PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

११ बुँदे सम्झौताबारे गृहमन्त्रीको जवाफ, कसैले आत्मसमर्पण गरेन



पहिलोपोस्ट

११ बुँदे सम्झौताबारे गृहमन्त्रीको जवाफ, कसैले आत्मसमर्पण गरेन
file photo

काठमाडौं : नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिका विषयमा संसदलाई जानकारी गराएका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल, राजपा र सत्तारुढ दलकै सांसदले उठाएका प्रश्नको जवाफ गृहमन्त्री थापाले दिएका छन्। गृहमन्त्री थापाले यो सहमतिमा कसैले आत्मसमर्पण नगरेको बताएका छन्।

‘दुई किसिमको कुरा उठ्दैछ। एकपक्षले सरकारले विखण्डनकारी समक्ष आत्मसमर्पण गरेको भन्ने कुरा आएको छ। र, अर्को स्वतन्त्र मधेश गठबन्धनको नेतृत्वले आत्मसम्पर्ण गरेको कुरा आएको छ।’ गृहमन्त्री थापाले भने, ‘यहाँ कसैले आत्मसम्पर्ण गरेको छैन।’

डा.सीके राउतले अब नयाँ राजनीतिक दल गठन गरेर अगाडि बढ्ने थापाले जानकारी दिए।

संसदमा विशेष समय लिएर बोल्न सुरु गरेका थापाले भने, ‘नेपालमा दुईवटा समूहहरु अथवा शक्तिहरु सक्रिय रहँदै आएका छन्। एउटा यस राज्य व्यवस्थालाई असंबैधानिक र हिंसाद्बरा  उल्टयाउने केही शक्तिहरु नेपालमा सक्रिय छन्। दोस्रो शक्ति यो देशलाई विखण्डन गर्ने, स्वतन्त्रता स्वाधिनता वा स्वराजको नाममा सक्रिय छन्।’

‘यही क्रममा केही वर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको नाममा एउटा समूह सक्रिय हुँदै आएको तपाई हामीलाई थाहा छ। स्वतन्त्र मधेशका लागि आन्दोलन गर्ने भन्दै यो समूहले क्रियाकलाप गर्दै आएको थियो। यसलाई सरकारले नियन्त्रण गर्ने र देशको अखण्डताको रक्षाका निम्ति प्रयास गर्दै आएको थियो।’ थापाले भने, ‘यहाँसम्म आइसक्दा खेरी यो समूहसँग सरकार एउटा राजनीतिक सहमतिमा पुगेको छ। नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेशको स्थापना गर्ने लक्ष्यलाई परित्याग गरेको छ। र, के सहमति गरेका छन् भने नेपालको भौगोलिक अखण्डता लाई स्वीकार गरेको छ।’

‘यो सहमति महत्वपूर्ण उपलब्धी हो। नेपालको भौगोलिक अखण्डताको लागि महत्वपूर्ण उपलब्धी भएको छ।’ उनले भने,‘यसले देशको शान्ति सुरक्षालाई पनि सुदृढ बनाउने छ।’

‘राउत पक्ष पनि राष्ट्रको अखण्डतामा सहमत भएको छ। राज्यको यो व्यवस्थाले कुनै उपनिवेश बनाएको छैन। कतिपय बाँकी रहेका कुरा जनमत अभिमतमार्फत अपूर्णता र असन्तुष्टि लाई पुर्णता गर्न सहमत भएको छ।’ उनले भने, ‘स्वतन्त्र मधेशको मागलाई परित्याग गरेको छ।’

‘मधेशी जनताको अधिकारको निम्ति लोकतान्त्रिक प्रक्रियाबाट आन्दोलन अगाडि बढउन सक्छ। आफ्नो शक्ति बढाउन सक्छ। यसमा हामीले खुशी मनाउनु पर्ने उत्साहित हुनु पर्ने हो। विखण्डनको चुनौतीलाई राज्यले सफलता पूर्वक अवतरण गर्‍यो।’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell