PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मला प्रकरण : मुद्दा परेका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश, कोसित कति धरौटी माग?



पहिलोपोस्ट

निर्मला प्रकरण : मुद्दा परेका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश, कोसित कति धरौटी माग?

काठमाडौँ : १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ।  

मुद्दामा विपक्षी बनाइएकामध्ये ६ प्रहरीको बयान र थुनछेक बहस जिल्ला अदालतमा भएकोमा बुधबार बहस सकिएको थियो।

विपक्षीहरुलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। यसअघि उनीहरु प्रहरी नियन्त्रणमा थिए। 

अदालतले इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्सपेक्टर जगदिशप्रसाद भट्टलाई ४ लाख, सोको (सिन अफ क्राइम) अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार,  स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। उनीहरूले प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गरेका थिए।

यसमध्ये एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी भने अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन्। उनीहरुलाई उपस्थित हुन सात दिने सूचना जारी भएको छ। 

एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। बाँकी प्रहरी निलम्बनमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell