PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

प्रहरीका अघिल्तिर नै नक्कली नोटको डेमो: घाउमा लगाउने औषधिबाट यसरी हुन्थ्यो ठगी(भिडियो)



सविन ढकाल

प्रहरीका अघिल्तिर नै नक्कली नोटको डेमो: घाउमा लगाउने औषधिबाट यसरी हुन्थ्यो ठगी(भिडियो)

स्थानः महानगरीय प्रहरी परिसर काठमाडौँ, टेकु

मितिः २०७४ चैत ४ गते

समयः करिब १२ बजे

दुवै जनाको शिरमा ढाका टोपी। एकजनाले कालो धर्के कोट पाइन्ट लगाएको। अर्काको सेतो सर्टमाथि खैरो हाफ ज्याकेट। चिटिक्क परेका चम्किला पहिरमा दुई अधवैसे। हेर्दा भलाद्‍मी।

यी हुन् भीमबहादुर मल्ल, वर्ष ५२ र मानबहादुर सुवेदी, वर्ष ४४। भीमबहादुर पश्चिम म्याग्दीका र मानबहादुर पूर्व ‌ओखलढुङ्गाका।

'सर यिनै हुन् ती दुई जना,' एक प्रहरीले हतकडीसहित कोठा भित्र छिराउँदै गर्दा भने।

‘हेर्दा त वकिल जस्तो देखिनुहुन्छ। अनुहार नै त्यस्तै राम्रो उज्यालो छ। यस्तो काम गर्न लाज लागेन?,' परिसरका डिएसपी होविन्द्र बोगटीले केरकार थाले।

केहीबेर दुवै अनकनाइरहे। एकछिनमा भीमबहादुर बोले, 'एउटाले मेरो पैसा खाइदियो। अनि मैले पनि त्यसै गरेँ।‘

भीमबहादुरको अनुहारमा कुनै पश्चतापको भाव देखिएन।

डिएसपी बोगटीको टेबलभरि उनीहरूको ठगी कलाको सामान राखिएको थियो। समातिएका दुवै डिएसपीभन्दा पाको उमेरका थिए। अपराधसँग जोडिन उमेरले के अर्थ राख्छ र?

'अनि कति लिनुहुन्छ पैसा? एक लाखको ३५ हजार रुपैयाँ हो?'

जवाफ दिन मानबहादुर नै तम्सिए।

‘कहाँ ३५ हजारमात्र। आएसम्म त पूरै लिने हो नि,' भीमबहादुरले जवाफ दिइरहँदा मानबहादुरको अनुहारमा भने केही धकाएको देखिन्थ्यो।

डिएसपी बोगटी उनीहरूको ठगीबारे थप बुझ्न उत्सुक थिए।

‘एउटा पूर्वको अर्को पश्चिमतिरको। कसरी भेट्नु भयो?'

‘बाटोमा नै भेटियो। यस्तै भयो,' यस पटक भने मानबहादुरको बोली फुट्यो।

परिसरको टोलीले एक महिना लामो अनुसन्धानपछि उनीहरूलाई सोमबार पक्राउ गरेको हो। राजधानीमा कारखाना नै बनाएर ठूलो मात्रमा नक्कली नोट छापिरहेका छन् भन्ने प्रहरीलाई सूचना आएपछि प्रहरीले खोजी गरेको थियो यो जोडीको।

सोमबार बिहान प्रहरीले बागबजारमा रहेको सनराइज होटेलको कोठा नम्बर ११० बाट उनीहरूलाई पक्रेको हो। ‘हामीलाई त ठूलो मात्रमा नक्कली नोट छाप्ने भन्ने सूचना थियो। तर, सोचेजस्तो रहेनछ। एक प्रकारको ठगी भने देखियो,' डिएसपी बोगटीले भने।

भीमबहादुरले विभिन्न व्यक्तिलाई आफूसँग ईन्द्रजालको शक्ति भएकाले सक्कली नोटलाई फोटोकपी गर्दिने भन्दै ठगी गरेको खुलेको हो। उनीहरूले एक लाख रुपैयाँ बराबरको नक्कली नोट जादुबाट फोटोकपी गरे वापत ३५ हजारदेखि ८० हजारसम्म लिने गरेको खुलेको छ।

मीनबहादुरले भने नक्कली नोटका लागि मानिस खोज्ने गर्थे। र, भीमबहादुरले जादूको शैलीमा नक्कलीको साटफेर गर्थे। उनीहरूले नक्कली नोट नछापी तालमाथि सक्कली र बीचमा कागज राखेर दुरुस्त नोटको बिटो बनाउने रहेछन्।

‘उनीहरूले एउटा नमुना देखाउँछन्। भोलिपल्ट रकमको अर्डर दिन्छन्। उनीहरूले माथिल्लो र तल्लो नोटको बीचमा कागजको बिटो पोको पारेर दिने गरेको भेटियो,' डिएसपी बोगटीले भने। छिटो र धेरै रकमको लोभमा परेका वा ठगहरु नै यिनीहरुको सिकार हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

यसरी छाप्थे नक्कली नोट

भीमबहादुरले नक्कली नोटको ठगी शैलीको डेमो नै दिए प्रहरीसामु।

नक्कली नोट बनाउन उनले केही कागज लिए। कागजलाई हजारको सक्कली नोटको साइजमा काटे।

काटेको ठाउँमा घाउ सफा गर्न प्रयोग हुने बेटाडिन र फोटो धुलाउनको लागि प्रयोग हुने केमिकल प्रयोग हाले।

दाँत कोट्याउन प्रयोग हुने टुथपिक झिके। फोटो धुलाउन प्रयोग हुने केमिकलमा चोपे। अनि पैसाको साइजमा काटिएको टुक्रामा केही लेख। उनले पैसाको नक्सा बनाएका रहेछन्।

एकछिनमा फेरि बेटाडिन लिए। त्यो लेखिएको कागजमा पूरै पोते। अनि फेरि अर्को कागजमा बेरेर राखे। भीमबहादुरले अर्को सक्कली हजारको नोट मगाए। फेरि त्यो नोटमा बेटाडिन दले। नजिकैको झोलामा राखे।

एकछिनमा 'खोइ कैची?' भन्दै झोलामा छापेको जस्तो गरेर पहिलेको कागज सहित झोलामा हाले।

फेरि केहीबेर रोकिए। त्यसपछि अघि कागजको टुक्रामा लेखेर बेटाडिन लगाएको कागज खोले। अनि फेरि फोटो धुलाउने केमिकलले पुछे।

'हेर्नुस्' हजारको नोटको बिटो तयार भयो।

गर्दा के रहेछन्?

मानबहादुरले ग्राहक आउनुभन्दा अगाडि नै झोलामा एउटै प्रकृतिले सक्कली नोटमा बेटाडिन दलेर उही साइजको बनाएर राख्दा रहेछन्। जब कोही ग्राहक आउथ्यो अनि उनले कसो कसो गरेर आँखा छलेर झोलाबाट नक्कली पैसाको बिट झिकेर दिने रहेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell