PahiloPost

Sep 23, 2019 | ६ असोज २०७६


रेस्लिङ रिङमा महिला : भगवती जसको जीवन नै रिङ र राउन्डबाट बाहिरिएन


सागर बुढाथोकी

रेस्लिङ रिङमा महिला : भगवती जसको जीवन नै रिङ र राउन्डबाट बाहिरिएन

महिलाहरु रिङमा भिडिरहेका छन्। दर्शकको हुटिङ बेजोड छ। 'ह्याण्डिक्याप रेस्लिङ' चलिरहेको छ। खेलाडीले लडाएर लक लगाउँदा एम्पाएर भुइँ ठटाउँदै भन्छन्, ... वान, टू, थ्री...।'

रिङ आकर्षक छ। एम्पाएर प्रोफेशनल। खेलाडी पनि उस्तै। दर्शको हुटिङको साथ कमेन्टेटर भन्दैछन्- भगवती भर्सेस् भगवती,  कस्ले मार्ला बाजी?... को होला बिजेता?

बाहिर चिसो भए पनि भित्री माहोल रनक्क तातेको छ। कस्ले जित्ने हो दर्शकमा उत्सुकता छ। उचाल्ने, पछार्ने र उडेर हान्ने रेस्लिङका डर लाग्दो 'स्किल' देखाउनेक्रम जारी छ।  कुटेको र कुटाइ खाएको दृश्यले दर्शकहरु नै डराउँछन्। तर, खेल अभि जारी है…।

अन्तत: खेलमा हारजित हुन्छ।  अम्पाएरले जित्ने खेलाडीको हात समाएर विजेता घोषणा गर्छन्। दर्शकको हुटिङसँगै जितको 'सेलिब्रेसन' हुन्छ।

यसरी नै तीन जोडी 'रेस्लर'हरुको छुट्टा छुट्टै राउण्डको खेल सकिन्छ।

यो बानेश्वरस्थित शान्तिनगरको एउटा घरको दृश्य हो।

नेपालमा व्यावसायिक रेस्लिङ! त्यो पनि महिलाहरुको?  धेरैलाई पढ्दा आश्चर्य लाग्न सक्छ। यथार्थ यही हो, नेपाली महिलाले रेस्लिङ खेल्न सुरु गरिसकेका छन्। रेस्लिङको रिङमा भिडिरहेकी भगवती खड्काले नै नेपालमा महिला रेस्लिङ सुरु गरेकी हुन्। तर, भब्य रिङमा जित हासिल र हौस्याउनेहरुको कथा जति रोमाञ्चक छ, त्यति नै कठीन छ उनीहरुको कथा। 

वाह वाह कमाइरहेको भए पनि संघर्षरत नै छन उनीहरु। अभाव दु:ख पीडासँग गुज्रिदै रिङमा रमाउनु सहज विषय होइन। खेलाडीले पाउने आधारभूत सुविधा उनीहरुसँग छैन। न डाइटको व्यवस्था, छ न कुनै तालिम। जे जति गरिरहेका छन्, आफ्नै खर्चमा। सबैका आफ्नै कथा व्यथा छन्, रेस्लर हुनुको।


***
नेपालको पहिलो महिला रेस्लर भगवती खड्का। उनकै प्रयासमा अहिले अन्य महिलाहरु रेस्लिङ खेल्न सक्ने भएका छन्। रेस्लिङ खेल्ने रिङ स्थापना भएको छ। तर, उनले यहाँसम्म आइपुग्न तय गरेको बाटो भने सजिलो छैन्।

अहिले रेस्लिङको रिङमा रमाइरहकी भगवतीको जीवन कुनै सिनेमाको 'दुखिया' पात्र भन्दा फरक छैन। अभाव, दवाव र संघर्ष उस्तै। उनको जीवन फिल्मी 'प्लट' झै लाग्छ।
 
२०५८ साल.....


जनयुद्ध उत्कर्षमा थियो। माओवादी 'कि धन चाहियो कि जन' भन्दै छ्यापछ्याप्ती। जनयुद्धलाई सहयोग गर्न सबैलाई दबाब हुन्थ्यो। हुनेले धन दिन्थे, नहुनेका लक्का जवान छोराछोरी। बा आमा लाचार भएर छोराछोरीलाई युद्धमा पठाउन वाध्य थिए।
विद्यालय गएका विद्यार्थीलाई उतैबाट उठाइन्थ्यो क्रान्तिका लागि। किताव फालेर बन्दुक बोक्नुपर्थ्यो। मिलिसिया बन्नुको विकल्प थिएन। प्रतिकार गर्ने हिम्मत कोसँग होस्? 

रामेछापको गेलु गाउँमा पनि माओवादीको बिगबिगी। तन्नेरी/तरुनी उमेरका सबै माओवादीको टार्गेटमा परेका थिए। भगवती पनि तरुनी हुँदै थिइन्। स्कुल पढ्दै गरेकी अन्य केटीहरुभन्दा बलियो पनि। 'ज्याङ्गो' भन्थे सबैले। माओवादीका स्थानीय लडाकुले उनमा आँखा गाडिसकेका थिए। 

'कि त २ लाख दिनु कि त तपाईँकी छोरी हामीसँग पठाउनु।' 

माओवादीहरुले भगवतीका अभिभावकलाई धम्क्याए।

सानो किराना पसल चलाएर घरखर्च धान्दै आएका बुबाले २ लाख कहाँबाट झिक्नु? आम्दानीको अन्य स्रोत केही थिएन।  भारी ब्याजको ऋणमा डुबेकाले एक पैसा दिन सकेनन्। लगत्तै माओवादीले पसल बन्द गराइदिए।

उनीहरुको ‘अत्याचार’ त्यत्तिमै रोकिएन्। भगवतीलाई नलगी नछोड्ने भए। नगए ज्यान जोगाउन मुस्किल। भगवती बन्दुक बोक्न बाध्य भइन्। तर, माओवादीमा उनको मन के रमाउथ्यो? तीन महिनापछि भागेर घर आइन्।

घर फर्केपछि माओवादीसँगै सेनाबाट पनि उनीलाई खतरा थियो। दुवै पक्षले जुनसुकै बेला जे पनि गर्न सक्थे। तर, उनी डराइनन्, 'मर्नु परे मरौंला' सोचेर फेरि स्कुल जान थालिन्।

२०५० साल... 


सानैदेखि हक्की स्वाभावकी उनीसँग उनकै साथीभाइ डराउँथे। कसैले हेपे प्रतिकारमा उत्रिन्थिन्। विद्रोही स्वाभाव विकास भएको थियो सानैदेखि।

रामेछापको गेलु गाउँमा छोरीहरुलाई स्कुल पठाउने संस्कार विकास भइसकेको थिएन। ‘अर्काको घर जाने जात किन पढ्नुपर्यो?’ प्रश्नका तगेरा आइलाग्थे। तर पनि जिद्धिवाल भगवती स्कुल गइ छाडिन्।

पढ्न गएकी उनी स्कुलमै फाइट गर्न लागिन्। केटाहरुले जिस्काए गाला पड्काइदिन्थिन्। साथीहरुलाई कसैले केही गरे उनलाई 'कम्प्लेन' गर्थे। उनी गएर भिँडिहाल्थिन्। स्कुलका अधिकांश फटाहा केटाहरुले उनको राम धुलाई खाइसकेका थिए। सबैलाई कुट्न सक्ने भएकाले उनलाई साथीहरुले 'राजेश हमाल' भनेर बोलाउन थाले। तर, को राजेश हमाल? भगवतीले त चिनेको पो थिइनन् त। कहिल्यै फिल्म हेरेको भए पो चिन्नु।

बल्लतल्ल ‘देउता’ फिल्म हेर्ने मौका जुर्‍यो। त्यहीबेला राजेश हमाल चिनिन्। अनि त आफै मख्ख। पहिला राजेश हमाल भन्दा झर्किने उनलाई त्यसपछि त सबैले त्यही नामले बोलाओस् भन्ने लाग्यो। एकाएक राजेश हमालको फ्यान भइन्। राजेश हमालको सपना देखिन। हमालसँग नाचेको, घुमेको र बिहे गरेको कल्पनामा समेत डुब्न थालिन्।

त्यहीबेला हमालले गाउँको सोझी केटी पाए बिहे गर्छु भनि दिएको अन्तर्वार्ता गाउँघरमा ‘हिट’ भएको थियो। उनले मनमनै गमिन्, ‘मै हुँ त्यसो भए राजेशकी हुनेवाली।’ राजेश हमाललाई पाउँ भन्दै ब्रत बसिन्। किशोरी उमेरमा त्यस्ता सपना देख्न कस्ले रोक्थ्यो र?


२०६४ साल...


जसोतसो एसएलसी पास भइन्। उच्च शिक्षा गाउँमा थिएन। तर, के पढ्ने, कहाँ पढ्ने?  कुनै मेलो मिलेको थिएन। काठमाडौँ आउने योजना बनाउँदा परिवारले स्विकृति दिएन। त्यसपछि झोली–कुम्लो प्याक गरेर गाउँबाट टाप कसिन्। एकाएक गाउँबाट बेपत्ता भएपछि अनेक हल्ला चल्न थाले। सानो कुरामा अल्झिँदा ठूलो कुरा छुट्छ भन्ने थाहा थियो। हल्लाहरुलाई वास्ता गरिनन्।

काठमाडौँमा चिनेजानेको कोही थिएन। केही दिन बिचल्लीमा परिन्। भावुक हुँदै अहिले सम्झन्छिन्, 'मेरो जिन्दगीमा यस्तो पनि भयो र?'

काठमाडौँ छिरेकै साल पद्म कन्या क्याम्पसमा भर्ना भइन्। अवसरको खोजीमा भौतारिरहेकी उनलाई ‘नाता बन्धन जिन्दगीको’ सिरियलमा अभिनय गर्ने मौका जुर्‍यो। सिरियलले उनको परिचय स्थापित गर्दै लग्यो। भलै जिन्दगीको कथा व्यथा उस्तै थियो।

अझै अवस्था एकदम नाजुक थियो। न कुनै योजनाले काम गर्थ्यो न सपना पछ्याउने हैसियत नै। दर्शन छाँटेर पेट भरिन्नथ्यो। आदर्शका कुरा गर्न थाले भोकै सुत्नु पर्थ्यो। गर्जो टार्न जे काम पनि गर्नुपर्थ्यो, गर्थिन् पनि। 

त्यहीबेला पिके क्याम्पसमा झन्त कटुवाल भन्ने विद्यार्थी नेत्रीसँग चिनजान भयो। उनले नै भारोत्तोलन खेलमा लगाइदिइन्। ५ फिट ९ इन्च अग्ली उनी भारोत्तोलन सिकेको ३ महिनामै राट्रिय खेलाडी बनिन्। राष्ट्रिय स्तरको खेलमा तेस्रो भइन्। आफैँलाई विस्वास नलाग्ने गरी सफलताको सिँढीबाट माथितिर उक्लिनेक्रमको थालनी भयो।

त्यही बेला भक्तपुरमा भारोत्तोलन खेल आयोजना भयो। त्यहाँ १ सय ३५ केजी तौल उठाइन्। खेल्दा खेल्दै खेल्नै नसक्ने गरी हातको जोर्नीमा समस्या आयो। उनी त दु:खी भइन् नै, भारोत्तोलनमा राम्रो सम्भावना देखेका उनका गुरुहरुको आशामा तुषारापात पनि भयो।

उनी त्यतिमै चूप बसिनन्। अभिनयबाट खेलाडी बनेकी उनलाई गीत निकाल्ने भूत चढ्यो। 'यूनिका' नामक एल्बम निकालेर त्यो रहर पनि पूरा गरिन्। एफएममा बज्यो। त्यतिबेला खुशी हुन ठूलो कारण अरु के नै चाहिन्थ्यो र?

यताबाट उता, उताबाट यता। कुनै क्षेत्रमा टिक्न सकिनन्। टिक्न सके पो बिक्न सक्नु? त्यसपछि ऋण काढेँर नयाँबजारमा रेष्टुरेन्ट खोलिन्। रेस्टुरेन्ट राम्रैसँग चल्यो। एक वर्षमा नै सबै ऋण तिरिन्। पैसा कमाएपछि व्यापार गर्न पनि मन लागेन।

फेरि बेरोजगार जिन्दगीको यात्रा। त्यही बेला एक्सन निर्देशक योगेन्द्र श्रेष्ठसँग भेट भयो। उनीसँगै एक्सन कला सिक्न थालिन्। 'ज्यांगो शरीर' खलपात्रको रुपमा सुहाउँदो थियो। सिक्दासिक्दै भोजपुरी फिल्म ‘प्रतिकार’मा अभिनय गर्ने अफर आयो। 'लेडी भिलेन'को रोलमा त्यस फिल्ममा फाइट गरिन्।

महिला कलाकारहरुको अभाव थियो। झन् ज्याङ्गो शरीर र बोल्ड आवाज भएको कलाकार पाउनै मुस्किल। फिल्म निर्देशकहरुले उनलाई नोटिस गरे। रक्षक, वर्षात्, नाइट क्वीन, हवल्दार सुन्तली, हिम्मतवालीलगायत गरी २ दर्जनभन्दा बढी नेपाली चलचित्रहरुमा अफर आयो। अभिनय गरिन्।

यतिञ्जेल उनी फिल्ममा पाएका सानोतिनो रोलमा रमाइरहेकी थिइन्। रेस्लिङको दुनियाबाट भने कोशौ दुर।


फेरि अर्को 'संयोग' आइलाग्यो। उनी रेस्लिङ सिक्ने भइन्। 'जीवनमा कुनै निश्चित उद्देश्य थिएन,' भगवती भन्छिन्, 'जे अगाडि आयो त्यही गर्दै गएँ। त्यही क्रममा रेस्लिङ आयो।'

फिल्मसम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी प्रज्ञा प्रतिष्ठान गएकी थिइन्। त्यहीँ रेस्लर हिमालयन टाइगरसँग भेट भयो। टाइगरलाई रेस्लिङ सिक्ने चाहना रहेको बताइन्।  

जोखिम रुचाउने भगवतीको रेस्लर बन्ने सपना टाइगरले बुझे। भगवतीलाई प्रशिक्षण लिन गुर्जुधारा बोलाए। त्यसलगत्तै उनी दायाँबायाँ नसोची टाइगरसँग प्रशिक्षण लिन थालिन्।

रेस्लिङ शारीरिक खेल भएकाले जोखिम र कष्ट दुवै हुन्थ्यो। उनले सिक्ने ठाउँमा कोही महिला थिएनन्। पुरुषसँग प्रतिस्पर्धा गर्नु अझ मानसिक र शारीरिक हिसाबले जोखिम हुन्थ्यो।

सिक्दा उनलाई गुरुले जहाँ पायो त्यही लात्ताले हिर्काउँथे। जता पनि छुन्थे। शरीरमा दिनहु चोट लाग्थ्यो। मांशपेशी गाठो पर्थ्यो। गुरुले लात हान्दा र भुइँमा पर्छादा सास रोकिएझै हुन्थ्यो। तर, पनि हार मानिनन्।

सिक्ने ठाउँमा खराब नियत भएका केटाहरु पनि थिए। अपशब्द बोल्ने, र जिस्काउने समेत गर्थे। असुरक्षित त महसुस हुन्थ्यो तर 'रेस्लर' बन्ने सपना देखिसकेकी थिइन्। सपना पूरा गर्न जुनसुकै जोखिम मोल्न तयार थिइन् उनी।

२०६९ मंसिर...


रेस्लिङ सिकेको दुइ महिना हुँदै थियो। यसैबीच अमेरिकाको 'टिएनए रेस्लिङ' कि चर्चित महिला रेस्लर ‘द ग्रेट चिन्ने’ नेपाल आइन्। अर्घाखाँचीको सन्धिखर्कमा रेस्लिङको आयोजना भयो। उनले त्यही ‘द ग्रेट चिन्ने’ सँग रेस्लिङ खेलिन्। त्यही खेलले 'नेपालको पहिलो महिला रेस्लर' भनेर भगवतीलाई चिनायो।

रेस्लिङको सर्कलमा भगवती चर्चित हुँदै गइन्। विभिन्न जिल्लाको महोत्सवहरुमा रेस्लिङ खेल्न बोलाउन थाले उनलाई। खेल्दै गएपछि सोच पनि फराकिलो बन्दै गयो। आफैँले रेस्लिङ खेल्ने महिलाहरु जम्मा पार्न थालिन्। रेस्लिङ खेल्ने महिला फेला पार्न एकदम गाह्रो पर्यो। 

भेटेकाजति महिलाहरुलाई रेस्लिङ सिकाउन थालिन्। अहिले रेस्लिङ फाउण्डेशन खोल्ने सपना पूरा भएको छ। ऋण गरेरै भए पनि आफैले रेस्लिङ रिङ बनाएकी छिन्। जिन्दगीमा नसोचेको सफलता हात पारेकी भगवतीको वर्ल्ड ह्याविवेट च्याम्पियनसीप खेल्ने सपना भने अधुरो छ। भन्छिन्, 'आफूले डब्लु डब्लु इ नखेले पनि मैले सिकाएका विद्यार्थीहरुलाई चाहिँ त्यो मञ्चमा पुर्याउँछु, पुर्याउँछु।'

रेस्लिङ खेल्नकै लागि अमेरिका जाने प्रयास पटक पटक गरेकी थिइन् उनले। अमेरिकाको 'हुहाइभ भ्याली रेस्लिङ केन्द्र'ले निमन्त्रणा पनि गरेको थियो। तर, अमेरिकी भिसा मिलेन। त्यसपछि ट्राइ पनि गरेकी छैनन्। 


***
रेस्लिङ सिकाउन व्यस्त रहेकी उनलाई चलचित्र बनाउने इच्छा पनि जागेको छ। एउटा ग्रामिण भेगकी महिलाले रेस्लर बन्न गरेको संघर्ष देखाउने विचार छ। फाउण्डेसनकै ऋणमा डुबेकीले तत्काल फिल्म बनाउने आँट छैन। भन्छिन्, '५ वर्ष लागोस् या १० वर्ष लागोस् एउटा फिल्म त बनाउँछु, बनाउँछु।'

अन्य खेलजस्तो रेस्लिङको क्रेज छैन। न त सरकारले नै केही सहयोग गरेको छ। पहिचान र सम्मान टाढाको कुरा।  त्यही पनि उनी मेहनत गरिरहेकी छिन्। रेस्लिङ सिक्न आउनेहरुलाई डब्लु डब्लु ई खेल्ने सपना देखाइरहेकी छिन्।  भन्छिन्, 'हाम्रा पनि दिन आउँछन्।'



रेस्लिङ रिङमा महिला : भगवती जसको जीवन नै रिङ र राउन्डबाट बाहिरिएन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट