PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

के हुँदैछ सीके राउतको कडा सुरक्षासहितको अत्यन्त गोप्य राष्ट्रिय परिषद् बैठकमा? 



बीपी साह

के हुँदैछ सीके राउतको कडा सुरक्षासहितको अत्यन्त गोप्य राष्ट्रिय परिषद् बैठकमा? 

सिरहा (लहान) : लहानको मुख्य बजारभन्दा उत्तरपट्टी रहेको एउटा दुई तल्ले भवन वरपर पोशाकमा र सिभिल ड्रेसमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ। 

अपराह्न करिब सवा ५ बजे भवनको गेटमा एक जना व्यक्ति भित्र प्रवेश गर्न खोजे। तर उनलाई रोकियो।

'म स्वतन्त्र मधेश गठबन्धनकै नेता हुँ। परिषद्को बैठकमा सहभागी हुन आएको,'  उनले भने। तर, गेटमा खटिएका गठबन्धनका स्वयंसेवकले उनलाई छिर्न दिएनन्। 

भित्र जाने प्रयास विफल भएपछि उनी गेटभन्दा पर गए। सदनकै अगाडिमा रहेको चिया पसलेले उनी रौनियार थरका संघीय समाजवादी फोरम नेपालका स्थानीय नेता भएको पहिलोपोस्टलाई सुनाए।

उनीमात्र हैन, कतिपयले आफूलाई पत्रकार बताउँदै बारम्बार प्रवेश गर्न खोजे। तर गठबन्धनका स्वयंसेवकले प्रवेश दिएनन्।

बैठक सुरु हुने समयमा पनि स्थानीय सञ्चारकर्मीहरुको ठूलो भीड थियो। कसैलाई पनि प्रवेश दिइएन।

फाइल फोटो : सौरभ अग्रवाल

के हुँदैछ यो भवनमा?

मारवाडी सेवा सदनको यो भवनमा अहिले सरकारसँग पृथकतावादी गतिविधि त्यागी मूलधारको राजनीतिमा आउने सहमति गरेको भनिएको सीके राउतको स्वतन्त्र मधेस गठबन्धनको परिषद् बैठक चलिरहेको छ। 

यो भवनको दोस्रो तल्लामा बैठक बसिरहेको छ भने भूइँतल्ला र पहिलो तल्लामा सदस्यहरुको आवासको व्यवस्था मिलाइएको छ। 

स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्मा एक सय ७६ जनाभन्दा बढी सदस्य छन्। कतिपय सदस्यहरु हिजो नै लहान पुगेका थिए भने कतिपय बिहान ११ बजेसम्म लहान पुगे।

गेटमा सुरक्षा चेकजाँचका लागि खटाइएका स्वयंसेवकले लिष्टमा नाम भएका व्यक्तिको परिचयपत्र चेकजाँच गरेर भित्र प्रवेश दिएका थिए। नागरिकता, लाइसेन्स अथवा परिचय खुल्ने कुनै प्रमाणपत्र भएको खण्डमा मात्र उनीहरुलाई प्रवेश दिन्थ्यो।

कुनै पत्र नभएकाहरुलाई गठबन्धनका नेताहरुले आफ्नो जिम्मामा प्रवेश गराएका थिए।

कार्यक्रमको सुरुवातमा गठबन्धनका स्वयंसेवकहरुले मधेश स्वागत गान गाएका थिए। पानसमा बत्ती बाली परिषद् बैठकको उद्घाटन स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले गरे।

सोही क्रममा गठबन्धनका सहजकर्ता कैलाश महतोले पनि संक्षित मन्तव्य दिएका थिए।

बैठकको पहिलो दिनमा सहभागीहरुले नेतृत्वसँग प्रश्नोत्तर गर्दैछन्। सरकारसँग हालै भएको सहमति र आगामी रणनीति लगायतका विषयहरुमा सदस्यहरुले मनमा लागेको विचार राख्नुका साथै उनीहरुले प्रश्न गर्ने क्रम जारी रहेको छ।

सदस्यहरुको प्रश्न सकिएपछि राउतसहितले जवाफ दिनेछन्। पहिलो दिनको बैठक राति करिब ११ बजेसम्म चल्नेछ। 

दोस्रो दिनको बैठकमा संगठनको संरचनाका विषयमा छलफल हुने जनाइएको छ।

नागरिकता किन मागियो? 

राउतको फेसबुक पेजमा कार्यक्रममा सहभागी हुन आउने सदस्यहरुलाई नागरिकता लिएर आउन भनिएको थियो। 

नागरिकता किन आवश्यक भयो त?

स्वतन्त्र मधेश गठबन्धनले पार्टी निर्माण गर्ने तयारी गरेको छ। होलीपछि निर्वाचन आयोगमा विधिवत पार्टी दर्ता गर्ने तयारी छ। त्यसैका लागि गठबन्धनका सदस्यहरुको नागरिकता माग गरिएको हो।

दल दर्ताका लागि ५ सय मतदाताको नागरिकता नम्बर अनिवार्य छ। 

त्यसैगरी परिषद् बैठकमा सहभागीहरुलाई मोबाइल चलाउन दिइएको छैन। बैठक चलिरहेका बेला मोबाइलमा फोन आउँदा छलफलमा समस्या हुने भएकोले मोबाइल प्रयोग गर्न नदिइएको गठबन्धनका एक नेताले पहिलोपोस्टलाई बताए। 

सदन कम्पाउन्ड बाहिर निस्कन निषेध 

परिषद्को बैठकमा सहभागी भएकाहरुलाई सदनको कम्पाउन्डभन्दा बाहिर निस्किन दिने व्यवस्था छैन। बैठक नसकुन्जेल उनीहरुका लागि सदनभित्रै खाना र सुत्ने व्यवस्था गरिएको छ।

आज सदनभित्र प्रवेश गरेकाहरु पर्सिमात्रै बाहिरिने छन्। भोलि अबेर रातिसम्म छलफल गरी संगठनको रणनीति तय गरिने जनाइएको छ।

त्यसपछि पर्सि चैत ५ गते लहान मै स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतको नागरिक अभिनन्दन कार्यक्रम रहेको छ। 

परिषद्को बैठकमा सहभागीहरु नागरिक अभिनन्दन कार्यक्रममा समेत सहभागी हुने सम्भावना रहेको छ। सोही दिन राउत आफ्नो गृह जिल्ला सप्तरी जाने छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell