PahiloPost

Jul 16, 2019 | ३१ असार २०७६


विमलाको 'नलेखिएको मौन विद्रोह'


स्वेच्छा राउत

विमलाको 'नलेखिएको मौन विद्रोह'

गहुँगोरो अनुहार। होचो कद। अनि घुँडाभन्दा तल पुग्ने लामो कपाल। सोह्र, सत्र वर्षकी थिइन् विमला तुम्खेवा। त्यतिखेर निख्खर सेतो सारी वा कुर्ता उनको नियमित पहिरन हुने गर्‍थ्यो। त्यसरी पूरै सेतो लुगा 'विधुवा'ले मात्र लगाउँथे, हिन्दु झै लिम्बु संस्कारमा पनि। त्यसैले उनीसामू थुप्रै प्रश्न तेर्सिन्थे। गाली वर्षन्थे। कतिले कुरा काट्थे। बाटोमा भेटिने परिचित, अपरिचित सबैको जिज्ञासापूर्ण आँखा उनीतिरै पुग्थ्यो। केहीले त मुख फोरेरै भन्थे,  'विचरी कलिलैमा लोग्ने गुमाइछिन्।'

वेपर्वाह ती किशोरीलाई सवाल जवाफ आवश्यक लाग्दैन थियो। त्यसैले बिना कुनै प्रतिक्रिया आफ्नो बाटो लाग्थिन्। मोरङको पथरीबाट कहिले बिराटनगर, इटहरी, धरान त कहिले झापाको बिर्तामोडतिर हरेक साता उनको यात्रा हुन्थ्यो।

उनका बुबा खड्गबहादुर लिम्बु 'जेठा सुब्बा' का नामले चिनिन्थे। जेठा सुब्बाकी छोरी विमला गाउँमा बिग्रिएकी कहलिइन्। त्यतिखेर छोरी मान्छे घरबाट टाढाटाढा हिँड्नु, अबेर घर फर्कनुलाई समाजले 'छाडा' मान्थ्यो। गाउँका धेरैले आफ्ना छोरीहरुलाई सम्झाउँथे - 'सुब्बाको छोरीसरह बिग्री नहिँड्नु।'

तर, सुब्बालाई विमलामाथि विश्वास थियो। विद्रोही स्वभावकी छोरीमाथिका यस्ता आक्षेपहरुले उनलाई पटक्कै छोएन। त्यसैले, उनको रहरमा अवरोध पुर्‍याएनन् सुब्बाले। परिवारको साथ, सहयोगले विमलालाई निडर उभिन, कविता सुन्न, सुनाउन हिँड्न हौस्याइरह्यो सधैं।

बुबा ब्रिटिस, इन्डिया दुवै पल्टनमा जोडिएका। लडाईँ लडेर फर्किएका सैनिक। लडाईँका अनेक सास्ती र पीडाका कथा सुनाउँथे उनी। फकल्यान्ड र कार्गिल युद्ध लड्दा घटना। मलेसियाको जंगलमा महिनौं युद्ध लड्दाको व्याख्या। बम र बारुद ज्यानमा बाँधेर हिँड्दाका क्षण। विमलाका बुबाले सुनाउने यी भयावह घटनाहरु होइन, उनलाई छुने विषय अर्कै थियो। ‘कवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुँदा कोटलाई खाजा दिएर फर्किएको किस्सा, देवकोटाका कविताहरु, साहित्यकार बम देवानका कविता आदिले उनलाई। यी विषयले बुबाको कठोर होइन कोमल पक्ष नियाल्न सघाउँथ्यो उनलाई।

‘बुबाले नै गर्दा मैले कविता चिनेँ। सुन्दासुन्दै पढ्न अनि पढ्दापढ्दै लेख्न मन लाग्ने भयो,’ कविता लेख्न थाल्दाको प्रसंग सुनाइन् उनले।

सन्दर्भ २०४४ सालतिरको। प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलन चर्कँदो थियो। सुब्बा चिनिएका काङ्ग्रेसी। तर, विमलाको मस्तिस्कमा भने कम्युनिस्टका भाषण र नाराहरुले छाप पारेको। जनवादी गीत र मुक्तिका नाराहरु उनी चाख दिएर सुन्थिन्। बुझ्ने कोसिस गर्थिन्। ‘गह्रौँ शब्दका अर्थ थाहा नपाइ, साहित्य भनेको के हो नबुझ्दै ममा ती कुराको प्रभाव पर्दै गयो। त्यति सानोमै पारिजात र म्याक्सिम गोर्कीका किताबहरु पढ्न थालें,' उनले सुनाइन्।

जति बुझ्दै गइन्, समाजमा स्थापित मान्यताहरुसँग उनलाई समस्या हुन थाल्यो। समस्या यसकारण कि त्यसले महिलालाई पुरुषसरह बाँच्न नै नदिने मान्यता राख्थ्यो। यसरी देखिएका विभेद र दमनविरुद्ध बोल्न चाहन्थिन्। महिलाको अस्तित्वमाथि लेख्न चाहन्थिन्, जसरी पारिजातले आफ्ना कृतिहरुमा विसङ्गतीवाद र अस्तित्ववादी चिन्तनको प्रयोग गरेकी थिइन्।

पथरी बजारमा हरेक वर्ष तिहार विशेष कार्यक्रम आयोजना हुन्थ्यो। एक पटकको तिहारको कार्यक्रममा उनले कविता सुनाइन्, पहिलोपटक।  उनको पहिलो कविताको शीर्षक थियो- ‘म’। जसमा उनले आफू को हुँ भन्दै प्रश्न गरिन्। प्रश्न उनीमाथि मात्र थिएन, समाजमा आफ्नो अस्तित्वबारे नै प्रश्न गरेकी थिइन्। पहिलो कवितामै तारिफ बटुलिन्। उनमा आफ्नो कविताप्रतिको रुचिलाई लिएर आत्मविश्वास बढ्यो। बुबाले पनि लेखनलाई निरन्तरता दिन हौस्याए। विडम्बना, पथरीमा रचना गर्ने, पढ्ने, विमर्श गर्ने, साहित्यिक कार्यक्रम आयोजना हुने वातावरण नै थिएन। त्यही वातावरण खोज्दै हो उनी नजिकका शहरहरु धाउन थालिन्। एकातिर गाउँलेका लागि ‘बिग्रेकी केटी’ भइरहँदा अर्कोतिर किशोरी कविका रुपमा उनको पहिचान स्थापित भइरहेको थियो।

१३/१४ वर्षकी थिइन् उनी जब झोला बोकेर गाउँदेखि पर पर पुग्थिन्। हरेक साता हुने साहित्यिक कार्यक्रम छुटाउँथिनन्। विर्तामोडमा कृष्ण धारावासी, विराटनगरमा नरेन्द्र चापागाईं, धरानमा गोविन्द बिकल र इटहरीमा जीबी लुगुन लगायत थिए, उनलाई प्रोत्साहित गर्न। तिनै होनहार सर्जकहरुको अघिल्तिर उभिएर कविता वाचन गर्थिन् विमला। वाहवाह र ताली पाउँथिन्। निरन्तर कविता लेख्न उत्प्रेरणा पनि।

सुरुवाती दिनदेखि नै उनले आफ्ना कविताहरुमा महिलाका मुद्दा, उनीहरुमाथि हुने दमन, भेदभाव, पीडाका विषयलाई उठाइन्। विभेदविरुद्ध नारा लगाइन्। यसैबीच हो उनले विधवाले रङ्गीन कपडा लगाउन नपाउने कुरीतिविरुद्ध कदम चालेको।

एकदिन आमाको उमेरका केही महिला ‘श्रीमान् रहुन्जेल त हो नि रातो लगाउन पाउने’, ‘सेतो लगाएपछि अलक्षिण हुन्छौं’ भन्दै कुरा गरेको सुनिन्। उनलाई ती आमाहरुको कुराले दु:खी बनायो। सँगै असह्य भयो उनलाई - श्रीमान् बितेर गएपछि रातो लगाउन नपाउने नियमलाई उनीहरुले सजिलै स्वीकार गरेको देख्दा।

‘महिलालाई अशुभको तक्मा दिने गलत प्रचलनको अन्त्य चाहन्थेँ। चुपचाप रङ्गिन कपडा त्यागेर सेतो लगाउनु भनेको आफ्ना रहरहरु दबाउनु हो। अरुको इशारामा चल्नु हो जस्तो लाग्यो। त्यसैले विरोधस्वरुप सेतो पहिरन अपनाउने भएँ,’ केही बेर रोक्किएर थपिन्, 'आफ्नो खुशीको रङ अपनाएँ। सेतो देख्दा मलाई निकै शान्त अनि आनन्दित महसुस हुन्छ।'

उनले आफ्नो तर्कसहित सेतो परिहन लगाउने निर्णय सुनाइन्। घरका कसैले नाईं भनेनन्। १५ वर्षकी थिइन्, त्यसताका उनी। दश वर्ष, सभा सम्मेलन, कवि गोष्ठी लगायत हरेक कार्यक्रमहरुमा सेतो पहिरनमा देखिन्थिन्, विमला तुम्खेवा।

तेह्रथुम, ओख्रेको हो तुम्खेवा परिवार। खड्गबहादुर लिम्बु र सुकमाया लिम्बुको विवाह भएको १७ वर्षसम्म सन्तान भएन। झाँक्री बसाए। पूजा लगाए। तर, पनि केही उपाय लागेन। दुवैको आशा मरिसकेको थियो। २०३४ सालमा सुकमायाले विमलालाई जन्म दिनुले माहोल फेरिदियो। बुबा बन्दाको खुशी खड्गबहादुरको व्यवहारमा झल्कियो। न्वारनका लागि सरसामान, मरमसला किन्न आफैं धरान पुगे, साँघुरी भञ्ज्याङको बाटो हुँदै। आफैं भारी बोकेर आए। भोज गरे। सेताम्बी खलकका उनीहरुकहाँ कुखुराको मासु चल्दैन। सुत्केरी श्रीमतीका लागि भने उनले खलकको नियम तोडिदिए- कुखुराको मासु खुवाए।

आफ्नो जन्ममा छाएको रौनकको कहानी विमलाले कविता 'अठोट'मा यसरी उनिन् :

म जन्मिएको दिन बुबाले

झिसमिसेदेखि बिहानभरि लगाएर खुशी हुँदै

तीनतल्ले घर एक्लैले लिपेको

आमाले चाहिँ नजानेरै झण्डै नाभी पूरै काटेको

बुबाले हर्षले गाँडसँगै कुखुराको मासु पकाएर दिएको

आमाले भनेको यस्तैयस्तै किस्सा र कहानी छ

म जन्मिँदाको

त्यसपछि वर्षेनी दुई छोराहरु जन्मिए। वर्षौदेखि शून्य घरमा केटाकेटी रौनक बनेका थिए। तर, दु:खद् के बन्यो भने पहिलो छोरा गोविन्द एक वर्षको हुँदा एकदम बिरामी परे। समस्या पहिल्याउनु अघि उपचार नहुँदै ज्यान गयो।

जेठी छोरी र कान्छो छोरा थिए। उनीहरुलाई केही नहोस् भनेरै गाउँ छोड्ने, पथरी झर्ने निर्णय गरे जेठा सुब्बाले। सुब्बिनी त मानेकी थिइनन्। तर, श्रीमानले जेल पठाउने धम्की देखाएपछि तेह्रथुम छोड्न बाध्य भइन् उनी।

मोरङको पथरीमा घरहरु धेरै थिएन। पोथ्रै पोथ्राका बीचमा सुकुम्बासी बस्तीमात्र। किनेको नम्बरी जग्गामा पनि वरपर जङ्गलले घेरेको थियो। त्यही एक कुनामा झोडा फाँडेर घर बनाए लिम्बु परिवारले। बच्चा बिरामी भए अस्पताल लैजान सजिलो, ठूलो भएपछि पढाउन पठाउन सजिलो, गाडी गुड्ने सडक सुविधाको ठाउँ सन्तानकै लागि रोजेका थिए सुब्बाले। तर, कान्छो छोरो पनि उमेरले दुई वर्ष नपुग्दै सेतो मच्छरको शिकार भयो। झाँक्री बसाए, अस्पताल पुर्‍याए ठीक भएन। बिते।

बुबाले सुनाउने पल्टनका कथा र बम देवानको कविता सुन्न विमला एक्ली भइन्। त्यसपछि जोडियो जनवादी गीत र मुक्तिका नारा सुन्नेक्रम। अनि पारिजात र गोर्कीका किताबहरु पढ्नु, कविता लेख्न थाल्नुको श्रृङ्खला। केही बुझ्ने भएपछिमात्र हो उनी एक्लै कविता सुन्न, सुनाउन हिँडेको।

‘एक्ली छोरी सुब्बाले नै पुल्पुल्याएर बिगार्‍यो भन्नेहरु पनि थिए। तर, ज्यानको बाजी राखेर लडाईँ लड्नु भएको बाबालाई यस्ता कुराले के छुन्थ्यो, ’ उनी सम्झन्छिन्।

बीस वर्षकी थिइन्, विमला। कविताहरुको संकलनलाई पुस्तकको रुप दिने तयारीमा थिइन्। केही अघिदेखिनै स्वास्थ्यमा समस्या भोगिरहेका सुब्बा त्यतिखेरै थला परे। बिरामी हुँदा पनि रक्सी पिउन छाडेनन्। उक्त रक्तचापका कारण उनको मृत्यु भयो २०५५ सालमा। सुब्बाले छोरीको कविता संग्रह पढ्न पाएनन्। त्यसपछि हो विमलाले लामो कपाल मुड्याइन्। त्यस बेलाको समाजसँग ‘छोरी भएर’सँग जोडिएर आउने प्रश्न धेरै थिए। चासो नभएको कुरामा चुप रहेर टार्ने उनले यसपटक पनि त्यस्तै गरिन्। र, दागबत्ती पनि आफैं दिइन्। मौन विद्रोह थियो उनको।

‘आजसम्म त छोरीले बुबा आमालाई दागबत्ती दिनु नौलौ खबर बन्छ भने त्यो समय समाजसँग लड्नु कति गाह्रो थियो होला? तर, ममा आँट थियो,’ उनी सुनाउँछिन्, 'केहीले रोक्न खोजे। तर, म किन रोकिन्थेँ?’

काज किरियापछि सेतो पहिरन लगाएर हिँड्ने युवती फरक देखिइन्। उनको कालो लामो कपालको ठाउँमा मुडेको टाउको देखियो। कतिले हेयको नजरले हेरे।  केही छक्क परे। तर, अरुले जिस्काइराख्दा उनको शिर अझ उँचो भएको थियो। किनकि उनी सामाजिक संरचनाविरुद्धको अभियानमा सफल भएकी थिइन्। भनिन्, 'कहीँ पनि नलेखिएको मौन विद्रोह हो त्यो। समाजलाई चुनौतीसहित आफ्ना लागि चलाएको अभियान। किनकि म तयार थिइनँ समाजले सिकाएको हरेक कुरीति चुपचाप स्वीकार्न।'

सोही वर्ष धरानका धर्म राईले उनका कविताहरुको संग्रह प्रकाशनका लागि प्रोत्साहित गरे, छाप्ने खर्चको जिम्मेवारीसहित। पहिलो कविता संग्रह 'विमला तुम्खेवाका कविता' धरानबाटै सार्वजनिक भयो। वाहवाही थपियो। चिन्नेहरु बढे। तर, काठमाडौंमा रहेका चर्चित कविहरुले सधैं भने  ‘मोफसलकी कवि’। उनलाई फिटिक्कै मोफसलमा मात्र सीमित रहनु थिएन।

काठमाडौं आउने हुटहुटीले छोएको धेरैपछि, २०५८ मा आमासँग दुई हजार रुपैयाँ लिएर उनी हिँडिन्। तर, शहर गोजीमा भएको पैसाभन्दा महङ्गो रहेछ भन्ने कुरा बुझ्न धेरै दिन बिताउनै परेन। काठमाडौं झरेर सिधै कवि मञ्जुललाई भेट्न जाने भइन्। ट्याक्सी चालकलाई आग्रह त गरिन् तर उसले चारपटक सिंहदरबारकै वरपर घुमाएको मेसो पाइनन्। गाडी भाडा र खाना खाजा खाएर बचेको पैसाको आधाभन्दा बढी मिटरले उठायो। ‘म त ठूलो कवि बन्न काठमाडौं आएँ। तर यो ठूलो ठाउँमा रहेर काम गर्न कहाँ सजिलो रहेछ र?,’ उनले त्यतिखेरको अवस्था स्मरण गरिन्, 'काठमाडौं मेरा लागि उत्तिनै प्यारो छ। गोजीमा एक रुपैयाँ नहुँदा असन, इन्द्रचोकको गल्ली घुम्थेँ। म बेफिकर हुन्थेँ। आनन्द लाग्थ्यो गल्लीहरुमा परेका घाम छिचोल्दै हिँड्न।‘

साथी नीका श्रेष्ठसँग मिलेर बस्न थालिन्, मासिक १५ सय रुपैयाँ तिरेर। खर्च आमाले पठाउँथिन्। उनी भने शहरमा आफ्नो ठाउँ खोज्दै, बनाउँदै थिइन्। बागबजार, भृकुटीमण्डपमा जम्मा हुन्थिन्, अरु कविसँगै। कवितामार्फत् परिवर्तनका कुरा हुन्थे। अन्य वैचारिक कुरा पनि। तर, गोजीमा पैसा हुँदैन थियो। जम्मा भएको ठाउँमा घण्टौँ बस्ने, एक कप चिया पिउने र साँझ भीमसेनगोलास्थित कोठासम्म हिँड्दै फर्कने उनको दैनिकी। कवि सम्मेलन छुटाउँथिनन्। कहिले त दिनमा तीन वटासम्म गोष्ठी भ्याइन्। यो सब भइरहँदा अभावसँग जुधिरहिन् तर थाकिनन्।

तोया गुरुङ, उषा शेरचन, गीता केशरी, भुवान ढुङ्गाना, बानिरा गिरी, हिरण्यकुमारी पाठक लगायत महिलालाई नियमित कार्यक्रमहरुमा देख्थिन्। जोश ह्वात्तै बढ्थ्यो। ‘साहित्यमा महिला सहभागिता देखेर खुशी लाग्थ्यो नत्र महिलाले बोल्ने ठाउँ कहाँ थियो र?,’ उनीले प्रश्न र उत्तर दुवै दिइन्।

विमलाले छोरी भएकै कारण कुनै पनि किसिमको बन्देज झेल्न परेन। उनको समुदायमा घर हाँक्ने प्राय महिला नै भएको देखिन्। न महिनावारी बार्नु पर्‍यो न पढाईबाट बञ्चित नै हुनुपर्‍यो। जति उत्पीडन, विभेद देखिन् त्यो त लिम्बु समुदायबाहेकमा देखिन्। आफूले भोग्न नपरे पनि उनलाई आफू सरहका महिलाको पीडाले छोयो। 'मेरो त समुदाय, संस्कार र संरचनाले मलाई स्वतन्त्रता दियो। तर, महिला भएकै कारण अरु महिलाको पीडाले मलाई पनि दुखायो,' उनले भनिन्, 'कवितालाई माध्यम बनाएर उनीहरुको आवाज त उठाएँ। तर वर्षौदेखि अवस्था उस्तै छ।'

सामाज तथा राज्यकै तहबाट महिलामाथि हुँदै आएको विभेद कम नहुनुलाई उनले दु:खद् पक्षको रुपमा नियालेकी छिन्। समाजले महिला आफैंमा पूर्ण नभइ पुरुषको सह-अस्तित्वका रुपमा स्थापित गर्नु, राज्यले छोरीलाई वंशको रुपमा नहेर्नु, जनसङ्ख्याको आधारमा महिला सहभागिता नहुनुलाई उनी समस्या मान्छिन्। भन्छिन्, 'परिवर्तन भए। नाम भन्न नसक्ने महिला लेख्न सक्ने भए तर संस्कार, कानुन, धर्मग्रन्थ र सामाजिक संरचनासँगै गढेको जरा उस्तै छ। जसलाई निर्मूल नपारेसम्म महिला मुक्ति सम्भव छैन।'

नेपाली साहित्यकै हकमा पनि सङ्ख्यात्मक, वैचारिक एवं कृतिगत् हिसाबले महिला सहभागिता सबल रहेको उनको कथन छ। समस्या त साहित्य क्षेत्रमा नेतृत्व र निर्णय गर्ने भूमिकामा महिला नहुनुलाई मान्छिन्। ‘क्षमताको कदर र योगदानको सही मुल्याङ्कन हुँदैन। यो प्रचलन सिङ्गो समाजको हो। तर, परिवर्तन एउटा व्यक्तिबाट सुरु हुन्छ,’ उनले आफ्नो कृतिहरुमा पनि यिनै विचार उठान गरेकी छिन्।

२०६० सालमा ‘नदी छाल र तरङ्ग’ , २०६५ सालमा ‘संस्मरण एउटा बुढो रुखको’ उनका कविता संग्रहरु हुन्। बीचमा उनी कार्यक्रमहरुमा आक्कल झुक्कल देखिइन्, कविता गोष्ठीहरुमा पनि देखिन कम भयो। कुनै पनि किताब प्रकाशनमा ल्याइनन्।

‘उल्झन् नै त रहेछ। म पनि त्यतै कतै अल्झी बसेँ, समस्याहरुको उल्झनमा,’ उनले मुस्कुराउँदै सुनाइन्। अनि कविता लेखनलाई लिएर पनि उनका केही धारणाहरु परिवर्तन भए। 'कविताले वाहवाहीबाट पर रहेर बेग्लै गाम्भीर्यता बोक्न पर्ने रहेछ भन्ने बुझेँ। त्यसैले केही समय लागोस् तर कवि हुनुको जिम्मेवारी निभाउन सकुँ जस्तो लाग्यो,' उनको लामो अनुभव, 'धेरै वर्ष जोतिएको गोरुमा केही फरक हुनुपर्ने रहेछ।'

उनले यसबीचमा तीन वर्षअघि भक्तपुरका किरण तामाङसँग विवाह गरिन्। छोरी जन्माइन्। छोरी हुनुको खुशी उनको कविता ‘छोरी’मा झल्कन्छ:

साँच्चै
तिमी जन्मियौ यो पृथ्वीमा
मैले चाहेजस्तै
तिम्रो चेप्टो नाक चिम्सो आँखा र उज्यालो अनुहार
मेरै प्रतिरुप थियौ
सबभन्दा खुशीको कुरा तिमी छोरी भएर जन्मियौ।

एघार वर्षपछि पुन: कविता संग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ पाठकमाँझ ल्याउँदै छिन् विमलाले। संग्रहमा समावेश छ, यो कविता पनि। एघार वर्षमा केके भोग्नु पर्‍यो, केके देख्नु पर्‍यो सबै समेटिन सकिन् या सकेनन् फरक कुरा। तर, फेरि पनि महिला, समाज, विसङ्गती, विद्रोह र परिवर्तनभन्दा पर छैनन् उनका शब्दहरु।

 

'सच्याऊ, यो इतिहास' शीर्षकको कवितामा लेखेकी छिन्:

मलाई जेल झैँ लाग्छन्,

यहाँका प्रत्येक सभ्यता र संस्कृति

मलाई सास फेर्नै मुस्किल भइरहेछ,

धमिरा लागिसकेको माटोको ढिस्कोजस्तो,

मेरो जन्मदिनमा मनाउनु पर्दैन कुनै उत्सव,

गर्नुपर्दैन कुनै नाटक

भर्खरै अस्पतालमा कति मारिँदै होलान् गर्भमै छोरीहरु

भर्खरै कति मारिए होलान् यो धर्तीमा छोरीहरु।



विमलाको 'नलेखिएको मौन विद्रोह' को लागी १ प्रतिक्रिया(हरु)

देवेन्द्र सुर्केली [ 2019-03-20 22:39:11 ]
म कक्षा ९ मा पढ्दाताका उर्लाबारी/पथरीबाट एउटा शसक्त पत्रिका निस्किन्थ्यो –एकलव्य । मलाई पत्रिकाप्रतिको चासो भएकै कारण उक्त पत्रिकामा जोडिन खोजेँ, पत्रिकासँग सम्वद्धहरुले तिमी प्रकाशपुरको प्रतिनिधि भयौ भनेर मौखिक वचन आयो । साथै १०० वटाजति पत्रिका पनि मलाई आइपुग्यो । उक्त पत्रिका बोकेर प्रकाशपुर बजार, राजाबास, १६ नम्बर निकै धाएँ । तर एकजना पनि ग्राहक भने बनाउन सकिनँ । उक्त पत्रिकाको कार्यकारी सम्पादकमा विमला तुम्खेवा हुनुहुन्थ्यो । सबैभन्दा पहिले उहाँको नाम यसैमा पढेको हुँ ।
तत्कालै म धरान गएर बस्नेँ भएँ, त्यहाँ साहित्य र राजनीतिसँग अलि नजिक भएँ । विमला तुम्खेवाका रचनाहरु पढि नै रहन्थे । एकपटक नवकला साहित्य परिवारले गजल प्रतियोगिताको आयोजना गयो पब्लिक स्कुलमा । त्यस प्रतियोगितामा मैले पहिलोपटक उहाँलाई प्रत्यक्ष देख्न पुगेको हुँ ।
त्यसै साल निस्कियो कविता सङग्रह –विमला तुम्खेवाका कविताहरु ।
मैले निकै लामोसमय सम्म उक्त कृति सुरक्षित राखेोका थिएँ । काठमाडौंमा डेरा सरिरहँदा उक्त पुस्तक कता पर्‍यो अहिले मेरो र्‍याकमा छैन ।
त्यसपछिका पुस्तकहरु नदि, छाल र तरङ्गहरु, संस्मरण एउटा बुढो रुखको भने सुरक्षित राखेको छु । उक्त कृतिहरु मेरा बेलाबेलाका साथी हुन्, पढेपछि टेन्सन दुर हुने ।
अहिले ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कृतिको आवरण आएपछि मन फेरि उत्साहित भएर आएको छ । उहाँका कविता सुन्दा होस् या पढदा शरीरका काँडा उमार्ने गर्दछन् । पक्कै पनि यस कृतिले उत्तिकै मदहोस् बनाउनेछ ।
आशा गर्दछु, पुस्तक आएपछि सबैले पुस्तक संग्रहत गर्नेछन् र पढ्नेछन् पनि ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट