PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

५४ वर्षपछि हुँदै छ उत्तर कोरियाबाट भियतनामको उच्चस्तरीय भ्रमण, हजुबापछि नाति किम जाँदैछन् हानोइ



५४ वर्षपछि हुँदै छ उत्तर कोरियाबाट भियतनामको उच्चस्तरीय भ्रमण, हजुबापछि नाति किम जाँदैछन् हानोइ

काठमाडौं: भियतनाम र उत्तर कोरिया मित्र राष्ट्र हुन्। भियतनाम युद्धदेखि नै एक अर्काका मित्र राष्ट्र भए पनि उत्तर कोरियाबाट भियतनाममा उच्चस्तरीय भ्रमण हुन नसकेको ५४ वर्ष भइसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरेका छन् की उत्तर कोरियाली नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता भियतनाममा हुने छ।

यो शिखर वार्ता उत्तर कोरिया र भियतनामबीचको सम्बन्धमा नयाँ आयाम पनि हुने छ। दुबै देशभित्र राष्ट्र भए पनि ५४ वर्षदेखि हुन नसकेको उच्चस्तरीय भ्रमण यो वार्ताले जुराइदिने छ।

वार्ता भियतनाममा भए उत्तर कोरियाली नेता किम जोङ उन ५४ वर्षपछि भियतनाम पुग्ने उच्च स्तरीय उत्तर कोरियाली नेता हुनेछन्। यसअघि ५४ वर्ष अगाडि उनका हजुरबा किम इल सङ भियतनाम भ्रमणमा पुगेका थिए। उत्तर कोरियाका संस्थापक इल सन् १९५८ नोभेम्बर र १९६४ अक्टोबरमा भियतनामका तत्कालिन राष्ट्रपति हो ची मिन्हसँगको शिखर वार्ताका लागि भियतनाम पुगेका थिए।

फेब्रुअरी २७ र २८ मा हुने भनिएको ट्रम्पसँगको शिखर वार्तामा सहभागी हुन किम भियतनाम जाँदै गर्दा उनको भ्रमणलाई राजकीय भ्रमणमा परिणत गर्न दुई देशका अधिकारीहरुले तयारी थालेका छन्।

हानोइस्थित उत्तर कोरियाली दूतावासका अधिकारीहरु भ्रमणलाई राजकीय बनाउन तथा हानोइमा उच्चस्तरीय भेटवार्ताको तयारीका लागि जुटेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

भियतनाममा हुने वार्ता कुन शहरमा हुने भन्नेमा अमेरिका र उत्तर कोरियाको रोजाई फरक थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले दा नाङ रोजेका थिए। तर किमले हानोइ रोजे। जुन उत्तर कोरियाको अर्को स्वार्थ थियो भियतनामका उच्च अधिकारीसँगको भेट वार्ता।

किम जोङ उनले भियतनामका राष्ट्रपति गुयन फु त्रुङसँग भेट गरे किमले उनीसँग सोध्ने छन्, ‘कसरी भियतनामले खुला अर्थतन्त्रलाई अंगीकार गर्दै कसरी कम्युनिस्ट शासन कायम राख्दै आएको छ? भियतनामको आर्थिक प्रणाली के हो?’

किमको सम्भावित भियतनामको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजवुद बनाउन मद्दत पुग्ने छ। दुई देशबीच १९५० जनवरीमा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। भियतनाम युद्धका क्रममा उत्तर कोरियाले उत्तर भियतनामलाई सैनिक फौज तथा युद्ध सामाग्री पठाएर सहयोग गरेको थियो।

तर यी दुई देशबीचको सम्बन्ध सन् १९७८ मा चिसिएको थियो। त्यतिवेला भियतनामले कम्योडियामाथि हस्तक्षेप गर्दा उत्तर कोरियाले विरोध जनाएको थियो। उनीहरुले आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएका थिए। १९८४ मा पुन दुबै देशले राजदूत पठाए। तर, १९९२ मा भियतनामले दक्षिण कोरियासँग कुटनीतिक सम्बन्ध स्थापना गरेसँगै दुई देशबीचको सम्बन्ध चिसियो।

तर पनि यी दुई देशबीच भित्रवत सम्बन्ध कायम रहेको छ। यद्यपि दुई देशबीच उच्चस्तरीय भ्रमण हुन  सकेको थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell