PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सवारीसाधन चलाउनेले गल्ती गरे ट्राफिकलाई १५ हजारसम्म जरिवाना गराउने अधिकार, मोबाइल चलाए पनि कारबाही



पहिलोपोस्ट

सवारीसाधन चलाउनेले गल्ती गरे ट्राफिकलाई १५ हजारसम्म जरिवाना गराउने अधिकार, मोबाइल चलाए पनि कारबाही
फाइल फोटो

काठमाडौँः ट्राफिक जरिवाना तीन गुणासम्म बढ्ने भएको छ। सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउन लागिएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

अहिले सामान्यतया ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ। विभागले ९ हजारसम्मको पनि जरिवाना गर्न सक्छ। अब आउने नयाँ ऐनमा १५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने विभागले तयारी गरेको छ। अहिले सङ्घीय ऐनको विभागले मस्यौदा तयार पारिरहेको छ। करिब दुई सातामा मस्यौदा तयार हुनेछ।

जरिवाना बढाएर पछि ट्राफिक नियम उल्लङघन कम हुने विभागको भनाई छ। पछिल्लो समय न्यून जरिवाना रहेका कारण ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्या बढेको र त्यसले दुर्घटना समेत बढेपछि जरिवानामा वृद्धि गर्न लागिएको हो।

त्यसैगरि लाइसेन्स लिनका लागि उमेर र लाइसेन्स अवधि बढाउन लागिएको छ। अहिले दुई पाङ्ग्रे सवारीसाधनमा १६ वर्षदेखि लाइसेन्स लिन पाउने व्यवस्था छ। तर यसलाई १८ वर्ष बनाउने विषयमा छलफल भइरहेको विभागको भनाई छ।  ट्राफिक प्रहरीले दुईपाङग्रेका लागि १८  र चारपाङग्रेका लागि २५ वर्ष बनाउन सुझाव दिएको छ। लाइसेन्सको अवधि १० वर्ष राखेर जारी गर्न लागिएको छ। अहिले पाँच वर्षको लागि लाइसेन्स जारी हुने गरेको छ।

सवारीसाधन चलाउँदा मोबाइल फोन चलाए जरिवाना गर्ने नियम ल्याउन लागिएको छ। अहिले मोबाइल फोन चलाएर कस्तो कारबाही गर्ने भन्ने तोकिएको छैन। विभागले समसामयिक रूपमा ऐनलाई परिमार्जन  र यातायात सुधारका लागि नयाँ नियम ल्याउन लागेको हो। करिब दुई सातामा ड्राफ्ट तयार हुने र त्यसमाथि छलफल गरेर टुङगो लगाइने उपाध्यायले बताए। धेरैजसो अधिकारहरू प्रदेश मातहत छन्। उनीहरूले सङ्घीय ऐनसँग नबाझिने गरी ऐन बनाउनुपर्छ। सङ्घीय ऐन गाईडलाइन्स हुने विभागको भनाई छ।

त्यसैगरि टुटल, पठाओजस्ता 'राइड सेयरिङ सर्भिस' लाई पनि  ऐनमा समावेश गर्न लागिएको उपाध्यायले जानकारी दिए। सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि ऐनमा व्यवस्था गर्न लागिएको छ। अहिलेसम्म सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधन सम्बन्धी ऐन छैन। जसका कारण विद्युतीय बस ल्याएर सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीको भनाई छ। विद्युतीय बस सञ्चालन गर्ने तयारीमा रहेका व्यवसायीहरूले सहुलियत दिनका लागि  विभागसँग माग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell