PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

प्रधानमन्त्रीले प्रचण्ड र सीके राउतको तुलना गरेकोमा भीम रावल आक्रोशित, 'कसको स्वार्थमा सीकेसँग सहमति गरियो?'



प्रधानमन्त्रीले प्रचण्ड र सीके राउतको तुलना गरेकोमा भीम रावल आक्रोशित, 'कसको स्वार्थमा सीकेसँग सहमति गरियो?'
फाइल फोटो

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम रावलले सरकार र सीके राउतबीच भएको सहमतिमा असन्तुष्टि व्यक्त गरेका छन्। 

सरकार र राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले भने, ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ। तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए। उनले भने,‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्थ्यो। तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन।’

हिजो भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ। रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो? भन्दै सरकारलाई प्रश्न गरे। 


उनले यस्ता सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोखे। उनले भने,‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरूमार्फत आफ्नो मत प्रेषित गरेको थिएँ। हाम्रै पार्टीका साथीहरूले पनि भाषाहरू परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो । तर, सच्याइएन। पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ। एक दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो?’

उनले आफूले हिजोको ‘सहमति कार्यक्रम’ प्रत्यक्ष प्रसारणमा हेरेको सुनाउँदै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गरे। उनले भने,‘हाम्रो अध्यक्ष प्रचण्ड र सीके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो। देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो,  यसको जवाफ प्रचण्डजीले दिने हो?' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell