PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टी कार्यालयमा हुने 'जनयुद्ध दिवस'को कार्यक्रम प्रधानमन्त्री ओली उपस्थित नहुने



पहिलोपोस्ट

पार्टी कार्यालयमा हुने 'जनयुद्ध दिवस'को कार्यक्रम प्रधानमन्त्री ओली उपस्थित नहुने

काठमाडौं : जनयुद्ध दिवसको अवसरमा धुम्वाराहीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन्। 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको थियो। हरेक वर्ष माओवादी घटकहरुले यसै दिन जनयुद्ध दिवस मनाउँदै आएका छन्। 

तर, यसपटक तत्कालीन माओवादीको ठूलो समूह जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र) तत्कालीन नेकपा (एमाले)सँग एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले मनाउन लागेको हो। 

१० वर्षे जनयुद्धलाई तत्कालीन एमालेले जनयुद्धको रुपमा अस्वीकार गर्दै आएको छ। उसले सशस्त्र युद्धको रुपमा व्याख्या गर्दै आएको छ। त्यस्तै १० वर्ष चलेको जनयुद्धका क्रममा सयौँ एमालेका कार्यकर्ताको हत्या भएको थियो। 

हाल पार्टी एकतापछि ने क पाले जनयुद्ध दिवसलाई नाम परिवर्तन गरी मनाउँदै छ। उसले भोलि पार्टी मुख्यालय धुम्वाराहीमा जनआन्दोलन र जनयुद्धका शहीद स्मृति दिवसको रुपमा मनाउन लागेको हो। 

सो कार्यक्रममा ने क पाका एक अध्यक्ष तथा प्रधानमन्त्री ओली भने सहभागी नहुने भएका हुन्। पार्टी केन्द्रीय कार्यालका तर्फबाट जारी गरिएको निमन्त्रणा पत्रमा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा जनआन्दोलन र जनयुद्धका शहीदहरु प्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको उल्लेख छ। 

यसअघि सो कार्यक्रममा प्रधानमन्त्री समेत उपस्थित हुने बताइएको थियो। तर, प्रधानमन्त्री ओली राष्ट्रिय सभागृहमा आयोजना हुने प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ समारोहमा सहभागी हुने तय भएको छ। 

पार्टी एकतापछि प्रचण्डले नै पूर्व एमाले समूहलाई जनयुद्ध दिवस नाम परिवर्तन गरेरै भए पनि मनाउन राजी गराएका थिए। ने क पाका महासचिव विष्णु पौडेलले आन्तरिक सर्कुलर जारी गर्दै फागुन १ गते सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न सर्कुलर जारी गरेका थिए। त्यस्तै ने क पाले सबै प्रदेशमा कार्यक्रम आयोजना गर्नका लागि संयोजकसमेत तोकेको थियो। 

यो पनि
पूर्व एमालेले पनि मनाउँदै 'जनयुद्ध दिवस', 'रेड मार्चपास' गर्दै वैद्य समूह, भूमिगत रुपमै मनाउँदै विप्लव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell