PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

इथियोपियाको विमान दुर्घटनामा परेका नेपालीको पहिचान खुल्यो



पहिलोपोस्ट

इथियोपियाको विमान दुर्घटनामा परेका नेपालीको पहिचान खुल्यो
एकता अधिकारीको फाइल फोटो

काठमाडौँ : इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु हुने १ सय ५७ जनामध्ये एक नेपालीको परिचय खुलेको छ। 

उनी गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत एकता अधिकारी रहेको भनी जानकारी आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। अधिकारीको परिवारका निकट सदस्यले पनि यसको पुष्टि गरेका छन्।

इथियोपियन एयरलाइन्सले यात्रु सूचीमा रहेको नाम र राष्ट्रियता हेरी नेपाली दूतावासलाई जानकारी गराएको थियो। इथियोपियामा नेपाली दूतावास छैन। इजिप्टको कायरोस्थित दूतावासले इथियोपिया पनि हेर्ने गर्छ। 

अधिकारी सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत थिइन्। झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत उनी हाल अदिसअबाबामा सप्लाई चेन अफिसर थिइन्।

इथियोपियन एयरलाइन्सको विमानमा चालक दलका ८ सदस्य र १४९ जना यात्रु सवार थिए।

विमानमा ३५ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ।

इथियोपियन एयरलाइन्सले मृतकका आफन्तहरुलाई दुर्घटनाबारे जानकारी गराइसकेको बताएको छ। 

दुर्घटनामा ज्यान गुमाउनेहरुको शव पहिचानका लागि फरेन्सिक इन्भेस्टिगेसन गरिने र पहिचान भइसकेपछि शव परिवारलाई बुझाइने एयरलाइन्सले जनाएको छ। 

राष्ट्रसंघका महासचिवद्वारा समवेदना

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विमान दुर्घटनामा राष्ट्रसंघका कर्मचारी परेकोमा परिवारजनप्रति समवेदना दिँदै ट्विट गरेका छन्।

त्यसैगरी डब्ल्युएफपीका प्रमुख डेभिड बिस्लीले पनि आफ्ना स्टाफको मृत्यु भएकोमा शोकमा रहेको बताएका छन्।

 

'चालकले समस्या भयो भनेका थिए'

इथियोपियन मिडियामा आएको समाचार अनुसार विमानका चालक यारेड गेटाच्युले बोले अन्तर्राष्ट्रिय विमानस्थलको एटिसीलाई विमानमा समस्या रहेको जानकारी गराएका थिए। चालकले विमान फर्काएर अवतरण गराउन अनुमति मागेपछि एटिसीले क्लियरेन्स दिएको केही समयमा नै विमान राडारको सम्पर्कबाट बाहिर भएको थियो। 

दुर्घटना भएको विमान बोइङको नयाँ मोडलको विमान रहेको र चार महिनाअघि मात्रै डेलिभरी दिएको थियो। यो विमान अहिलेसम्म १२ सय घण्टामात्रै उडेको थियो। यही मोडलको लायन एयर विमान पाँच महिनाअघि अक्टोबरमा इन्डोनेसियामा दुर्घटना हुँदा १ सय ८९ जनाको मृत्यु भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell