PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विप्लव Vs बादल : 'जनयुद्ध' का दुई नेता आमने सामने



पहिलोपोस्ट

विप्लव Vs बादल : 'जनयुद्ध' का दुई नेता आमने सामने

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निश्कर्षसहित उसका गतिविधि नियन्त्रण गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरेलगत्तै गृहमन्त्री रामबहादुर थापा 'बादल' ले विदा लिए।

गृहमन्त्री लागू औषध तथा अपराध नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन अस्ट्रिया जाँदैछन्।  उनको आजैको फ्लाइट छ।

प्रधानमन्त्रीले साँझ मन्त्रिपरिषद्को बैठक डाके पनि गृहमन्त्री दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म मन्त्री निवासमै थिए। 

अस्ट्रिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री

तत्कालीन ‘जनयुद्ध’का एक नेता रामबहादुर थापा ‘बादल’ अहिले गृहमन्त्री छन्। बादल गृहमन्त्री हुँदै गर्दा विप्लव नेतृत्वको पार्टीका हिंसात्मक गतिविधि नियन्त्रण गर्नु प्रमुख चुनौती देखिएको थियो उनलाई। हाल आएर उनले नेतृत्वको गरेको गृहमन्त्रालयको प्रस्तावमा विप्लव नेतृत्वको पार्टी आपराधिक भएको निश्कर्ष निकाल्दै उसका कार्य नियन्त्रण गर्ने निर्णय भएको छ।

'जहाँ भेटियो त्यहीँ समात्छौँ : प्रहरी

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले पहिलोपोस्टसँग कुरा गर्दै सरकारको आधिकारिक पत्र आइसकेपछि पहिले जस्तो खुला रुपमा कार्यक्रम गर्न नदिने बताए।

उनले भने, 'प्रतिबन्ध लगाएको भन्ने सुनियो। यसो हो भने अब यो राजनीतिक पार्टी रहेन। यसका कार्यकर्ताहरुलाई जहाँ भेटियो त्यहीँ पक्राउ गर्छौँ।' 

 

विप्लव Vs बादल

तत्कालीन एकीकृत नेकपा माओवादीसँग मोहन वैद्य ‘किरण’ले २–३ असार, २०६९ मा बौद्धमा भएको भेलाबाट नेकपा–माओवादी गठन गरे। किरणले अध्यक्ष प्रचण्डले क्रान्तिलाई धोका दिएको र जनवादी क्रान्तिका लागि भन्दै ४० प्रतिशतभन्दा बढी सदस्य लिएर पार्टी फुटाएका थिए।
यो सम्बन्ध विच्छेद गर्दाका मुख्य पात्रहरु हुन विप्लव र बादल। त्यतिबेला यिनै दुई पात्रले चर्को रुपमा प्रचण्डको आलोचना गर्थे। २०७१ मंसिरमा आइपुग्दा विप्लव समूह मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्‍यो। 

वैद्य नेतृत्वमा तत्कालीन नेकपा–माओवादीको २०७१ कार्तिक २९ र ३० मा भएको केन्द्रीय बैठकलाई विप्लव समूहले गुटगत भेलाको संज्ञा दियो। बैठकमा विप्लव पक्षको तर्फबाट प्रकाण्डले फरक मत राखेका थिए। सो बैठकले चन्द पक्षलाई गुटगत भेला, बैठक र कार्यक्रम गरेको भन्दै आत्मालोचनासहित लिखित स्पष्टिकरण बुझाउन निर्देशन दिएको थियो। तर, चन्द पक्षले उल्टै अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले आत्मालोचना गर्नुपर्ने र आफूसहितको सहमतिमा बैठक बोलाउनुपर्ने माग गरेका थिए। 

विप्लव समूहको माग बमोजिम मंसिर ६ गते विस्तारित बैठक बोलाइयो। तर, यहाँसम्म आइपुग्दा विप्लव समूह अलग हुने निष्कर्षमा पुगेको थियो। त्यतिवेला विप्लव समूहको सबैभन्दा ठूलो तारो बनेका थिए – बादल, हालका गृहमन्त्री। 

विप्लव समूहले ११–१४ मंसिरमा चितवनमा राष्ट्रिय भेला सम्पन्न गरी नेकपा माओवादी गठन गर्‍यो। नेकपा माओवादीको १ फागुन, २०७३ मा रोल्पामा भएको सातौं महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो। 

यसबीच तत्कालीन नेकपा–माओवादी (परी थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकीकरणपछि बनेको) भित्र पनि फुट देखा पर्‍यो। क्रान्तिकारी माओवादीबाट बादल समूह ठूलो हिस्सा लिएर पुनः माउ पार्टीमा फर्कियो। बादलहरु फर्किएपछि एकीकृत नेकपा माओवादी नेकपा माओवादी केन्द्र बन्यो। यो पार्टी तत्कालीन नेकपा एमालेसँग मिलेर नेकपा गठन गरेको छ। त्यही पार्टीबाट गृहमन्त्री बनेका छन् बादल भने अब पार्टीमाथि प्रतिबन्ध लगाएपछि भूमिगत हुन बाध्य भएका छन् विप्लव। यसअघि पनि उनी अर्धभूमिगत नै थिए।  

पहिलेदेखि नै निगरानी 

गत वर्ष सम्पन्न निर्वाचन बहिस्कार गरेको विप्लव समूहले ठाउँठाउँमा हिंसात्मक घटनासमेत घटाएको थियो। तत्कालीन देउवा सरकारले गराएको निर्वाचनका क्रममा हिंसात्मक घटना बढेदेखि नै विप्लव र विप्लव समूहका नेता कार्यकर्ताहरु प्रहरी निगरानीमा थिए। 

उनीहरुलाई चुनावका क्रममा भएका हिंसात्मक गतिविधिका आधारमा विभिन्न मुद्दा चलेका छन्। 

पछिल्लो समयमा विप्लव समूहले एनसेलको कार्यालयमा गराएको विस्फोटमा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। गएको शुक्रबार वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको बसुन्धारास्थित घरमा विस्फोट गराउँदा गाडी जलेर नष्ट भएको थियो। 

विप्लव के भन्छन्?

आफूहरुलाई आपराधिक समूह भन्दै प्रतिबन्ध लगाउने सरकारी निर्णयबारे विप्लवको आधिकारिक धारणा आइसकेको छैन। तर २४ फागुनमा विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै २५ फागुनदेखि ३० फागुनसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। विज्ञप्तिमा 'केपी—प्रचण्ड सरकारले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाएको' आरोप लगाइएको थियो। 

त्यसैगरी उनले सरकारलाई 'कथित वामपन्थी, कम्युनिस्टको सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकार' को संज्ञा दिएका थिए। 

विज्ञप्तिमा उनले 'गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको' आरोप लगाउँदै 'हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र सङ्घर्षविरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिरोध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौँ' भनेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell