PahiloPost

Jul 15, 2019 | ३० असार २०७६


राजधानीमै बोक्सी भन्दै कुटाइ खाएकी रश्मीको पीडा - 'मुखबाट रगत बगुन्जेल पिटे, धन्न आची र सिस्नु भेटिएन'


स्वेच्छा राउत

राजधानीमै बोक्सी भन्दै कुटाइ खाएकी रश्मीको पीडा - 'मुखबाट रगत बगुन्जेल पिटे, धन्न आची र सिस्नु भेटिएन'
प्रतीकात्मक फोटो

गएको फागुन १४ गते रश्मी उपरकोटी महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन्। ३६ वर्षीया उपरकोटी प्रहरी परिसर पुग्दा उनको अनुहारभरि पोलेको दाग देखिन्थ्यो। शरीरभरी घाउ र नील डाम पनि उत्तिकै। आफूलाई माता बताउने कविता श्रेष्ठले ‘बोक्सी’ भएको आरोप लगाएपछि सुरु भएको यातनाले उनको स्वरुपलाई कुरुप बनाएको रहेछ। त्यसैले यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिन पुगेकी थिइन् त्यस दिन। घटना दुई दिनअघि अर्थात् फागुन १२ गते भएको रहेछ। पीडा त छँदैछ त्यसमाथि थपिएको डरका कारण उनी चुपचाप घरमै बसेकी थिइन्। दुई दिनपछि भेट्न आएकी दिदी सबिनाले उनको अवस्था देखेपछि आत्तिइन् र प्रहरीकहाँ ल्याएरै छाडिन्। 

***

तीन महिने छोरी च्यापेर सधैँका लागि गाउँ फर्कने निर्णय गरिन्, रश्मी उपरकोटीले। दोलखा मालुकी स्थानीय उनी काठमाडौं, न्युरोड बसेको तीन वर्ष भएको थियो। एक्लै बस्दै आएकी उनी केही समयअघिसम्म सहकारीको पैसा उठाउने काम गर्थिन्। काठमाडौंमा बस्न, खान पुगेको थियो। एक वर्षअघि गर्भवती भएपछि भने शहरको धुँवा धुलोबीच घरैपिच्छे पैसा उठाउँदै हिँड्न गाह्रो भयो। त्यसैले उक्त काम छोडिन् र ट्रेलरमा लुगा मिलाउने, प्याक गर्ने काम थालिन्। काम केही सहज थियो। पैसा पनि पहिलेभन्दा कम। जति बच्थ्यो जम्मा गरिन्, सन्तान जन्मिएपछि हुनसक्ने खर्चका लागि।

तीन महिनाअघि रश्मीले छोरीलाई जन्म दिइन्। खाएर, घर भाडा तिरेर अन्य खर्च कटाएर जम्मा गरेको पैसा सकिँदै गयो। एक्लै बस्दै आएकी उनले सुत्केरी हुनुलाई आराम गर्ने बहाना बनाउन पाइनन्। त्यसैले महिना दिन नबित्दै काममा जान थालिन्। एक्लो ज्यानलाई काम र छोरी एकसाथ सम्हाल्न सजिलो भने थिएन। त्यसैले छोरी लिएर गाउँ फर्कनेबारे सोचिन्। गाउँमा श्रीमान् छन्, छोरी स्याहार्न सजिलो हुन्छ भन्ने आशा थियो उनको।

फागुन १३ गते बिहानै गाडी चड्ने योजना बनाइन्। नजिकै डेरा गरी बस्ने देवर मिलन उपरकोटीको परिवारलाई थाहा थियो उनी घर जाने कुरा। देवरले नै १२ गते साँझ आफ्नोमै आएर बस्न आग्रह गरे। बिहान बसपार्कसम्म पुर्‍याइदिने भनेपछि रश्मी राजी भइन्। 

त्यसदिन बिहानैदेखि छोरी रोइरहेकी थिइन्। सामान पोको पार्ने, अन्य तयारी गर्ने होडमा छोरीको रुवाइलाई सामान्य लिइन्। साँझदेखि छोरीको त्यो रुवाइ अस्वभाविक बन्यो, आमाको दुध पनि पिउन नसक्नेगरी। छोरी कहालिएर रुन थालेपछि रश्मीले मन थाम्न सकिनन्, आफू पनि अत्तालिएर रुन थालिन्। त्यसपछि राति ९ बजेतिर उनलाई देवरसहित केहीले भीमसेनस्थानमा एकजना ‘माता’कहाँ लिएर गए। 

भीमसेनस्थानको एक घरमा रश्मीको इच्छा विपरीत भर्‍याङ उकालियो। पहिलो तलाको एउटा कोठा- भित्ता भरी विभिन्न देउताका फोटोहरु, अबिर र धुपको सुगन्ध आइरहेको थियो। डर र कमजोरीले थरथरी कामिरहेकी उनले कोठामा ६/७ महिनाअघि देखि चिनेको कविता श्रेष्ठलाई देखिन्। कविता श्रेष्ठ अर्थात् ‘माता’। उनी रश्मीकी देउरानीको भाउजुकी दिदी हुन्। चिनेको अनुहार देख्दा केही राहत मिलेको थियो उनलाई। तर, त्यहाँ पुग्ने बित्तिकै उनलाई ‘बोक्सी’को आरोप लगाइयो। उनीमाथि हातपात सुरु भयो। 

‘साँच्चै माता हुनुहुन्थ्यो भने केही समय पूजा पाठ गर्ने, जोखाना हेर्नुहुन्थ्यो होला। तर, पुग्नासाथ हात हाल्न थाल्नु भयो, मलाई त योजना बनाएरै त्यहाँ पुर्‍याए जस्तो लाग्यो,’ उनी त्यो कहाली लाग्दो क्षण सम्झिइन्, 'पिट्ने अनि हेर्ने सबैले म होसमा छैन भन्ने ठाने तर म पूरा होसमा थिएँ। मलाई सबै कुरा याद छ।' 

उनलाई सुरुमा कुच्चोले हानियो। त्यसपछि ‘कति जना खाइस्?’, ‘कतिलाई भेदिस्?’ बोल् बोल् भनेर प्रश्न गरियो। कविता श्रेष्ठले हान्ने, प्रश्न सोध्ने र वरपर दश, बाह्रजना मुक दर्शक बन्ने क्रम जारी रह्यो। उनले आफू बोक्सी भएको नस्वीकारेपछि लात्ता र थुकको प्रहार हुन थाल्यो। रश्मीले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, 'मैले आफू बोक्सी होइन, कसैको केही बिगारेको छैन भन्ने बाहेक केही गर्न सकिँन। त्यसैले केही बेरमा माताले कसैलाई दिसा ल्याउन अह्राउनु भयो, कसैलाई सिस्नो खोज्न। उहाँकै छोरीले पन्यु तताएर ल्याउन सघाइन्।' 

पन्यु एउटा मात्र तताइएन। तीन चारवटा थियो, एउटाले डाम्दै गर्दा अर्को तताएर ठीक्क पार्ने। अनुहार, हात, खुट्टा, पैताला, पेट कतै बाँकी राखेनन्। मुखबाट रगत बगुन्जेल कुटेको सुनाइन् उनले। नौ बजे पुर्‍याइएकी उनलाई रातको एक बजेसम्म यातना दिइयो। देवरले नकुट्न आग्रह गरेका थिए। तर, उनकै लाजले रश्मीले आफू बोक्सी हुँ भन्ने नस्वीकारेको भन्दै बाहिर पठाइयो। र, झन् बढी प्रहार गरियो।

‘माताको त अन्धविश्वास होला। १२ कक्षासम्म पढेको उहाँकी छोरी, त्यत्रो व्यवसाय, जिम्मेवारी सम्हालेर बस्नेहरुको मनले चाहिँ कसरी सकेका होलान् त्यो अत्याचारमा साथ दिन?,’ उनीसँग केवल प्रश्न छन्। भन्छिन्, 'धन्न आची र सिस्नुभेटिएन। माताले कसैलाई दिसा आएको छ भने ट्वाइलेट गएर ल्याउन भनेको पनि प्रष्टै याद छ।' 

त्यहाँ उनलाई देवरका ६ वर्षीय छोरो भेदेर खुट्टा नचल्ने बनाएको आरोप लगाइयो। आफ्नी बहिनीको कारखाना बन्द गर्नुमा पनि रश्मीकै तन्त्रमन्त्र रहेको निस्कर्ष निकालियो। अरु त अरु रश्मीले आफ्नो पहिलो सन्तान छोरा ‘खाएको’ बताइन् माताले। जबकि उनको पहिलो सन्तान नै छोरी हो।

रश्मीलाई भूत प्रेत, धामी झाँक्रीमा विश्वास लाग्न छोडेको धेरै भइसकेको थियो। जसको फेर दुई वर्षअघि राजकुमार उपरकोटीसँग विवाह गर्नुसँग जोडिएको छ। उपरकोटी क्रिश्चियन हुन्। उनकै आग्रहमा रश्मी पनि मन्दिर, धामी, झाक्री वा माताकोमा धाउन छाडिन्। आफ्नो विश्वास नरहे पनि अरुको अन्धविश्वास र शंकाको शिकार बनिन् उनी। 'चुप लाग्नु, सहनु, अरुले जे भन्यो त्यही मान्नु भनेको कमजोर हुनु रहेछ। म एक्लो र कमजोर हुनुको फाइदा उठाए। मलाई मर्ने स्थितिमा पुर्‍याएर छोड्नेहरुको सबै चिज राम्रो होस्,' उनले भनिन्। 

दुई दिनपछि दिदी सबिना भेट्न नआएको भए रश्मी सायदै प्रहरीकोमा पुग्थिन्। गएर जाहेरी दिएपछि प्रहरीले माता भनिने कविता श्रेष्ठ र रश्मीलाई माताकोमा पुर्‍याउनेको खोजी गर्‍यो । उक्त दिन ४६ वर्षीया कविता दिनभर फरार रहिन्। रातको ८ बजे बहिनी पर्ने एक महिलाको कोठामा भेटिएपछि प्रहरीले पक्राउ गर्‍यो । कानुनले कसैलाई बोक्सीको आरोप लगाउने र उक्त आरोप लगाएर गाली गर्ने तथा यातना दिने कार्यलाई बन्देज गरेको भए पनि उनले रश्मीलाई बोक्सी नै हो भन्न छाडिनन्।

बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजाय ऐन२०७२ का अनुसार कसुर गर्ने व्यक्तिलाई ६ महिनादेखि २ वर्षसम्म कैद र पाँच हजारदेखि २० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

*** 

रश्मीको पीडा र अफ्ठ्याराहरुको श्रृङ्खला, बोक्सीको आरोप खेप्नु र यातना पाउनुबाट सुरु भएको भने होइन। काठमाडौंमा एक्लै बस्नु, गर्भावस्थादेखि सुत्केरी हुँदासम्म कारखानामा काम गर्नु, अहिले गाउँ फर्किनुमा पनि बेग्लै व्यथा छ, बाध्यता छ।

उनी राजकुमारकी दोस्रो श्रीमती हुन्। पहिलो विवाह भएको बाइस वर्ष पुग्दासम्म सन्तान नजन्मिए पछि राजकुमारले रश्मीसँग विवाह गरेका हुन्। पहिलो भेटमै नजिकिएका उनीहरुले रश्मीको परिवारसँग अनुमति मागेर विवाह गरे। ‘उहाँले भन्नु भएको थियो, समाजको लागि पनि सन्तान चाहिँदो रहेछ। तिमीसँग त्यसैले विवाह गर्न लागेको,’ रश्मी आफ्नो पीडाको कुरा पनि सहजै सुनाउँछिन्, 'मसँग विवाह भएको कुरा उहाँको पहिलो श्रीमतीलाई थाहा थिएन। थाहा पाए घर छोडेर जानुहुन्छ भन्ने डर थियो।' 

श्रीमानले माया गर्ने मान्छे घर छोडेर जाओस् भन्ने उनी चाहन्न थिइन्। त्यसैले चुपचाप काठमाडौंमा रहिन्। संघर्ष गरेर बसिन्। एक्लो ज्यान रहँदासम्म समस्या थिएन। छोरी जन्मिएपछि केही गाह्रो भयो। त्यसपछि श्रीमानको साथ, सहयोग, मायाको अभाव महसुस गरिन्। र, घर फर्कने तयारी थालिन्। 

उनलाई थाहा थिएन घरमा अवस्था कस्तो हुन्छ? श्रीमान र उनकी जेठी श्रीमतीले कस्तो व्यवहार गर्छन्? त्यसैले काठमाडौंमा भएका सामानहरु बेच्ने, कोठा छाड्नतिर लागिनन्। केही महिना बस्ने दैनिकी सामान्य चले उतै बस्ने नभए फर्कने योजना थियो उनको।

तर, गाउँ फर्कनुअघि नै बोक्सीको आरोप खेप्नु पर्‍यो, उनले। दिदीहरु भेट्न नआएको भए उनी प्रहरीकोमा पुग्दैन थिइन्, उजुरी पनि दिँदैन थिइन्। ईसाइ धर्म मान्ने श्रीमानले पनि ‘माता’ले अलिअलि पिट्नु भएको होला, छोड्देउ आफैलाई गाह्रो होला’ भन्ने सुझाव दिएका थिए। श्रीमानका हरेक सुझाव मान्दै आएकी उनी यस्तो निर्मम दुर्व्यवहार पनि सहेरै बस्थिन्। 

उनी डेरा गरी बस्दै आएको घर कविता श्रेष्ठकी बहिनी पबित्राको हो। रश्मीले उजुरी हालेपछि पबित्राले उनलाई मुद्दा फिर्ता लिन सुझाएकी थिइन्। ‘फिर्ता नलिए तै फस्छेस्। लाखौं खर्च लाग्छ कहाँबाट ल्याउँछस्? भन्नुभयो,’ उनले पाएको धम्की सुनाइन्।

पबित्राको त्यही प्रश्नले उनलाई अत्यायो। त्यसैले कविता समातिएको भोलिपल्टै गाउँ गइन्, आलो घाउ, गह्रौं मन र छोरी लिएर। श्रीमानको आड भरोसाको आशासहित। ‘तर एकातिर म अर्कोतिर उहाँको भाइको आफन्त। बुढालाई नि यस विषयमा बोल्न गाह्रो भएको छ,’ उनी आफ्नो कुरा राख्छिन्। 

रश्मीले एक्लै भए पनि पीडकलाई सजाय दिलाउने अठोट त लिइन् तर आफूसँग पैसा नहुनुले अप्ठ्यारो पार्छ भन्ने थाहा पाएर काठमाडौं आउन सकेकी छैनन्। ‘पिटाइ खाएदेखि पेट दुख्न छाडेको छैन। बाहिरी घाउ त वीर अस्पतालमा जचाइयो। भित्र केही असर गर्‍यो कि भन्ने बुझ्न जचाउन जान पाएको छैन,’ उनी समस्या सुनाउँछिन्, 'अभाव त यस्तो बेलामा खड्किने रहेछ। बिहान बेलुका खानै मात्र त सुत्केरी हुँदा पनि काम गरेकै थिएँ। कमाएकै थिएँ।' 

गाउँमा गएपछि तनाव कम भएको छैन। दोस्री श्रीमती हुन् त्यसैले बिहे दर्तामा समस्या पर्ने सुनाएका छन्। अनि त्यसमाथि छोरीकै जन्म दर्ता कसरी गर्ने भन्ने पिरलो पनि छ। विवाह दर्ता नभए छोरीको जन्म दर्ता नहुने। विवाह दर्ता, जन्म दर्ता नभए कानूनी समस्याहरु झेल्न पर्नेबारे सुनेपछि थप तनाव थपिएको छ। भन्छिन्, 'यताको काम झनै अप्ठ्यारो रहेछ। जसको लागि सकेको गर्छु। नसके पीडित महिलाको लागि काम गर्ने संस्था गुहार्छु। तर, अहिले मलाई मार्न खोज्नेहरुलाई सजाय दिलाउनु छ।' 



राजधानीमै बोक्सी भन्दै कुटाइ खाएकी रश्मीको पीडा - 'मुखबाट रगत बगुन्जेल पिटे, धन्न आची र सिस्नु भेटिएन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट