामा आधारित नाटक बन्यो ‘सुनकेशरी’। लेखेका थिए सत्यमोहन जोशीले। हिरा बिजुली पनि थिए नाटकमा। उनी एक्लै कर्णालीका। आफ्नो ठाउँको कथा भन्न आफ्नो भाषा नहुनु, आफ्नो मान्छे नहुनुले उनलाई दुखायो। नाट्य संस्कृतिको विकास नै नभएको ठाउँका मान्छे कसरी आउन् आफ्नो कथा भन्न? 

‘किन किन मलाई कर्णालीको कथा त्यही गएर खोज्न, आफ्नो कथा आफै भन्ने मान्छे तयार गर्नु पर्छ भन्ने महसुस भयो,’ उनले काठमाडौं छोडेर जानुबारे सुनाए, 'म इच्छाशक्ति लिएर फर्किएँ। यस पटक कसैको न्यास्रो लागेर होइन। हाम्रा माटोको कथाहरुले ताने।' 

यसरी जोडिए बिजुली काठमाडौंसँग अनि त्यसरी नै जोड्दैछन् कर्णालीलाई काठमाडौंसँग। 

भोगाइहरुको कथा उन्दै 

मुगु, गमगढी माथिल्लो बजारको सिरानमा दुई तले नीलो घर छ। घरको माथिल्लो तलाको दुईवटा कोठाबाट सधैं आवाज आइरहन्छ। कहिले गीत बजेको, कहिले देउडा गाएको त कहिले केटा केटीले अनौठो संवाद बोलिरहेको। त्यहाँ कर्णाली थिएटरको कार्यालय छ। जहाँ कलाकारहरु रिहर्सल गर्छन्, छलफल गर्छन्, योजना बनाउँछन्। 

हाल थिएटरमा १२ जना आवद्ध छन्। पारिश्रमिक लिएर काम गर्छन्। केही चार वर्षदेखि हिरा बिजुलीसँगै लागि परेका छन्। अनि केही डेढ, दुई वर्षयता थिएटरमा छन्। स्टेज नाटककै लागि पर्याप्त स्रोत र ठाउँ छैन। नाटकघर छैन। त्यसैले कर्णाली आर्ट सेन्टरको रुपमा सञ्चालित छ संस्था। उनीहरु कर्णालीको कला, संस्कृति, परम्परासँग जोडिएका विषयहरुमाथि छलफल गर्छन्, आफ्ना हजुरबुबा, हजुरआमाको पुस्ताले भोगेका कुरालाई कथा बनाउँछन्, चेतनामुलक एवं मनोरञ्जनात्मक सडक नाटक गर्छन्।

केही वर्षयता मुगुमा नाटकलाई हेर्ने दृष्टिकोण फेरिएको छ। आज हर अभिभावक तयार छन् छोराछोरीलाई अभिनय सिक्न पठाउन। ‘मैले कर्णाली फर्किएर केही गरेको छैन। बस् नाटक र नाट्यकर्मीलाई सम्मानित बनाउने प्रयास गरेँ,' उनले भने। तर, अवस्था उस्तै थिएन। हिराको दाजु हिल्दाङ नेपालीले बारम्बार भने- ‘म दुई तीन लाख खर्च गरुलाँ। लोकसेवा पढ्। नाटक गरी कमाउँदैनस्। यत्रो पढ्या मान्छे यसरी बसिकिन हुँदैन।‘

अहिले पनि हिराका दाजुजस्ता धेरै अभिभावक छन् जो चाहन्छन् छोराछोरी, भाइ बहिनी धेरै पढेको, पैसा कमाउने जागिर खाएको हेर्न। तर, नाटकमै लागेकी जसुली भन्छिन्, 'अहिले पढेर मात्र पनि केही छैन। जिल्लाभरि कति हुन् कति पढ्याका। उनीहरु खाल लागेर बस्या छन्। पेशा गर्ने मान्छे ठाँडो उठेका छन्।'

उनीहरु धन्य छन् सडक नाटक र थिएटरका अन्य गतिविधिका लागि सकारात्मक रहेका गैर सरकारी संस्थाहरुसँग। जसले कला र जिन्दगीलाई एकसाथ अघि बढाउन मद्दत गरेका छन्। सरकारी, गैर सरकारी संस्थाहरुले नै कर्णाली आर्ट सेन्टर जिवित राखेको बताए उनले। 

भने, 'वर्षौदेखि कर्णालीको चेतनामा परिवर्तन ल्याउन, सामाजिक परिवर्तनका खातिर महिला, शिक्षा, भेदभाव अन्त्यका लागि करोडौं लगानी भए। पोस्टर, भाषण र साइनबोर्डमा खर्च भए। तर, कला र संवेदनाको माध्यमबाट ती जानकारी दिने प्रयास कमै मात्रामा भए। आखिर कलाले हो मान्छेको संवेदनामा प्रभाव पार्ने। अहिले यी विषयमा ध्यान पुगेको छ।'

नाटकले चेतनास्तर र सामाजिक विकासका लागि धेरै हदमा योगदान पुर्यायएको सुनाए। गर्भ छिटाकी कलाकार रहेकी जनलक्ष्मी हमालले भनिन्, 'नाटकले असर गर्देनथ्यो भने आज हामी सँगै नाटक गरिरहेका हुँदैन थियौं। हामी त प्राय सँगै खान्छौं, सँगै डुल्छौं। परिवारले पनि केही भन्दैनन्। बुझ्दै नचाहनेहरुले चाहिँ कुरा काट्छन् बरु।‘ 

नाटकमा पनि ठकुरी खानदान र कथित दलित समुदायबीचको विभेद देखाइएको छ। जसमा मुखियाको परिवार बनेका छन् हिरा नेपाली, विष्णुमाया परियार, जसुली नेपाली, गोविन्द सुनार आदि र दलित बनेका छन् उजेली खड्का, जनलक्ष्मी हमालहरु। 

हिराले भने, 'कानुनी रुपमा त जातीय विभेद बाँकी छैन, गर्भ छिटा बाँकी छैन, छाउपडी पनि बाँकी छैन। तर, यी कुरितीहरुले जरा गाडेर बसेका छन्। रेसा रेसामा छन् यी कुरिती। हामी एकअर्काको भावनासँग जोडेर यी सब चिजलाई गलत साबित गर्न खोज्दैछौं। कानुनले, तालिमले नगरेको परिवर्तन आँट्दैछौं।‘

गर्भ छिटामा पनि उनले जातीय भेदभावका कारण उत्पन्न द्वन्द्वलाई ठाउँ दिएका छन्। जसमा उनको आफ्नो व्यक्तिगत अनुभवहरु पनि जोडिएका छन्। मुख्य पात्र पम्पाको गर्भ छिटा भएकैसँग विवाह भयो, जोसँग उनी खुशी छैनन्। ‘यदि मेरो पनि गर्भ छिटा पूरा भएको भए?,’ उनी आफैसँग प्रश्न गर्छन्। पम्पाको घरको हलीसँगको प्रेम देखाउँदा उनले आफ्नी आमाको मनोभाव कल्पना गर्दै कथा लेखेका थिए। उनकी आमाले दोस्रो विवाह गरेकी थिइन्। उनी सोच्छन्- ‘सायद पम्पाजस्तै दु:खी अनि पीडामा रुमल्लिएकी थिइन् मेरी आमा। त्यसैले आफ्नो पीरको भारी बिसाउन नयाँ जीवन रोजिन्।' 

भाइलाई घरमा छोडेर भागेकी आमासँगको क्रोध साम्य भयो। उनले बुझे जीवन एउटै रेखामा चल्दैन र चलाउन सकिँदैन। उनी आजभोलि भन्छन्, ’म मेरी आमाको हजार गल्ती स्वीकार्न सकुँ।‘ 

आफ्नो भोगाइ र कथाहरु भन्नेसँगै कर्णालीको भाषा, संस्कृति, परम्परा संरक्षण र नाटकघर स्थापना यो टोलीको उद्देश्य हो। त्यो पूरा गर्न उनीसँग जोश छ, अनुभव छ, गरौं भनेर लागिपरेका युवा छन्। तर, भौतिक पूर्वाधार छैन, स्रोत छैन। 

हालै नाटकघर स्थापनाका लागि वडा कार्यालयसँग जग्गाको माग गरेका छन्। किनकि कलाले ठाउँ पाए कर्णालीले आफैलाई हेर्ने ठाउँ पाउने उनको विश्वास छ। ‘आफैलाई हेर्दै आफैलाई सच्याउन कति मजा आउँछ। अहिले नाटक बनाएर काठमाडौंलाई हेर्दे न भन्न बाध्य छौं,’ केही बेर सोचे अनि भने, 'कर्णालीलाई भोको र अनपढ् मात्र देख्ने यो भुलभुलैयको शहरमा मैले नाटक र नाटकघर, गुरु र सहकर्मी बाहेक केही देख्दिनँ। मैले यत्ति चिनेँ। अब आफ्नो माटो चिनाउन चाहन्छु।' 



आफ्नै माटोको कथा उन्दै हिरा बिजुली : कर्णालीलाई यसरी जोड्दैछन् काठमाडौंसँग को लागी १ प्रतिक्रिया(हरु)

Rohini [ 2019-03-24 04:52:38 ]
Karnali ka natak haru television channel haru bata pani prasaran gariyos.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट