PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गीतबाट गुमनाम, व्यवसायले व्यस्त, अर्थात् अनिल सिंह : होलान् त म्युजिकमा कमब्याक?



रीना मोक्तान

गीतबाट गुमनाम, व्यवसायले व्यस्त, अर्थात् अनिल सिंह : होलान् त म्युजिकमा कमब्याक?

कक्षा ९ मा पढ्थे अनिल सिंह। त्यतिखेर साथीहरुको लहलहैमा लागेर ‘शिखर बिट कन्टेस्ट’मा सहभागी हुने भए। प्रतिस्पर्धामा सन् १९९९ ताका चिनिएका ब्याण्डहरु थिए। आत्मविश्वासका साथ भाग लिएको थियो उनको स्कूले ब्यान्डले। 

दशरथ रंगशालमा कार्यक्रम सम्पन्न भयो। अनिलको टिमले दोश्रो उपाधी हात पार्‍यो। २५ हजार नगद पनि जिते। ब्यान्डका सबैले पैसा भाग लगाए, तीन चारवटा गीत रेकर्ड गराउन पुग्नेगरी।

अनिलले पहिलो गीत 'ड्रिम गर्ल' रेडियो नेपालमा रेकर्डिङ गराए। त्यतिखेरको अवस्थालाई  नोस्टाल्जिक हुँदै सुनाउँछन् उनी, 'कक्षा १० मा हुँदा खेरी नै गीतको रेकर्डिङ सुरु गरेको थिएँ। त्यहीबेला, विद्यालको छुट्टीमा १५ दिनको लागि जीतपुर गाउँ घुम्न गएका थियौं। फर्कंदा, गीत हिट भइसकेको थियो।' 

साथीहरुकै संगतले नै उनलाई प्रतियोगितासम्म डोर्‍यायो। त्यतिखेर युवाहरुमा ब्याण्ड बनाउने ट्रेन्ड नै चलेको थियो। 

एउटा गीत बनाउन पाँचदेखि दश हजारसम्म लाग्थ्यो, घण्टाको हिसाबमा गीत रेकर्ड गरिन्थ्यो। 

उनले एकपटक पाँच घण्टामा दुईवटा गीत रेकर्ड गराए। 
'पैसाको कमीले गर्दा स्टूडियोको पाँच घण्टाको समय किनेँ। त्यही दिन दुईवटा गीत तयार पारेको थिएँ,’ हाँस्दै सम्झिए। 

स्टुडियोका रेकर्डिस्टहरु अचम्म मान्थे, सोह्र सत्र वर्षे केटोको जोश देखेर। गीत लिएर गायकहरु एफएम स्टेसन धाउने समयमा उनका गीत रेडियोका प्रस्तोता आफैँले बजाइदिन्थे। आफ्ना गीतलाई एफएममा सुनेर दंग पर्थे अनिल। 

'डुब्न देउ मलाई तिम्रो केसमा,' 'इन्जिन गाडीमा', 'आइ लभ यू', 'वील यू म्यारी मी', 'मैले जानी सकेँ', 'अर्काकी तिमी', 'प्रेमिका...' उनका गीतहरु लगालग हिट भए। 

'प्रेम पत्र' बोलको गीत सार्वजनिक गर्दा म्युजिक भिडियोको प्रचलन बढेको थियो। गीतको अडियोसँगै भिडियो पनि आयो जसलाई धेरैले रुचाए।  

गीत चल्न गाह्रो अवस्थामा उनको गीतहरु भने ब्याक टू ब्याक हिट भए।

पप संगीतको क्षेत्रमा चिनिएका उनी सानैदेखि संगीत सिक्थे। काठमाडौंको डिल्लीबजारमा जन्मिएका अनिल ग्यालेक्सी स्कूलमा पढ्दा कुन्ती मोक्तान उनकी संगीत गुरु। 

कतिपटक संगीत कक्षामा उनी अनुपस्थित देखिँदा कुन्तीले उनलाई खोज्ने गरेको सम्झना आज पनि ताजै छ उनको मनसपटलमा। 

'मलाई क्लासमा देख्नु भएन भने कुन्ती म्यामले खोजेर सजाय दिएर भए पनि संगीत सिकाउनु हुन्थ्यो। भोकलको कक्षा हप्ताको दुई तीन दिन हुन्थ्यो। मैले ३ वर्ष नोटेसन र २ वर्ष क्लासिकल संगीत पढ्ने मौका पाएँ,' उनले भने। 

विद्यालको अतिरिक्त क्रियाकलापमा उनको पहिलो रोजाइ नै संगीत हुने गर्थ्यो।   

यद्धपि, संगीतमा उनी त्यति गम्भीर थिएनन्। 'झुक्किएर, हुन्छ कि ठोक्किएर, जे होस् चाहेर नचाहेर संगीतमा लागेँ। मैले प्रोफेसनल्ली या सिरियस्ली म्यूजिकमा लाग्छु भनेर सोचेको थिइनँ। रमाइलाका लागि गाउथेँ।‘ 
गीत हिट हुनथालेपछि स्टेज सोको मौका पाए उनले। दर्शकदीर्घामा कुन्ती मोक्तान देख्दा उनको छाती गर्वले चौडा हुन्थ्यो। 

सन् २०१५ ताका उनी संगीत क्षेत्रबाट टाढा रहे। मिडियामा पनि त्यति देखिएनन्। उनको चर्चा एकाएक कम भयो।

‘केही वर्ष टाढा बसेर आफ्नो क्षेत्र हेर्ने रहर लाग्यो,’ सधैँ पप विधाका गायनलाई अघि बढाएका उनले २०१५  तिर पपमा आएका नयाँ पुस्तालाई नियाले। भने, 'कमल खत्री, हेमन्त राणा, नितेश जंग, इन्दिरा जोशी, धर्मेन्द्र सेवनले पप विधालाई अघि बढाए। नत्र त अहिले पपलाई माया गरेर आएका कमै छन्।' 

संगीत क्षेत्रमा बुझेर आउनुपर्ने बताउँछन् उनी। ‘बुझेर आएका नयाँ पुस्ताले नेपाली संगीतमा नयाँ कुराहरु माथि ल्याएका छन्,' उनको निष्कर्ष। 

२०१९ बाट भने अनिल व्यापारमा सक्रियरुपले लागेका छन्। उनी संगीत क्षेत्रबाट टाढा त छैनन् तर, आयाम फेरिएको छ। 

हाल उनी मध्य बानेश्वरको सेन्ट्रल क्याफे रेष्टुराँमा आवद्ध छन्। त्यस्तै डिल्लीबजारमा फर्निचरको सोरुम मंगल डेकोर पनि छ उनको। उनी व्यवसायिक जीवनमा फोकस्ड छन्।

व्यापारमा सक्रिय भएसँगै उनलाई अहिले संगीतको लागि समय हुँदैन। 

'त्यतिखेर, संगीतप्रति हुटहुटी थियो। दिनमा एउटा गीत त कम्पोज गर्थेँ। अहिले त व्यस्तता बढेको छ। त्यो बेला एक्लै थिएँ। अहिले परिवार छ,' उनले वाध्यता सेयर गरे।

अब भने समय निकालेर म्यूजिकल टुर गर्ने तयारीमा छन् उनी। काठमाडौं र मोफसलमा उनी विभिन्न लाउन्ज टार्गेट गरेर टुर गर्दैछन्। उनलाई टुरमा भ्वाइस अफ नेपाल सहभागी अप्सरा घिमिरेले साथ दिँदैछिन्। टुरसँगै पप दोहोरीको फ्युजनसहितको गीत लिएर आउने पनि तयारीमा छन्। 'पियार भा'को केटा'बोलको गीतलाई उनी सार्वजनिक गर्ने अन्तिम चरणमा छन्। गत वर्ष उनले एनसेल र युनिलिभर एन्टिसीको टुर गरेका थिए। 
 
वर्षमा उनी समय मिलाएर स्टेज कार्यक्रममा प्रस्तुती दिन विदेश पनि पुग्छन्। त्यहाँ पप विधाका गीतलाई दर्शकले रुचाउँदा खुशी हुन्छन्।

अहिले पनि समय मिलाएर युट्युबमा नयाँ गीत सार्वजनिक गर्ने गर्छन्। तर,  ती गीतले पहिलाको जस्तो माइलेज पाउन सकेको छैन।

उनले आफ्नो युट्युब च्यानल मार्फत 'बहुमुल्य', 'कुर्नु कुराउनु', 'नेपाल', 'घान्द्रुक', 'ह्याप्पी न्यू इयर' जस्ता गीतलाई सार्वजनिक गरेका थिए। 

गीत नचले पनि दर्शक स्रोताको मायाले भने उनलाई अझै संगीतमा केही गर्न उक्साउँछ। देख्नासाथ सेल्फी खिच्न दर्शक/स्रोता झुम्मिन्छन्। 

‘मलाई स्रोताले नै जीवनमा आउने अप्स एण्ड डाउनलाई सहजै लिन सिकाए,’ भने, 'जिन्दगीमा लेभल चेन्ज हुँदो रहेछ। तर काम गरेर कमाएको मायाको लेभल उस्तै रहन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell