PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

राजा महेन्द्रलाई बम हान्ने शहरमा ज्ञानेन्द्र शाहको पाँच दिन : यी हुन् मधेशमा पूर्व राजालाई मिलेको ५ संकेत



बीपी साह

राजा महेन्द्रलाई बम हान्ने शहरमा ज्ञानेन्द्र शाहको पाँच दिन : यी हुन् मधेशमा पूर्व राजालाई मिलेको ५ संकेत

जनकपुरधाम : २०१८ साल माघ ९ गते जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार भयो। करिब १८ वर्षका किशोर दुर्गानन्द झाले राजा महेन्द्रमाथि फालेको ग्रिनेड जीपमा ठोकिएर जानकी मन्दिरको पर्खाल पुग्यो। र, धमाकासहित विस्फोट भयो। राजा महेन्द्रलाई केही भएन। यसै घटनाले जनकपुरबाट राजपरिवार त्रसित भयो र सुरु भयो प्रतिशोध।

स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्छन्, ‘त्यही घटनापछि जनकपुरधामको दुःखका दिन सुरु भए। र, अहिलेसम्म पनि जनकपुरलाई राजपरिवारले फकाउन सकेको छैन तर प्रयास बारम्बार भएको छ।’

दोस्रो जनआन्दोलनबाट राजतन्त्र ढलेलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम पुगेका थिए। र, जानकी मन्दिरको दर्शन गर्दै सञ्चार माध्यमलाई - राजनीतिक दलले गरेको सहमति पालना गर्नुपर्ने र जनताले चाहेमा जे पनि हुनसक्ने कुरा उप्काएका थिए। जुन, उनको व्यवस्थाबाट बहिर्गमनपछिको पहिलो राजनीतिक वक्तव्यका रुपमा स्थापित पनि भयो। 

गत साता अर्थात् फागुन २९ गतेबाट पुनः पूर्वराजा शाह जनकपुर नै पुगे। जनकपुरलाई प्रमुख मुकाम बनाएर उनले पाँच दिने मधेश यात्रा गरे। फागुन २९ गते साँझ जनकपुरधाम पुगेका पूर्वराजा शाह चैत ३ गते बिहान सप्तरीको छिन्नमस्ता हुँदै झापासम्म पुगे। 

पाँच दिने मधेश यात्राको क्रममा पूर्वराजा शाहले सर्लाहीको दुर्गा मन्दिर, जनकपुरधामको जानकी मन्दिर, उदयपुरको राधाकृष्ण मन्दिर र सप्तरीको छिन्नमस्ता मन्दिरको दर्शन गरे।

फरक – फरक जिल्लामा भएका मन्दिरको दर्शन गर्न पुगेपनि उनी बास बस्न भने जनकपुरधाम नै फर्किरहे। जनकपुरधाममा कडा सुरक्षाका बीच पूर्वराजा शाह जिरोमाइल बसपार्क स्थित होटल सीता शरणमा बसेका थिए।

जनकपुरलाई केन्द्रमा राखेर भएको पाँच दिने भ्रमणमा पूर्वराजा शाह निकै उत्साही देखिन्थे। उनी सहभागी हुने मन्दिरहरुमा सर्वसाधारणको भिडले उनलाई खुशी बनाउनु स्वभाविक थियो।

मधेश राजनीतिको वैचारिक केन्द्र हो जनकपुर। सांस्कृतिक हिसाबले पनि महत्व राख्ने यो ठाउँको राजनीतिक रुपमा पनि मधेशका अन्य ठाउँभन्दा विशिष्ट मानिन्छ। यहाँको भ्रमणका क्रममा पूर्व राजाले पहिले नपाएका केही महत्वपूर्ण समर्थन पाए। ती ५ वटा थिए। 

पहिलो : महन्थहरुको समर्थन

पूर्व राजा ज्ञानेन्द्र शाहले मधेश यात्राका क्रममा मठ मन्दिरहरुको दर्शन गर्दा सबभन्दा बढी त्यहाँका महन्थ र पुजारीहरुले साथ दिएका थिए।

जनकी मन्दिर दर्शन गर्ने क्रममा धनुषा, महोत्तरी र सिरहा जिल्लाका महन्थहरुको भेला नै भएको थियो। त्यस क्षेत्रमा शक्तिशाली मानिने महोत्तरीको मठिहानीका महान महन्थ जगन्नाथ दाश, जानकी मन्दिरका महन्थ र सिरहाका केही महन्थहरु सहभागी भएका थिए। उनीहरुको उपस्थितिले पूर्व राजाको भ्रमणलाई अन्यभन्दा बढी महत्व दिएको प्रस्ट देखिन्थ्यो।

पूर्व राजाको स्वागतमा उनीहरुको तामझाम पनि ठूलै देखिन्थ्यो।

मधेश यात्राको पहिलो दिन सर्लाहीको दुर्गा मन्दिरको दर्शन गर्न पुगेका थिए शाह। मुलुकको राजनीतिबाट करिब करिब अलग्गिसकेका पूर्व राजा ज्ञानेन्द्रलाई दुर्गा मन्दिरका एक पुजारीले राजतन्त्र फर्किने भविष्यवाणी नै सुनाए। ती पुजारीले २०८६ सालमा राजतन्त्र फर्किने दाबी गरेका थिए। उनको दावी पूर्वराजा शाहका लागि कर्णप्रिय नहुने कुरै भएन। ती पुजारीले भविष्यवाणी गर्दै शाहको हातमा भिजिटिङ कार्डसमेत थमाए। 

त्यसैगरी, उदयपुरको गाईघाटस्थित राधाकृष्ण मन्दिरको दर्शन गर्न गएका पूर्वराजा शाहका लागि पुजारीहरुले माइकबाटै राजा ज्ञानेन्द्र जिन्दाबादको नारा लगाए। भ्रमणको तेस्रो दिन यस्तो माइकिङसँगै 'राजा आउ देश बचाउ' भन्ने नारा पनि गुञ्जियो। शाहलाई यसले पनि उत्तिकै आकर्षित गरेको देखिन्थ्यो।

यही क्रम सप्तरीको छिन्नमस्ता मन्दिरमा पनि दोहरिएको थियो। पूर्व राजाको पक्षमा यहाँ पनि बाक्लै नारावाजी भयो। अर्थात्, जुनजुन मन्दिर र पिठहरुमा पूर्व राजा पुगे त्यहाँका मठ मन्दिरका महन्थ तथा पुजारीले पूर्वराजा शाहलाई बलियो साथ दिए। मधेशका जिल्लाहरुमा हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेकाले त्यहाँका महन्थ र पुजारीको धारणाले बहुआयामिक अर्थ राख्छ। 

दोस्रो : आसेपासेमा उत्साह 

महोत्तरी बनौली अर्थात् हालको पिपरा गाउँपालिका ७ का ४३ वर्षीय राजकुमार दास पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने होटलको लिफ्ट अगाडि बिहानै पुग्थे शाहको दर्शनका लागि। उनी यसरी तल्लिनताका साथ यहाँ पुग्नुको कारण खास रहेछ।

विसं २०५९ सालमा उनी वैदेशिक रोजगारका लागि दुबई गएको रहेछन्। काठमाडौंको एससीएम कम्पनीबाट दुबई गएका उनले भने बमोजिमको काम नपाएपछि ५ महिना मै फर्किनु परेको थियो। 

पैसा फिर्ता गर्नकै लागि काठमाडौं फर्केपछि उनले ५ महिनासम्म दौडधुप गरे। तर, सरकारी संयन्त्रबाट कुनै सहयोग पाएनन्। त्यसपछि उनले राजदरबारमा बिन्तीपत्र चढाएका थिए। उनको पत्र पाएलगत्तै दरबारबाट यस विषयमा पत्राचार भयो। श्रम कार्यालयले उनको काम तत्काल गरिहाल्यो। र, उनले म्यानपावरमा बुझाएको पैसा पाए। 

यही घटनाले उनलाई राजदरबारप्रति नतमस्तक बनायो। त्यसपछि उनी राजनीतिक रुपमा पनि जोडिए, दरवारकै पक्षमा।

२०६१ सालमा देशभक्त संघमा जोडिए उनी। राजतन्त्र ढले पनि उनले राजपरिवारसँग जोडिएको ढाडस दिँदै २०६५ सालमा नयाँ नेपाल दलित राष्ट्रिय प्राथमिक विद्यालय पनि स्थापना गरे। अहिले पनि उनले राजतन्त्र फर्किनुपर्ने बताउँदै हिँड्छन्। 

‘नेताहरुले विना घुसको काम गर्दैनन्। राजाले त्यतिबेला बिन्तीपत्रको भरमा काम गराइदिनु भयो,’ पूर्व राजा शाहलाई दर्शन गर्न होटलको लिफ्टमा कुरेर बसेका उनले भने, ‘मेरा लागि राजा नै ठीक।’

उनले पूर्व राजालाई भेटे। ‘राजा आइसियो, देश बचाइसियो’ भन्दै खाममा बन्द गरेर बिन्तीपत्र टक्र्याए।

दास त एक प्रतिनिधि पात्र थिए जसले आफूलाई दरवार नजिक रहेको ठान्छन्। अन्य कयौं मानिसहरु दासजस्तै शाहको जयजयकार गर्न यहाँ जुटेका थिए। राजदरबारबाट विभिन्न कालखण्डमा फाइदा लिएकाहरु उनको मधेश यात्रामा साथ दिन पुगेका थिए। उनीहरु राजतन्त्र फेरि सक्रिय हुनुपर्ने आशामा त्यहाँ पुगेका थिए। उनीहरु राजतन्त्र फर्कियो भने फेरि केही न केही फाइदा पाउने आशामा देखिन्थे। 

तेस्रो : राजनीतिक दलको विकल्प खोज्नेहरु

विभिन्न पार्टी परित्याग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)मा पुगेका थिए, धनुषाकै रितेश सिंह। केही दिनमै राजपामा रहेका उनी त्यहाँ पनि सन्तुष्ट हुन सकेनन्। फलश्वरुप सिंहले आफ्नै नेतृत्वमा राजपा (लोकतान्त्रिक) गठन गरे।

पूर्व राजा शाह जनकपुरधामको होटलमा हुँदा प्रत्येक दिन साँझ - बिहान नै उनी त्यहाँ पुग्थे। होटलको गेटमा ढुकेर बस्ने उनी पूर्वराजा बाहिर निस्किँदा वा बाहिरबाट होटलमा पुग्दा 'दर्शन' गरेरै फर्किन्थे।

र, उनले पनि नारा लगाउँथे - राजा आउ देश बचाउ।

यस्ता विभिन्न राजनीतक दलबाट असन्तुष्ट हुँदै छाँटिएका समूह र व्यक्तिहरु पूर्व राजा शाहको पक्षमा देखिएका थिए। सँगै केही दलका पुराना नेताहरु पनि पूर्वराजालाई भेट्न पुगेका थिए। उनीहरु पनि अहिलेको राजनीतिक दलभन्दा पूर्व राजा नै राम्रो बताएका थिए। गाईघाटमा पूर्व राजाको पक्षमा नारावाजी हुँदै 'राजा आउ देश बचाउ' भन्ने हुलको बीचमा चिनिएका नेपाली कांग्रेसका नेताहरुसमेत देखिएका थिए। 

चौथो : हेमबहादुर मल्लको विरासत

कुनै बेला ‘शेरे धनुषा’ को नामले चिनिने हेमबहादुर मल्लको विरासत २०६९ सालमा उनको मृत्यु भइसक्दा पनि कायमै छ धनुषामा। पहिले जत्तिकै क्रेज त बाँकी छैन तर पनि हैसियत कमजोर भइसकेको छैन। 

धनुषाको पूर्वी क्षेत्रमा उनलाई पनि ‘हेमबहादुर राजा’ भन्ने चलन थियो। राजतन्त्र ढल्यो। उनको घरपरिवार छिन्नभिन्न भयो। तर, अहिले पुनः उनका छोरा अर्थात् ‘मनोज राजा’ सक्रिय भएका छन्, मधेशमा।

राप्रपासँग जोडिएका उनी पहिले हलो छापका रुपमा चिनिन्थे। पछि उनी गाई छापवाला राजाका रुपमा चिनिन्छन्। 

जानकी मन्दिरमा सर्वसाधारणलाई भेला गराउन र नारा लगाउन मनोज मल्ल नै सक्रिय रहे। उनले आफ्नो क्षेत्रबाट पाँचवटा बसमा मान्छे हालेर जनकपुरधाम ल्याएका थिए। मनोजको निर्देशन बमोजिम नै उनीहरुले त्यहाँ पूर्व राजाको पक्षमा नारावाजी गरेका थिए। 

खाँटी मधेशका बृद्धबृद्धालाई उनले राजालाई जनकी मन्दिर दर्शन गराउने भन्दै बोलाएको बताएका थिए। मनोजले आफ्नो बाबुकै शैली अपनाएका थिए यसपटकको भ्रमणमा। उनका बाबु हेमबहादुर मल्लले गाउँबाट बृद्धबृद्धालाई पशुपतिनाथको दर्शन गराउन काठमाडौं लैजान्थे।

उनीहरुलाई दर्शनमात्र होइन, किनमेलसमेत गराउँथे। त्यसको उनीप्रतिको भक्ति कायमै रह्यो भने त्यही विरासतलाई उनका छोराले ग्रहण गरेको प्रतीत भयो यसपालाको भ्रमणमा। मतलब, मनोज मल्लको सक्रियतासँगै धनुषामा पूर्व राजाको सक्रियता बढ्ने संकेतहरु देखा परेको छ। 
यस्तै गतिविधि सर्लाहीमा अखिलेश्वर सिंहले देखाए। अखिलेश्वर सिंहले राजावादी दल नै खडा गरेका थिए। यिनीसँगै पूर्व राजावादी नेताहरु पनि सक्रिय भए राजाको भ्रमणमा।

पाँचौं : हिन्दुत्व कार्ड

हिन्दू राज्य कायम हुनुपर्ने माग गर्दै आएकाहरु पनि पूर्वराजाको यात्रामा सक्रिय देखिए। 

केही दिनअघिसम्म हिन्दूराष्ट्र मात्र भए पनि हुन्छ भन्नेहरु अब पूर्वराजाको सक्रियता पछि पुनः सल्बलाएको देखियो। केही दिनअघि मात्र राप्रपाका कमल थापाले हिन्दुत्वको नारा लगाउँदै यही हुँदै राष्ट्रिय स्वभाविमान यात्रा गरेका थिए। त्यो यात्रामा सक्रिय भएर हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै मानिस जुटाउनेहरु यसपटक राजतन्त्र पुन: फर्काउने अभियान जोड्दै पूर्व राजाको तीर्थयात्राका सहयोगी बने। 

भारतीय राजनीतिमा सधैं प्रवल बनिरहेको हिन्दूत्वको कार्ड यसपाला हुँदै गरेको चुनावी अभियानमा पनि जारी छ। पूर्व राजाले पाँच दिन गरेको मधेश केन्द्रित तीर्थाटनको राजनीतिक कनेक्सन त देखिन्न तर पनि राजाका समर्थकहरुमा त्यसखाले मानसिकता भने प्रस्फुटित भएको देखिन्छ। के राजा महेन्द्रमाथि नै बम प्रहार गर्दै क्रान्तिको बिगुल फुक्ने मधेशको राजनीतिक केन्द्रमा भएको पूर्व राजाको यो यात्राले राजतन्त्र फिर्ता गराउने हैसियत राख्छ त?

धमिलो पानीमा माछा भेटिने छैन : प्रा डा भोगेन्द्र झा
पूर्वराजा ज्ञानेन्द्र शाहको पाँच दिने मधेश भ्रमण तामझामसहित सकियो। दुई नम्बर प्रदेशमा भएको यो भ्रमण सतहमा धार्मिक नै थियो, तर समर्थकहरुको गतिविधिले त्यतिमै सीमित हुन दिएन। के राजाको यस्तो गतिविधिले उनलाई फाइदा हुनेवाला छ? रामस्वरुप रामसागर बहुमुखि (राराब) क्याम्पसका प्राध्यापक डाक्टर भोगेन्द्र झा भन्छन्, ‘पूर्वराजा ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजे। त्यो सम्भव छैन।’

झाको विश्लेषणमा राजपरिवारका लागि जनकपुरधाम सुरुदेखि नै अनुपयुक्त छ। ‘राजतन्त्र कायम रहुन्जेलसम्म जनकपुरमाथि उनीहरुको बक्रदृष्टि थियो,' प्राध्यापक झाले भने, 'महेन्द्रमाथि बम प्रहार भएपछि जनकपुरधामको विकास निर्माण अवरुद्ध भयो। अहिले पुनः पूर्वराजा सक्रिय भए पनि काम बन्ने बाला छैन।’

स्थिर सरकार भएको समग्र मुलुकमै राजनीतिक अस्थिरता कायम छ। प्रदेश नम्बर २ मा झन् बढी अस्थिरता कायम छ। त्यसकै फाइदा लिन पूर्व राजाले सक्रियता देखाएको उनको ठम्याइ छ।

‘सीके राउत, शेरबहादुर देउवा अथवा ज्ञानेन्द्र शाह सबै यही सक्रिय हुँदैछन्। देशको हरेक राजनीतिक मोडमा दुई नम्बर प्रदेशको महत्वपूर्ण भूमिका पनि छ। अहिले त्यही अवसरको खोजी सबैले गर्दैछन्,’ प्राध्यापक झाले भने, ‘अरुले केही पाउन सक्लान् तर पूर्व राजपरिवारले जनकपुरबाट आशा गर्नु व्यर्थ हुनसक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell