PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

फ्याक्टचेक : के रेडबुल पिउँदा मापसेमा परिन्छ? हेर्नुस् परीक्षणसहितको भिडियो



सविन ढकाल

फ्याक्टचेक : के रेडबुल पिउँदा मापसेमा परिन्छ? हेर्नुस् परीक्षणसहितको भिडियो

काठमाडौं : आज सवारी साधन लिएर कतै जाँदै हुनुहुन्छ? काठमाडौं उपत्यकाका १ सय ७ स्थानमा ट्राफिक प्रहरीले आज चेकिङ गरिरहेको छ। फागु पूर्णिमा मनाउनेहरुले मादक पदार्थ सेवन गरेर सवारी चलाएको हुनसक्ने आशंकामा चेकिङ कडा पारिएको हो। 

यसरी हुने चेकिङका क्रममा मादक पदार्थ  सेवन नगर्ने  पनि पर्ने गरेको दावी हुँदै आएको छ। के मादक पदार्थ नखाँदा पनि प्रहरीको कारबाहीमा पर्नुपर्छ त?

विशेष गरी इनर्जी ड्रिंकहरु जस्तै रेडबुल खाएर सवारी चलाउँदा ट्राफिकको ब्रेथलाइजर मेसिनमा मापसे  गरेको देखिने र कारबाहीको भागिदार हुनुपर्ने भनिन्छ। सामाजिक सञ्जालमा धेरैले रेडबुल खाँदा मापसेमा परेको लेख्ने गरेका छन्। फागु पूर्णिमा या यस्तै मौका पारेर इनर्जी ड्रिङ्क गरियो भने परिन्छ त ट्राफिक प्रहरीको फन्दामा?

फागुमा मापसे परीक्षण धेरै हुने भएकाले हामीलाई पनि चासो थियो - कुनै इनर्जी ड्रिङ्क पिउँदा प्रहरीको ब्रेथलाइजरले के रिजल्ट दिन्छ? 
हामीले आफैँले रेडबुल पिएर ट्राफिक सामु परीक्षणको तयारी गर्यौं । चेकिङ धेरै ठाउँमा भइरहेको भए पनि फागुको दिन ब्रेथलाइजर प्रयोग भएकै ठाउँ आवश्यक थियो। त्यसैले दरबारमार्गमा भइरहेको चेकिङको अनुगमन गर्‍यौं। त्यहाँ ब्रेथलाइजर लिएर ट्राफिक प्रहरीले चेकिङ गरिरहेका थिए। मोटरसाइकलमा यात्रा गर्नेहरुको लामो लाइन नै लागिसकेको थियो।  

हामीले सुरुमा केही नखाई मापसे चेकिङ गरायौं। हाम्रो यो परीक्षणमा प्रहरीले साथ दिएका थिए। केही नखाई ब्रेथलाइजर मेसिनमा हावा फुक्दा  मापसे गरेको देखाउने कुरा भएन। 

हामीले आफूसँगै लगेको रेडबुल प्रहरीकै सामुन्नेमा पियौं। अनि फेरि भयो परीक्षण। रिजल्ट के आयो होला? 

हेर्नुस् भिडियो-

हाम्रो ध्यान पूरै प्रहरीको ब्रेथलाइजरमा थियो। त्यहाँ एउटा नोटिस देखियो जसमा लेखिएको थियो - अल्कोहल नट डिटेक्टेड। मतलब, रेडबुल खाएर हामीले गरेको परीक्षणमा मापसे नभएको प्रमाणित भयो।  

'रेडबुलले मापसेमात्र देखाउँछ र ट्राफिकले चालकलाई कारबाही गर्छ भन्नु हल्ला मात्र हो,' महानगरीय ट्राफिक कार्यालय दरबामार्गका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले हामीले परीक्षण गरेपछि प्रस्ट पारे, ‘कसैले सुरुमा मादक पदार्थ सेवन गर्ने र पछि रेडबुल खाएका हुन्छन्। अनि कारबाहीमा परेपछि रेडबुलको कारण भन्ने गरेका हुन्।'

काठमाडौं उपत्यकामा दैनिक औसत ८० देखि सय जनासम्म मापसे कारबाहीमा पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयको तथ्याङकले देखाउँछ। मापसे गरेर सवारी चलाउनु जोखिमपूर्ण पनि छ। ट्राफिक प्रहरीले मापसे जाँच सुरु गरेपछि मदिराका कारण हुने दुर्घटनामा ह्वात्तै कमी आएको छ। मापसे परीक्षण ट्राफिक प्रहरीको सफलमध्येको एक प्रोजेक्ट हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell