PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'नेपालको महिला क्रिकेट टिमले पनि चाँडै विश्वकप खेल्न सक्छ'



गोविन्दराज नेपाल

'नेपालको महिला क्रिकेट टिमले पनि चाँडै विश्वकप खेल्न सक्छ'

पछिल्लो समय नेपालमा  क्रिकेट चर्चा बढि नै छ। चाहे त्यो सन्दीप लामिछानेले विदेशी लिग खेल्दा होस् या नेपालले ओडिआई र टी२०आई सिरिज जित्दा होस्। अनी घरेलु फ्रेन्चाइज टी २० लिगहरु हुँदा। सबैले क्रिकेटको माहोल सिर्जना गरेको छ अनी करिब ३ करोडको संख्यामा रहेको जनसंख्यालाई खुशी पार्ने र एकतामा बाँध्ने काम गरेको छ।

नेपालले केही समयअघि ओडिआई र टी २०आई दुवै फर्म्याटको सिरिजमा युएईलाई पराजित गर्दै ऐतिहासिक उपलब्धी हात पारेको थियो।

केही समयअघि नेपालको महिला नेत्रहीन क्रिकेटले पाकिस्तानमा भएको पहिलो महिला नेत्रहीन अन्तर्राष्ट्रिय टी २० सिरिज जितेर अर्को खुशी दिएको छ।

सन्दीप विदेशी लिगमा छाइरहेका छन्। आजै मात्र सन्दीप खेलिरहेको मेलवर्न स्टार्स टिम अष्ट्रेलियाको बिग बास लिगको फाइनल पुगेको छ।

यसै सन्दर्भमा नेपालमा पहिलो पटक महिलाहरुको पनि फ्रेन्चाइज क्रिकेट लिग हुँदैछ।

पुरुषहरुको अहिले नेपालमा तीन वटा टी २० लिग छ। त्यसैले लिगमध्ये एउटा पोखरा प्रिमियर लिग (पीपीएल) आयोजना गरेको क्वीन्स इभेन्ट म्यानेजमेन्टले आगामी चैतमा काठमाडौँमा वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) आयोजना गर्ने घोषणा गरेको हो। गत कात्तिकमा पोखरा पीपीएलको सफल आयोजना गरेको क्वीन्स इभेन्ट्ले महिला क्रिकेटको पनि विकास गर्ने उदेश्यले यस लिग आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष छुम्बी लामाले बताए।

यसमा नेपालको पाँच शहरको नामबाट पाँच फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। अनी महिला खेलाडीहरुलाई पनि पुरुष खेलाडी सरह व्यावसायिक रुपमा अगाडि बढाउन यसले सहयोग पुग्ने आयोजकको विश्वास छ।

 

डब्लुसिएलको घोषणापछिको उत्साह

बिहीवार राजत्रानीमा पत्रकार सम्मेलन गरेर डब्लुसिएलको घोषणापछि महिला क्रिकेटले फेरी एकपटक थप चर्चा पाएको छ। केही समयअघि मात्र नेपालको महिला टिमले थाइल्याण्डमा भएको टी २० स्म्यासमा उत्कृष्ट प्रदर्शन गरेको थियो। अब दुईदिनपछि नै महिला टोली विश्वकपको एसियाली क्वालिफायर खेल्न पुन: थाइल्याण्ड जाँदैछ। पछिल्लो पटक प्राप्त सफलता र लिगको घोषणाले सबैमा उत्साह छाएको छ।

महिला राष्ट्रिय टिमका प्रशिक्षक विनोद दासले पछिल्लो समयम पुरुष मात्र नभई महिला क्रिकेट समेत 'राइज'मा रहेकाले यस्तो खालको प्रतियोगिताले सबैलाई उत्साहि बनाएको बताए। 'जबसम्म हामी घरमा धेरै क्रिकेट खेल्दैनौँ तबसम्म अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्दैनौँ। त्यसैले महिला क्रिकेट विकासको लागि यस्तो लिग महत्वपूर्ण छ।'

'पछिल्लो पटक थाइ स्म्यासमा गरेको प्रदर्शनले पनि सबैलाई हौसाएको छ।'

'यो सुरुवात हो। प्राइभेट सेक्टरको सहयोगमा तीन वटा पुरुष टी २० लिग हुन सक्छ। यस्तै गरी महिलाहरुको पनि रेगुलर प्रतियोगिता हुने हो भने मलाई विश्वास छ नेपालको महिला क्रिकेटले पनि चाँडै नै विश्वकप खेल्छ।'

महिला टिमकी कप्तान रुविना क्षेत्रीले पनि डब्लुसिएलबाट आफूहरु उत्साहित रहेको यसमा खेल्न तयार रहेको बताइन्।

'यसबाट राम्रो एक्सपोजर पाउन सकिन्छ। यो सुरुवात हो। सुरुवात भयो भने नै बगामी दिनमा डोमेस्टिक म्याचहरु धेरै खेल्न पाइन्छ। यसले हामीलाई अझै प्रोत्साहित गर्छ।'

दास जस्तै क्षेत्रीले पनि यस्तो लिगहरु भयो भने विश्वकपको यात्रा धेरै टाढा नरहेको बताइन। उनले थाइल्याण्डमा फेब्रुअरी १८ बाट हुने महिला विश्वकपको एसिया क्वालिफायरमा पनि राम्रो गर्न यसले हौसला मिल्ने बताइन्।

यसैगरी पुरुष राष्ट्रिय टिमका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले पनि यस्तो खालको लिगले महिला क्रिकेटलाई अगाडि बढाउन भूमिका खेल्ने बताए।

'मलाई त सुरुमा सुन्दा नै एकदमै खुशी लागिरहेको थियो। कुनै समयम महिलाले विश्वकप खेल्छु भन्दा सपना थियो। यस्तो लिग भएपछि त्यो सपना पनि चाँडै पूरा होला।' टमाटाले भने। 'क्विन्स इभेन्टलाई धेरै धन्यवाद यस्तो खालको लिग गर्न लागेकोमा। यस्तो लिगपछि पुरुष टिम जस्तै महिला क्रिकेटले पनि चाँडै फड्को मार्न सक्छ।'

'यसले गर्दा थाइल्याण्डमा हुने क्वालिफायरमा पनि राम्रो खेल्ने विश्वास छ। साथै महिला क्रिकेटको लागि राम्रो सन्देश पनि जान्छ।'

कप्तान खड्काले नेपालको पुरुष क्रिकेट केही समयअघि जहाँ थियो अहिले महिला टिम त्यही रहेको बताउँदै यस्तो लिगले सबैलाई उत्साहित बनाएको र राम्रो खेल्न हौसला मिलेको बताए।

यस्तै क्यानकी पूर्व सिइओ तथा हाल आइसीसीको नेपाल प्रतिनिधि रहेकी भावना घिमिरेले भारतमा समेत नभएको लिग नेपालमा हुन लागेको बताइन्।

'अष्ट्रेलियामा महिला बीबीएल हुन्छ। तर भारतमा समेत महिला क्रिकेट लिग छैन। जुन हामी गर्न गइरहेका छौँ। हामी सबै एक्ससाइटेड छौँ। यो सुरुवात हो र आवश्यकता पनि हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell