PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रेशम चौधरीको फैसलापछि टीकापुरमा हाइ अलर्ट: थारुहरु प्रदर्शनको तयारीमा, 'हिजोबाटै सुरक्षा व्यवस्था कडा'



बीपी साह

रेशम चौधरीको फैसलापछि टीकापुरमा हाइ अलर्ट: थारुहरु प्रदर्शनको तयारीमा, 'हिजोबाटै सुरक्षा व्यवस्था कडा'
फाइल फोटो: record nepal

काठमाडौं: टीकापुर घटनामा मुछिएका सांसद रेशम चौधरीसहितको फैसला आउनुअघिदेखि नै टीकापुरको सुरक्षा व्यवस्था कडा पारिएको थियाे। हिजोदेखि नै टीकापुरको सडकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियाे भने कुनै प्रदर्शन अथवा घटना भए थप सुरक्षाकर्मी बोलाउने तयारी गरिएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिबहादुर विष्ट भन्छन्,‘अहिलेको सुरक्षा व्यवस्था शान्त छ। सुरक्षाकर्मी अर्लट छन्। थप सुरक्षा व्यवस्था मिलाएका छौं।’

हुन त टीकापुर बजारमा थारुहरुको बाहुल्य छैन। तर टीकापुर आसपासका गाउँबाट थारुहरु टीकापुर प्रवेश गर्ने सम्भावना रहेकोले त्यस आसपासमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

तर, जिल्ला अदालत कैलालीको फैसलासँगै टीकापुर आसपासका थारु अगुवाहरु सक्रिय भएका छन्।

पहिलोपोस्टलाई टीकापुरबाट एक थारु अगुवाले दिएको जानकारी अनुसार रेशम चौधरीका समर्थकहरुले प्रदर्शनको तयारी थालेका छन्।

राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रको निर्णय कुरेर बसेका उनीहरुले प्रतीकात्मक रुपमा भएपनि प्रदर्शन गर्ने तयारी गरेका छन्।

‘थारुहरु झनै डराएका छन्। मानव अधिकारकर्मीहरु पनि थारुको मुद्दा बोल्ने खालका छैनन्। त्यसकारण ठूलो संख्यामा विरोधको सम्भावना कम छ,’ ती अगुवाले भने,‘सुरक्षाकर्मी पनि बाक्लो रुपमा छ। बजारतिर थारुहरुलाई अहिले पनि कठिन छ। आजको साँझ झनै अप्ठेरो पर्ने देखिन्छ।’

टीकापुर घटनामा मुछिएकाहरुलाई सजाय दिइएको भन्दै गैर थारुहरुले खुशियालीमा प्रदर्शन गर्न सक्ने सम्भावना पनि रहेको उनले बताए।

यता सांसद रेशम चौधरीका बुबा लालबिर चौधरीले न्यायका लागि माथिल्लो अदालत जाने बताए।

‘हामी न्यायाका लागि माथिल्लो अदालत जान्छौं,’ पहिलोपोस्टसँग चौधरीले भने,‘अदालतलाई सम्मान गर्छु तर यो फैसला न्यायपूर्ण छैन।’

उनले रेशमका समर्थकहरुले सांकेतिक प्रदर्शन गर्ने सम्भावना रहेको इंगित गरे। अहिले क्षेत्रका सबै ठाउँमा अदालतको फैसलाबारे जानकारी पुग्न नसकेकोले खासै प्रतिक्रिया नदेखिएको चौधरीले बताए।

२०७२ भदौ सात गते थरुहट राज्यको माग गर्दै थारुहरुले प्रदर्शन गरिरहेका थिए। सोही क्रममा टीकापुर नगरपालिकामा थरुहट प्रदेश शब्द लेख्ने तयारी थियो। जसका लागि टीकापुर आसपासका थारुहरु टीकापुरमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो।

झडपमा एक जना बालक र ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। त्यसपछि सुरक्षाकर्मीको यातनाबाट साकिराम चौधरीको मृत्यु भएको थियो।

थारुहरुको प्रदर्शन पछि टीकापुर बजारमा रहेका थारुहरुको बस, होटेल र रेडियोमा आगजनी भएको थियो।

उक्त घटनामा आज जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ भने १२ जनालाई ३ वर्ष कैदको फैसला सुनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell