PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ओहो ! नेपालीको युरोप दुखाई



पहिलोपोस्ट

ओहो ! नेपालीको युरोप दुखाई

  • दीपक देवकोटा - 

स्वप्नदर्शी नेपाली युवाहरुका लागि मात्र होइन, संसारका विभिन्न महादेशका विकासोन्मुख र विकासशील मुलका मानिसहरुका लागि पनि युरोप एक सपनाको संसार हो। भौतिक तथा मानवीय विकासका सुचकहरुले युरोपेली जीवनलाई एक आधुनिक स्वर्गका रुपमा चित्रित गराउन खोजे झैं देखिन्छ। त्यसैले युरोपेली देशहरुमा जान र त्यो “स्वर्ग”को प्रत्यक्ष अनुभव गर्न चाहनेहरु संसारमा धेरै छन्।

त्यस्तैमध्ये धेरै नेपाली पनि युरोपका विभिन्न देशमा पुगेका छन्। त्यस्ता नेपालीका सफलताका कथा गैरआवासीय नेपालीका आर्थिक आकाङ्क्षाहरु तथा उनीहरुका अनुभवहरु बनेर विभिन्न माध्यममार्फत् प्रशस्त छरिएका छन्। तर, त्यहाँभित्र नेपालीले भोगेका दुःखका अनेक रुप र वेदनाका अनेक कहानी भने खासै बाहिर आउँदैन। यहाँभित्र नेपालीका अनगिन्ती पीडा र वेदनाहरु लुकेका छन्।

नेपालीहरु एउटा देशमा बस्ने वैधानिक कागज नभएपछि अर्को देशमा हुन्छ कि भन्दै लुकीलुकी जाँदा रहेछन्। सीमा क्षेत्रमा पक्राउ परिएला भन्ने उस्तै त्रास। पक्राउ परेमा कि त सिधै विमान चढाएर नेपाल डिपोट नभए जताबाट आएको हो उही देश फिर्ता। कोहीकोही भने जेलै चलान। यत्रो जोखिम भए पनि सोचेजति रकम जुटाउने हैसियत नबनाई कसरी घर फर्कनु? जाँदाको ऋण चुक्ता गर्न नसकेपछि आफ्नै परिवार र नातागोताहरु पनि बैरी हुनु स्वभाविक हो। कसैले त ८/१० वर्ष बस्दा पनि एक पैसा बचाउन सक्दा रहेनछन्। त्यसैले बाहिर हाँसे पनि भित्रभित्रै अनगिन्ती रहेछन् उनीहरुका पीडा र व्यथाहरु। 

यहाँको स्थिति हेर्दा भर्खरै चर्चामा आएको गीत “पैसा होइन पासो छ परदेशमा” भन्ने गीतको याद दिलाउँछ। वैधानिक कागज हुनेहरुका लागि त केही सहज छ तर जोसँग छैन, उनीहरुसँग पीडाको श्रृंखला छ। पहिलो कुरो कागज नहुनेले काम पाउन गाह्रो। काम पाइहाले भने पनि भाषाको समस्याका कारण नेपालीकै व्यवसायहरुमा काम गर्नुपर्ने स्थिति। काम पाए पनि पूरा पैसा पाउँदैनन्। यहाँ नेपालीले नेपालीलाई नराम्रोसँग ठगिरहेका छन्। नेपाली दलालहरु छ्याप्छ्याप्ती भेटिन्छन्, गल्लीगल्लीमा। दैनिक १०/१२ घण्टा काम गर्‍यो, बिहान उठ्यो काममा गयो, बेलुका आयो सुत्यो। दिनचर्याहरु यसरी नै बितेका छन् नेपालीहरुको। तर, पनि फुर्सदको समय मिलाएर सुकिलो लुगामा चिल्लो बाटो र अग्ला भवनहरुको अगाडि बसेर मुसुक्क मुस्कुराएको फोटो फेसबुकमा अपलोड गर्दियो, अनि नेपाल बस्नेले सोच्छन् - त्यसले त जिन्दगी बनायो।

ठाउँमा पुगेको छ। त्यहाँ बस्नेले यहाँको भोगाई र पीडा कसले देखेको छ र? रोएको र दुःख पाएको फोटो कस्ले घर पठाउँछ र? फोटो त हाँसेकै पठाउँछन्। अनि सबैले मोजको जिन्दगी छ भन्ने नै सोच्छन्। जब भिजा लाग्छ मान्छेहरु सोच्ने गर्छन् कि अब मोजको जिन्दगी सुरु भयो। रमाइलो हुनेछ। तर, त्यस्तो होइन, जब मान्छे विदेशमा पाइला टेक्छ उसका दुःखका दिन सुरु हुन थाल्छन्। मोजमस्ती र रमाइलो त नेपालमै जति गरियो गरियो। विदेश पसेपछि सबै सकियो। हप्ता दिनसम्म मरेर काम गर्‍यो एक दिन छुट्टी हुन्छ त्यो पनि हप्ता दिनको थकाइ, सुतेरै बित्छ। के को घुम्नु, के को रमाइलो गर्नु? तर, पनि नेपालमा हुने साथीहरु यस्तो किसिमको म्यासेजहरु पठाउँछन्­

के छ खबर, खाना खाइस्?

हाम्लाई त बिर्सिस् त यार।

भिषा पठा न यार।

पैसा कमाएसी तेरो भाउ बढेछ त।

अनि केटीहरु कत्तिको पाइन्छ त?

खुब मोज गर्‍याछस् है, तेरै छ दिन 

अहिले त्यहाँको कति बज्यो?

अलिकति पैसा पठाइदेन यार। 

पैसा भयन्कर कमाइस् होला, कतिको बचाको छस्?

आउँदा मलाई मोवाइल इत्यादि ल्याइदे ल।

अनि त्यसपछि झन् पीडामाथि पीडा थपिन्छ। कुनै म्यासेज रिप्लाई गरेन भने सोच्न थाल्छन् कि विदेश गएपछि ठूलो पल्टियो। यहाँ कतिपय नेपालीहरु १९/२० वर्षको कलिलो उमेरमा आएर यहीँ बुढ्यौलीमा पुगेका छन्। सकृय उमेर विदेशमा बिताए। अब नेपाल कुन मुखले के गर्न जाने? उनीहरुलाई बहुत पीडा छ। नेपाल फर्कने मन सबैलाई हुन्छ। तर, उनीहरु जब विदेश पसे, त्यसपछि यहीँको परिवन्धमा फसे। रातो पासपोर्ट र पिआरको चक्करमा कमाएको पैसा र युवा उमेर यहीँ बित्यो। बुढेसकालमा कार्ड त हात पर्‍यो तर कमाउन सक्ने सकृय उमेर पनि सकियो। 

'नेपाल गएर नि केही गर्न सक्ने होइन। सबै बिरानो भइसके। बाँच्न नेपालमा झन् गाह्रो छ त्यसैले यहाँ त कार्ड भएपछि खान बस्न त सरकारले व्यवस्था गर्दिन्छ।' 

त्यसैले यतै हराएका छन् कतिपय नेपालीहरु। तर, उता बस्नेले सोच्छन् विदेशको मोजमस्ती र हावापानीले गर्दा उतै भुल्यो। कस्ले बुझ्ने वास्तविकता? चाहेर भुलेको हो कि जंजिरमा अल्झिएको हो? त्यसैले जो विदेश छिर्नु भएको छ ती साथीभाइहरुलाई म एउटा सुझाव दिन चाहन्छु- तपाईँहरु केका लागि आउनु भएको हो, जति नै समय लागोस् तर आफ्नो उद्देश्य पूरा गर्नुहोस्। ढिलोचाँडो समय लाग्ला।

यहाँको वातावरणमा संर्घष गर्दै लक्ष्य प्राप्त गर्न केही चुनौती अवश्य होलान् तर पछि नहट्नुस्। पढ्न आउनेहरु २ वर्षमा सक्नुहुन्न ४ वर्ष लगाउनुस् तर पढाइ पूरा गर्नुहोस्। त्यसपछि नेपाल फर्किन मनलाग्दा कुनै पनि बेला हिनताबोध नगरी फर्किन सकिन्छ। यहीँ राम्रो अवसर भेटिएर मनलाई सन्तुष्टि दिलाउन सकिन्छ भने पनि राम्रै भयो। तर, आफूलाई भित्रभित्रै मारेर यहाँको वातावरणमा जबरजस्ती ज्यून बाध्य नपार्नुहोस्। जीवन सम्झौता होइन, संघर्ष हो। जीवन भनेको सिकाइ हो। कहिल्यै पनि जीवनलाई सम्झौतामा ज्यूनु हुन्न। सम्झौताले मानिसमा पश्चाताप, हिनताबोधमात्र सिर्जना गर्दछ। विदेश बसाइ र भोगाइलाई एउटा शिक्षा र सिकाइका रुपमा ग्रहण गर्न सक्नुपर्दछ। 

यहाँ पढ्न आउने तयारीमा रहेका भाइबहिनीहरुलाई मेरो सानो सुझाव- तपाईँहरु सांच्चिकै पढ्न आउन लाग्नु भएको हो कि छिर्न पाएमा सके पढौंला नत्र कार्ड बनाएर बसौंला भन्ने सोचले आउन लाग्नुभएको हो? छिर्ने मात्र सोचले आउनु भएको हो भने त त्यति पछुतो नहोला, पढ्न नसक्दा। होइन, कोही पढ्ने नै उद्देश्यले आउन लाग्नु भएको हो भने के सुझाव दिन्छु भने तपाईँले नेपालमा एक लेभलको पढाइ पूरा गरेर राम्रो अंकसहित बाहिर पढ्न चाहेको हो भने राम्रो हो। होइन नेपालकै पढाइ पास गर्न नसक्नेले अर्काको देशको भाषा सिकेर उक्त भाषामा पढेर डिग्री लिन्छु भन्ने सपना बोकेर आउन लाग्नु भएको भए त्यो सपना त्याग्नुस्।

हामी नेपालीले नेपालमै पढ्न अल्छी गर्नेले नेपाली भाषमै पढ्न नसक्नेले अर्काको देशको भाषामा पढेर उत्तिर्ण गर्ने कुरा कोरा कल्पना मात्र हो। त्यस्ता महत्वाकांक्षी सपना बोकेर आउने युवा जमात यहाँ धेरै छ। उनीहरुको पीडा थप भनिरहनु नपर्ला।

विभिन्न माध्यमबाट धेरै पहिले आएका यहाँका कतिपय नेपालीहरुले विदेशीसँग घरजम गरेर बसेका छन्। तर, अधिकांशको डिभोर्स भएको छ। उ बेला कार्डको चक्करमा बिहे गरे। तर, यहाँका मानिससँग हामी नेपालीहरुको न रहनसहन न खानपिन नै मिल्छ। केही पनि मिल्दैन भने कसरी सँगै जीवन चल्दो हो र? अनि हुन्छ डिभोर्स। यहाँकोसँग डिभोर्स भयो अब नेपाल गएर विवाह गर्न पनि उमेर ढल्कियो। अनि तनावको जिन्दगी सुरु हुन्छ।

विदेशीबाट जन्मिएको बच्चा त छ तर यिनीहरुलाई के मतलब बाउ आमाको? १८ वर्ष पुगेपछि आफ्नै स्वतन्त्र जीवनमा रमाएका छन्। हाम्रो नेपालमा त बाउ आमाले छोराछोरीलाई छोडेर गए भने टुहुरा हुन्छन्। तर यहाँ त छोराछोरीले बाबुआमालाई जिउँदैमा टुहुरो बनाएर हिँड्छन्। बाबुआमा पनि डिभोर्स गरेर छुट्टिएपछि उनीहरुको सहारा को त? मनको कुरो पोख्ने कोसँग? जीवनको साथी को त? त्यसैले युरोपियनहरुको सबैभन्दा नजिकको साथी भनेको कुकुर हुन्छ। जब एक्लै हुन्छन् अनि कुकुरलाई सहारा बनाएर पाल्छन्। प्राय: युरोपियनहरुले घरमा कुकुर पालेका हुन्छन्। आफ्नो एक्लोपनको सहाराका लागि। 

यस्तै छ युरोपियन जिवनशैली। सबैले बुझौं र मनन गरौं।

(गोरखा, हाल युरोप)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell