PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सीके राउतको विषयमा ‘अनुमानकारिता’ गर्दा पत्रकारलाई चार झट्का 



बीपी साह

सीके राउतको विषयमा ‘अनुमानकारिता’ गर्दा पत्रकारलाई चार झट्का 
फोटो : फेसबुक

काठमाडौं : अदालतको आदेशमा रिहा, रिहा लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अनि तामझामका साथ ११ बुँदे सहमति। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग जोडिएका यी सबै घटनाक्रमको प्लट भने एउटै। बहस र विवादका लागि यति घटना नै काफी थियो। 

११ बुँदाभित्रको एउटा बुँदामा '... असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न...' उल्लेख भएपछि राष्ट्रिय विवादको विषयमा उनियो। यही शब्दको फेरो समाएर राष्ट्रियताको मुद्दामाथि चर्का नाराबाजी पनि भए। लगत्तै सीके राउतले जनमत पार्टी गठन गरेको सार्वजनिक गरे। यसले पनि विवादको तुलो कायमै राख्यो। मिडियाको सहज पहुँचभन्दा बाहिर भएका गतिविधिमाथि मिडियाको कभरेज अनुमानमा आधारित रहे। स्थानीयदेखि राष्ट्रिय मिडियासमेत सीके राउतको विषयमा नराम्ररी चिप्लिए।    

चैत ३ र ४ गते सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक भयो। बैठकका खबरहरु मिडियाअनुसार फरक फरक आए। एउटै घटनामा फरक फरक समाचार कसरी त? मिडियामा यी आएका चार विषय जसले समग्र मिडियामाथि नै विश्वासको खडेरी पैदा गर्‍यो। 

झट‍्का १ 

मधेशमा सीके राउतको नयाँ राजनीतिक अवतरणलाई लिएर दुईथरी मत देखियो। पहिलो - सीके राउतले प्रधानमन्त्री केपी ओलीसामु आत्मसमर्पण गरे। दोस्रो - डाक्टर राउत दूरदर्शी छन्, उनले चातुर्यता देखाउँदै नयाँ रणनीति लिए। यसबाहेक पनि तेस्रो धारणा सामाजिक सञ्जाल र मिडियाहरुबाट व्यापक गराइयो। त्यो थियो – राष्ट्रिय सभामा सांसद बनाउने र सरकारमै सहभागी गराउने। तेस्रो धारणामा यतिमात्र थिएन - राउतलाई सत्तारुढ दल नेकपामै प्रवेश गराउनेसम्मका 'नियोजित प्रचार' पनि जारी रह्यो।


स्वतन्त्र रुपमा पुष्टि नगरी आएका यस्ता हल्ला मिडियामा समाचारका रुपमा छ्यास्छ्यास्ती भइरहे। यस्तै विषयसँगै भित्रियो नागरिकताको प्रसंग। स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्मा सहभागी हुन सदस्यहरुलाई नेपाली नागरिकता अनिवार्य ल्याउनु पर्ने प्रावधान सीके राउतले राखेको जनाउँदै पत्रकारहरुले समाचार सम्प्रेषण गरे।  फरक देशको मागसहित मधेशमा मुभमेन्ट गरिरहेका सीके राउतले जेलबाट बाहिरिनासाथ नेपाली नागरिकतालाई महत्व दिएकोमा प्रशंसा गर्दै समाचार तयार भए।  


कुनै पनि दल दर्ताका लागि ५ सय जना मतदाताको नागरिकताको प्रतिलिपि निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा छ। दलका रुपमा स्थापित भएर राजनीतिमा लाग्नुपर्ने भएपछि सीके राउतले त्यही प्रयोजनका लागि नागरिकतासहित उपस्थित हुन सर्कुलर जारी गरे। उनले जारी गरेको त्यही सर्कुलरलाई आधार बनाएर नागरिकतालाई 'राष्ट्रियता'को आवरणमा समाचार प्रकाशित भयो। 

बैठक स्थल बाहिर सञ्चारकर्मीहरु। 


झट्का २

‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली...’ बजाउँदै गत चैत ३ गते स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक सुरु भएको विषय राष्ट्रिय मिडियाका चर्चित हेडलाइन बने। व्याकुल माइलाले सिर्जना गरेको यो राष्ट्रगान फरक देश बनाउने अभियानमा जुटेका राउतको गठबन्धनमा बज्नु 'राष्ट्रवाद'को अनुपम नमुना भए झैँ मिडियाबाट सार्वजनिक भयो। रोचक के रह्यो भने, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता, अभियन्ता र पत्रकारहरुले यही समाचार यति धेरै सेयर गरे कि - ... एउटै माला नेपाली ...' गाउनु मात्र देशलाई स्वीकार्नु हो। 

कुनै बेला सिनेमा हलमा 'श्रीमान् गम्भीर नेपाली...' बजाइन्थ्यो र फिल्म हेर्न गएकाहरु अनिवार्य रुपमा उठ्नुपर्थ्यो। नउठ्नेलाई कारवाही गर्ने बताइन्थ्यो। राजाको गुणगान सहितको राष्ट्रगानले राजतन्त्र जोगिन नसकेको यथार्थ समाचार तयार गर्ने र त्यसलाई सेयर गर्नेहरुले बुझेनन् या बुझ्न चाहेनन्। 

यतिसम्म त ठीकै थियो। तर, मिडियामा जसरी राष्ट्रगान बजाउँदै कार्यक्रम भयो भनियो, त्यो होइन रहेछ। 'परिषद् बैठकमा 'राष्ट्रगान' त बजेकै हो तर नेपालको होइन ‘मधेशको राष्ट्रिय गान,’ बैठकमा सहभागी एक सदस्यले भने, 'सयौं थुंगा फूलका ...' होइन, त्यहाँ 'कोशी, कमला गण्डक...' बोलको राष्ट्रिय गान बजाइएको थियो।' 

‘कोशी, कमला, गण्डक-काली, 
जनक सीता बुद्ध-धारी, 
अनन्त उर्वर जय मधेश, 
जय जय जय मधेश जय..’
बोलको मधेशको राष्ट्रिय गीतका सर्जक भने सीके राउत नै हुन्। त्यही गीत बज्यो। र, बैठक बाहिर ब्रिफ गर्नेले भने, 'राष्ट्रिय गानबाट बैठक सुरु भयो।' 


तर, बैठक स्थलबाहिर रहेका केही सञ्चारकर्मीले गठबन्धनका नेता सुदीप कुशवाहासँग सोधका थिए, ‘बैठकमा राष्ट्रिय गान बजेको हो?’
उनले यसरी दिएका थिए जवाफ -

रोचक के हो भने कुशवाहाले दिएको जवाफ भने समाचारमा देखिएन। नत्र राष्ट्रगानलाई लिएर चलेको राष्ट्रवादी बयानबाजी यसरी छताछुल्ल हुने थिएन। अर्कोतिर सीके राउतका गतिविधिलाई सरकारको सफलताका रुपमा ब्याख्या गर्दै आएका नेकपाका नेता तथा कार्यकर्ताहरु यो सत्यलाई बङ्ग्याउन तल्लीन रहे भने सीके राउत पक्षधरहरु पनि मौन बसे। नेकपाका पक्षधरहरु सीके राउतको नयाँ राजनीतिक अवतरणलाई बढाइचढाइ गरिरहँदा त्यसबाट मिलेको फाइदा गुमाएर फेरि आलोचना भोग्न राउत पक्षधरहरु तयार थिएनन्। उनीहरुले मौनता साँध्नुको पछाडि यही कारण हुनसक्छ। 

तर, नेपालकै संविधान स्वीकार गर्दै 'जनमत पार्टी' गठन गरिए पनि पार्टीको गानका रुपमा यसलाई कायमै राखिएको छ।

झट्का ३

सीके राउतलाई पश्चिमा राष्ट्रहरुले उचालेको आरोप सबैभन्दा बढी कसैले लगाएको थियो भने, ती नेकपाका नेता तथा कार्यकर्ता नै थिए।

युरोपेली संघ र संयुक्त राष्ट्रसंघकै फन्डिङमा उनी चलेको पनि आरोप तिनैले लगाएका थिए जसले पछिल्लो समय सीके राउतको जयजयकार गरिरहेका छन्। सीके राउतले क्याम्ब्रिज युनिभर्सिटीबाट पिएचडी गरेका हुनाले उनीमाथि सोझै पश्चिमा मुलुकको लगानी भएको तर्क गर्नेहरु पनि थिए। यसबाहेक उनीहरुसँग अरु आधार थिएन। 

स्वतन्त्र मधेश गठबन्धनको परिषद् बैठक जसले नयाँ पार्टीको घोषण गरेको थियो, त्यसमा पनि पश्चिमाको संलग्नताको विषयलाई लिएर प्रचार भयो। संयुक्त राष्ट्र संघका प्रतिनिधिले बैठक चलिरहँदा डाक्टर सीके राउतसँग भेटघाट गरेको विषय पनि चर्चामा ल्याइयो। के राष्ट्रसंघका प्रतिनिधि नै पुगेका थिए त बैठकमा?

संयुक्त राष्ट्र संघको ६६–१–१४४८ निलो नम्बर प्लेट भएको गाडीका चालक हुन् उत्तमकुमार श्रेष्ठ। उनी नियमित काम सकेपछि आफ्नो बासस्थल रहेको मारवाडी सेवा सदनमा जाँदा रहेछन्। उनको कोठा मारवाडी सेवा सदनभित्रै रहेछ। त्यसैले गाडी त्यहीँ भित्र राख्दै आएका रहेछन्। उनले सधैं गाडी राख्ने ठाउँ र गठबन्धनको बैठक भएको ठाउँ एकै भएपछि पत्रकारहरुले सोझै - अनुमानकारिता भ्याइहाले। श्रेष्ठ समाचार आएका कारण तनावमा रहेछन्। पहिलोपोस्टको सम्पर्कमा आएका उनले डराउँदै भने, ‘मेरो जागिरमा समस्या होला सर। गलत समाचार आएपछि तनावमा छु।’

सीके राउतको सुरक्षार्थ र निगरानी दुवै उद्देश्य लिएर जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटाइएका दुई जना प्रहरीमध्ये एकले गाडीको फोटो खिचेका थिए। फोटोमा ड्राइभर श्रेष्ठमात्र देखिन्छन्। त्यही फोटोकै आडमा समाचार आयो जसले चालक श्रेष्ठको अहिले निद हराम गरेको छ।

बैठक स्थलबाट बाहिरिँदै गरेको युएनको गाडी। फोटो साभार : लोकान्तर

झट्का ४

सामाजिक सञ्जालमा स्वतन्त्र मधेश गठबन्धन नै विघटन भएको पनि खबर फैलियो। त्यही फैलिएको खबर नै समाचार बन्यो। त्यसलाई पुष्टि गर्ने प्रयास भने भएन। जनमत पार्टी त बन्यो तर त्यसको अर्थ लगाइयो - स्वतन्त्र मधेश गठबन्धन विघटन भयो। यथार्थ के हो भने गठबन्धन अहिले पनि सक्रिय नै छ। नयाँ दल गठन भइरहँदा कुनै पनि डकुमेन्टमा विघटनको प्रसंगसमेत उल्लेख छैन। विघटन कतै भएको छ भने, मिडियामा मात्र। 

जनमत पार्टी गठन भएको डाक्टर राउतको फेसबुक पेजबाट सार्वजनिक गरिएको थियो। 

‘नेपाल सरकारसँग ११ बुँदे सहमति गर्ने स्वतन्त्र मधेश गठबन्धन हो। सहमति पालना नभएसम्म गठबन्धन विघटन हुँदैन,’ गठबन्धनका एक नेताले भने, ‘पार्टी क्रियाशील र सरकारले सहमति पालना गरेपछिमात्रै यस विषयमा छलफल हुनेछ। अहिले विघटनको शब्दसमेत उच्चारण भएको छैन। पत्रकारहरुले त विघटन नै गर्दिइसके।’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले संसदमा सहमतिबारे जानकारी गराउने क्रममा गठबन्धन विघटन गर्ने वा नाम फेरेर नयाँ पार्टी गठन गर्न सक्ने बताएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell