PahiloPost

Jul 21, 2019 | ५ साउन २०७६


हसाउँदै जनतालाई भुलाउन व्यस्त छ दुई तिहाईको सरकार : बाबुराम भट्टराई


पहिलोपोस्ट

हसाउँदै जनतालाई भुलाउन व्यस्त छ दुई तिहाईको सरकार : बाबुराम भट्टराई

ठूलो आशा र अपेक्षासहित नयाँ संविधान बनिसकेपछिको पहिलो चुनावमा दुई तिहाईको सरकार बन्यो। तर एक वर्ष नपुग्दै सर्वसाधारण निराश हुन थालेका छन्। सरकारप्रति सकारात्मकभन्दा नकारात्मक धारणा बलियो बन्दैछ। किन भयो यस्तो? सरकारलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कदमप्रति पनि सर्वसाधारण सकारात्मक देखिएका छैनन्। यस परिप्रेक्ष्यमा तेस्रो विकल्पको सम्भावना कति छ? पहिलोपोस्टका वीपी साहले पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसित गरेको कुराकानी

  • एउटा संयोगले यो सरकारले दुई तिहाई ल्याएको हो। देशका आधारभूत समस्याहरु समाधान गर्न यो सरकारबाट सम्भव छैन। 
  • उहाँहरु पुरानो चोर–चोरका नारा कराएर पिछडिएका जनताका अगाडि राष्ट्रवादी देखाइरहनुभएको छ। त्यहीं भ्रमले गर्दा मत त प्राप्त गर्नुभयो तर सत्तामा पुगेपछि राष्ट्रियताको कुरा पनि चीन, भारत, अमेरिका प्रमुख शक्तिहरुसँग सम्बन्ध कसरी मिलाउने हो भन्ने विषयमा उहाँहरु अलमलमै हुनुहुन्छ। 
  • कांग्रेस एउटा उल्टो दिशातिर गइरहेको छ। त्यसले कांग्रेसलाई कहीं पनि पु¥याउँदैन। समाज अगाडि बढ्छ, पछाडि जाँदैन। पानी समुद्रतिर बग्छ, समुद्र हिमालतिर बग्दैन। कसैले उल्ट्याउन खोज्यो भने केही समय रोकिन्छ तर सधैंलाई रोक्न सक्दैन।
  • खोल मात्रै कम्युनिष्ट पार्टी ओढेको छ तर व्यवहारमा आसेपासे पुँजीवादभन्दा आफ्ना कार्यकर्तालाई मात्रै पोस्ने त्यसको अन्तरभेदमा फँसेको नाम कम्युनिष्ट, काम क्रोनाकालिजम। भनेपछि यो लामो समय टिक्नै सक्दैन।
  • यहाँ तपाइँले मेरिटोक्रेसी मात्रै भनेर एउटा योग्यले मात्रै राज्य गर्ने भन्न मात्र थालियो भने जुन आम जनता छन् त्यो त अयोग्य ठहरिन्छ। भनेपछि त तिनले शासनसत्तामा अवसरै पाउँदैन।

० तपाइँसँग सरकार चलाएको अनुभव छ। अहिलेको अहिले दुई तिहाईको सरकारको मूल्याङ्कन कसरी गर्नुहुन्छ?
 

— हावा र पानी भ्याकुममा बहँदैन भनिन्छ। त्यसकारण राम्रो विकल्प पाएन भने नराम्रा मध्येका कम नराम्रो र बढी चलाख, स्रोत सम्पन्नले बढी मत ल्याएर जित्छ र सरकार चलाउने गर्छ। अहिले संसारभरि यो चलन हो। त्यही अनुसारै एउटा संयोगले यो सरकारले दुई तिहाई ल्याएको हो। देशका आधारभूत समस्याहरु समाधान गर्न यो सरकारबाट सम्भव छैन। 

० तत्कालीन एमाले र माओवादी केन्द्रको चुनावताकाको एउटा एजेन्डा राष्ट्रवादको थियो। त्यतिबेलाको राष्ट्रवाद र विकासका कुराहरुप्रति अहिलेको सरकार गएको जस्ता देखिन्छ ?
 

— कुनै पनि चीज समयअनुसार परिवर्तनशील हुन्छ। संसारमा स्थिर चीज कुनै पनि छैन। सबै चीज निरन्तर परिवर्तन र गतिशील हुनु नै त्यो नियम मात्रै स्थिर हो। हाम्रा पुराना पार्टी, कांग्रेस वा कम्युनिष्ट पार्टीहरु पुँजीवादी क्रान्तिको क्रममा यी पार्टीहरु जन्मिएका हुन्। त्यसैले, एउटा राजनीतिक क्रान्ति गर्ने हदसम्म त उनीहरु सफल भए। म पनि त त्यसैमा थिएँ। म पनि सफल भएँ। तर हामी अब अर्को चरणमा गइरहेका छौं। आर्थिक राजनीतिक रुपान्तरणको जुन चरण छ त्यो भने लोकतन्त्रको निम्ति र राष्ट्रियताको निम्ति लड्ने मात्रै विषय होइन। यो त समग्र आर्थिक राजनीतिक संरचना बदल्ने यो अर्को प्रकारको संघर्ष हो। यसको नियम नै फरक छ। यसको खेल र मैदानै फरक हुन्छ। त्यसैले उहाँहरु पुराना खेलाडी, एउटा खेलका खेलाडीलाई अर्को खेलको मैदानमा राखियो भने उसले त खेल जित्न सक्दैन। उहाँहरु अहिले त्यस्तैमा पसिरहनुभएको छ। 

अहिले प्रत्यक्ष उपनिवेशवाद त छैन। अब त अप्रत्यक्ष ढंगले शोषण, उत्पीडन गरिरहेका हुन्छन्। त्यसको नियमहरु उहाँहरुले बुझिरहनुभएको छैन। उ अहिले थाहा नपाउने ढंगले चोरी गरिरहेका छन् त्यो कुरा उहाँहरुले बुझ्नुभएको छैन। अनि उहाँहरु पुरानो चोर–चोरका नारा कराएर पिछडिएका जनताका अगाडि राष्ट्रवादी देखाइरहनुभएको छ। त्यहीं भ्रमले गर्दा मत त प्राप्त गर्नुभयो तर सत्तामा पुगेपछि राष्ट्रियताको कुरा पनि चीन, भारत, अमेरिका प्रमुख शक्तिहरुसँग सम्बन्ध कसरी मिलाउने हो भन्ने विषयमा उहाँहरु अलमलमै हुनुहुन्छ। 

० तर पछिल्लो समयमा प्रधानमन्त्रीले त छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध छ भनेर भनिरहनु भएको छ नि ?
 

— भन्न त सबैले भन्छन् नि। गर्छन् के र परिणाम के आउँछ भन्ने कुरा हो। म उहाँहरुको नियतमा अहिले पनि कुनै शंका गर्दिनँ। तर, उहाँहरुले बदलिएको परिस्थितिलाई बुझ्न सकिरहनुभएको छैन। पुरानै चेतना अनुसारै पुरानै कुराहरु गरिरहनु भएको छ। तिनै कुराहरुलाई अलिकति कलात्मक र हास्यपूर्ण ढंगले पुनः प्रस्तुत गरेर जनतालाई मनोरञ्जन दिएर भुलाउने जस्तो ठानिरहनुभएको छ। तर, अहिले त हामी अर्कै दुनियाँ र चरणमा प्रवेश गरिसक्यौं। उहाँहरुले आफूलाई रुपान्तरण गर्न नसक्नु नै अहिलेको मुख्य समस्या हो।

० अहिले नेपालको राजनीतिमा मुख्यतः सत्तापक्षमा देखिएका कम्युनिष्टहरु र प्रतिपक्षमा रहेको कांग्रेसको बीचमा तेस्रो शक्ति या तेस्रो ध्रुव उदय हुने सम्भावना कतिको छ ?
 

— यहाँ सत्तापक्ष वा प्रतिपक्षको रुपमा नभई वैचारिक रुपमा राजनीतिक दलहरु संगठित हुन्छन्। जसलाई प्रवर्द्धन युग भनिन्छ। त्यसपछि निजी स्वतन्त्रतालाई जोड दिएर बजारलाई नै सबैथोक छोडिदिएपछि अर्थतन्त्र विकास हुन्छ भन्ने एउटा उदारवादी पुँजीवादी भन्ने जुन धार आयो। त्यसको प्रतिनिधित्व गर्ने एउटा धारको प्रतिनिधित्व नेपाली कांग्रेसले गर्छ। 

अर्को, औद्योगिक क्रान्तिपछि मजदूर र पुँजीपतिको बीचमा जुन अन्तरभेद प¥यो र मजदूरमाथि उत्पीडन र असमानता भयो भन्दै समानताको मुद्दालाई लिएर अगाडि आएको एउटा समाजवादी र कम्युनिष्ट धार अर्को छ। 

२०औं शताब्दी दुईटा विचारधारामा राजनीति ध्रुवीकृत भयो। यी दुइटै धारभित्र उदारवादी पुँजीवादभित्र १०/२० वटा पार्टी हुनसक्छन्, समाजवादी साम्यवादी धारभित्र १५/२० वटा शक्ति हुनसक्छन्। यी मुख्य दुईटा वैचारिक धार हुन्। 

तर, अहिले २१औं शताब्दीमा आइपुग्दा, शीतयुद्धको अन्त्यपछि, दुई राजनीतिक धार ठूलो संकटमा छन्। अहिले चौथो औद्योगिक क्रान्ति भनिन्छ। यो डिजिटल प्रविधि मात्रै होइन। समग्र क्षेत्रमा जुन खालको गुणात्मक परिवर्तन आयो। पछिल्लो आविष्कारले संसारलाई नै अर्को ठाउँमा पु¥याएको जुन अवस्था छ त्यतिबेला हिजो एउटा व्यक्तिको निजीत्वलाई मात्रै जोड गर्ने पुँजीवाद र एउटा सामिप्यतालाई मात्रै जोड गर्ने समाजवाद - यी दुइटै अहिले अपूर्ण छन् भन्ने मान्यता आयो दार्शनिक रुपले भन्दा। 

पुँजीवादले व्यक्ति नै सबथोक हो भन्यो, समाजवादले व्यक्ति भनेको केही पनि होइन, उसले सामाजिक नै सबथोक हो भन्यो। तर अहिले आएर भौतिक विज्ञानले के भन्छ भने मान्छेभित्र एउटा स्वार्थी जीन पनि हुन्छ जसले व्यक्ति–व्यक्तिबीच प्रतिस्पर्धा गर्छ। अर्को परोपकारी जीन पनि हुन्छ जसले सामूहिक रुपमा सहकार्य गरेर आफ्नो प्रजातिको रक्षा गर्छ। जेनेटिकली नै दुईटा प्रवृत्ति हुन्छ। त्यसैले तपाइँले एउटा प्रवृत्तिलाई लिएर मात्रै दर्शन विचार श्रृंखला बनाउनु हुन्छ भने त्यो जैविक र वैज्ञानिक रुपले सही हुँदैन। 

आर्थिक सामाजिक ढंगले पनि हेर्ने हो भने पुँजीवाद पनि हिजोकै पुँजीवादलाई रहन सकिरहेको छैन। उसले एउटा राज्य र समाजलाई ध्यान दिनुपर्ने दिशातर्फ गइरहेको छ। हिजोको समाजवाद, साम्यवाद राज्यले सबैथोक दियो भन्दै आएको थियो त्यो पनि व्यक्ति र निजीत्व केही पनि हुँदोरहेनछ भन्नेतिर गइरहेको छ। त्यसैले तिनीहरु एकअर्कामा रुपान्तरण भइरहेका छन्। अर्थात् दुइटै संकटमा परिरहेका छन्। 

यस्तो स्थितिमा अब ती दुइटैभन्दा माथि उठेको आवश्यकता छ जसले व्यक्तिको निजीत्व र सामिप्यता पनि सहन गर्छ। सामाजिक आर्थिक क्षेत्रमा पनि लोकतन्त्र भनेको एउटा खुला चुनावी मात्रै लोकतन्त्र होइन; समावेशी, समानुपातिक र सहभागिता लोकतन्त्र हुन्छ। आर्थिक हिसावले पनि सम्पूर्ण बजारलाई मात्रै छोडेर पनि हुँदैन। केही जिम्मा राज्यले केही जिम्मा बजारले लिने अर्थतन्त्र हुनुपर्छ। 

मनोवैज्ञानिक हिसाबले पनि मान्छे पूर्ण मान्छे हुनुपर्छ। पुँजीवादले पनि खण्डित एउटा आधा मान्छे मात्रै बनायो र समाजवादले पनि एउटा मान्छेलाई कमिला जस्तो मात्रै बनायो। हामीलाई पूर्ण मान्छे चाहिन्छ। यिनै अवधारणामा आधारित भएर अब हामीले नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ। यी दुइटै एउटै कित्ता हो। पुराना भइसके। पुराना कित्ता एउटा हो। अब २१औं शताब्दीको चौथो औद्योगिक क्रान्ति पछि ज्ञान विज्ञानमा आधारित शक्ति नयाँ र वैकल्पिक शक्ति हो भन्ने हाम्रो मान्यता हो। त्यहीं आधारमा नै हामीले एउटा नयाँ शक्तिको परिकल्पना गरेका हौं। 

० नेपालको राजनीतिमा एउटा शक्तिशाली राजनीतिक समूह कसरी बन्न सक्छ ?
 

— अब यही जग हो। पहिला त वैचारिक राजनीतिक रुपमै प्रष्ट हुनुपर्छ। वैचारिक राजनीति प्रष्ट नभई हुँदैन। खास एउटा विचार, नीति कार्यक्रमलाई मान्ने शक्तिहरुको संगठित समूह हो पार्टी भनेको। त्यसैले पहिलो कुरो त वैचारिक राजनीति नै प्रष्टता चाहिन्छ। त्यसपछि तत्कालीन समाजको नीति कार्यक्रम हेर्नुप¥यो। 

हिजो लोकतन्त्र नहुनु समस्या थियो भने आज गरिबी र बेरोजगारीको अन्त्य गरेर समृद्धि ल्याउनु मुख्य एजेन्डा बनेको छ। यी पुराना शक्तिहरु जो हिजो लोकतन्त्र निम्ति त लडे तर समाज रुपान्तरणका निम्ति भूमिका निर्वाह गर्न सक्दैनन्। पछिल्लो विकसित ज्ञान र विज्ञानमा आधारित भएर एउटा नयाँ ढंगको समाज निर्माण गर्न सक्दैनन्। तिनीहरुको विकल्प चाहियो भन्नेसम्म हो। नेपालमा पनि हिजोका पुँजीवादी र हिजोकै साम्यवादी सोचले नेपालको आर्थिक विकास समृद्धि र समस्या समाधान हुँदैन भन्ने हाम्रो मान्यता हो। 

० त्यसो भए अहिले पनि केही पुराना शक्तिहरु छन् जस्तै कमल थापादेखि लिएर मधेशकेन्द्रित दलहरु पनि छन्। त्यस्तै विपक्षी दलभित्र पनि हिन्दूत्वको कुरा उठ्दैथियो, ती शक्तिहरु पनि त आउन सक्छन् नि ?
 

— तिनीहरु त पश्चगामी शक्ति हुन्। यिनीहरु पनि त्यही धारमा देखिएका हुन्। राप्रपाहरु भनेको त पुँजीवादलाई स्वीकार गर्ने शक्ति हुन्। खाली उनीहरुले जनताको पिछडिएको चेतनालाई दोहन गरेर भोटबैंक बनाउनका निम्ति मात्रै हिन्दूत्वको कुरा गरेका हुन्। त्यो त धार्मिक राजनीति गरेको कुरा भो। उनीहरु प्रतिगामी खालको विचार दर्शन गरिरहेका हुन्। ती शक्तिहरु त पतनशील पुराना पुरातन शक्ति हुन्। उनीहरुको आधुनिक युगमा भविष्य देख्दिँन। उनीहरुलाई गणना गरिरहन म आवश्यक ठान्दिनँ। 

० त्यसो भए कांग्रेसभित्र उठेको हिन्दूत्वको कुरा नि ?
 

— त्यो पनि विडम्बना हो। कांग्रेस जस्तो पार्टी जो पहिले पुँजीवादी लोकतन्त्रको वकालत ग¥यो र वीपी कोइरालाले आधुनिक युगको सुरुवात गर्ने भूमिका निर्वाह गर्नुभयो उहाँ आफैमा अत्यन्त धर्मनिरपेक्ष व्यक्ति हुनुहुन्थ्यो भने उहाँकै सन्तानले नै अहिले फेरि हिन्दूत्वको कुरा गर्नु, कांग्रेसभित्र हस्ताक्षर अभियान चल्नु यो त अत्यन्त दुर्भाग्यपूर्ण हो। कांग्रेस एउटा उल्टो दिशातिर गइरहेको छ। त्यसले कांग्रेसलाई कहीं पनि पु¥याउँदैन। समाज अगाडि बढ्छ, पछाडि जाँदैन। पानी समुद्रतिर बग्छ, समुद्र हिमालतिर बग्दैन। कसैले उल्ट्याउन खोज्यो भने केही समय रोकिन्छ तर सधैंलाई रोक्न सक्दैन। त्यसैगरी, अब पछाडि फर्कने, धार्मिक राजनीति गर्ने, पिछडिएका जनताका जातीय क्षेत्रीय राजनीति गर्ने, भावनात्मक कुरा गरेर जनतामा भ्रम छर्ने अथवा भोटबैंक बनाएर चुनाव जित्ने पिछडिएको राजनीति नेपालमा टिकेको छैन। 

० कतिपय विषयमा त समर्थन बढी देखिन्छ नि ?
 

— कसरी बढी समर्थन देखिन्छ ? धर्म मान्नुलाई बढी समर्थन हुन्छ र। मान्छेले आफ्ना आस्था अनुसार मान्न सक्छन् नि। यिनीहरुले मान्छेको धार्मिक आस्थाको दोहन गरेर चुनावी लाभ लिन खोज्ने जुन जाल र षड्यन्त्र भइरहेको छ तर नेपाली जनता धेरै चलाख छन्। फँस्नेवाला छैन। धर्मको नाममा राजनीति गरेर आफ्नो निजी स्वार्थ पूर्ति गर्ने काम गर्नु हुँदैन। जनतालाई ठग्नु हुँदैन भन्ने मान्यता हाम्रो हो। 

० धर्मको नाउँमा राजनीति गर्नेहरु अब आउने सम्भावना छैन ?
 

— छँदैछैन। नेपालको हिन्दूत्व भनेको त अत्यन्त उदार प्रकृतिको हो। कट्टर प्रकारको पनि छैन। अत्यन्त सहनशील छ, सर्वधर्म समभाव, सबै धर्मको सम्मान गर भन्ने हिन्दूको सांस्कृतिक परम्परा पनि हो। अरु धर्मजस्तो कट्टर धर्म पनि हिन्दू धर्म होइन। त्यस हिसावले पनि हिन्दूत्वको नाउँमा धार्मिक दंगा गराएर भोट जित्छु भन्ने सम्भव छैन। अरु धर्म बरु कट्टरपन्थी हुन्। तर हिन्दू धर्म आफैमा एउटा दर्शन हुन्। 

० अहिलेको प्रमुख प्रतिपक्षी दलको भूमिका र पार्टीभित्रको समस्यालाई कसरी लिनुहुन्छ ?
 

— नेपाली कांग्रेसले आफूलाई समयानुकूल रुपान्तरण गर्न सक्नुपर्थ्यो, त्यो सकेन। नेपालमा पुँजीवादी लोकतन्त्रको विचार प्रवेश गराउने र त्यसका निम्ति संघर्ष गर्ने कांग्रेस एउटा शक्ति त थियो तर समयानुसार लोकतन्त्र पनि समावेशी, समानुपातिक लोकतन्त्र हुँदै अगाडि बढिरहेको छ तर त्यसलाई आत्मसात गर्न कांग्रेसले सकिरहेको छैन। उ पछिल्लो चरणमा त तानिदै तानिदै आयो नि। जस्तै माओवादी आन्दोलनका क्रममा गणतन्त्र, संघीयताका मुद्दा जतिबेला हामीले उठायौं त्यसमा विस्तारै घस्रिँदै आयो कांग्रेस। त्यो हदसम्म उसले आफूलाई सरभाइभ त ग¥यो तर योभन्दा अगाडि जाने एजेन्डा उसले ल्याउनुपर्थ्यो। ल्याउन नसकेर जुन पछाडि फर्कने, हिन्दूत्वका कुराहरु गर्न थालेको छ त्यसले कांग्रेसले आफैमा इतिहास मेटाउने खतरा मात्रै म देख्छु। त्यस्तो नहोस्। कांग्रेस एउटा लोकतन्त्रका निम्ति लडेको इतिहास बोकेको पार्टी हो। त्यो यस्तो खालको गतिरोधमा फस्नु, विचारविहीनता र व्यक्तिगत झैझगडा, कचिङ्गल, गुटबन्दीमा फस्नु लोकतन्त्रका निम्ति राम्रो संकेत होइन। 

० अनि नेकपा ?
 

— एउटा समाजवादी विचारलाई बोकेर कम्युनिष्ट आन्दोलनको सुरुवात भएको थियो अन्तर्राष्ट्रियरुपमा। नेपालमा समाजवाद र साम्यवाद एजेन्डै थिएन। नेपालमा त सामन्तवाद र निरंकुशताको विरुद्ध लड्ने, पुँजीवादी क्रान्ति ल्याउने, बाह्य हस्तक्षेपबाट मुक्त गरेर नेपाललाई स्वाधिनरुपमा बनाउने मुख्य मुद्दाहरु थिए। त्यो मुद्दा पनि लड्ने हदसम्म त नाम नेकपा राखे पनि काम चल्यो। तर अहिले त नेपालमा पुँजीवादी आर्थिक क्रान्ति गरेर समाजवादको दिशातिर जाने कार्यभार बाँकी छ। तर, त्यसको निम्ति हिजोका जुन सोच छ, अत्यन्त केन्द्रितावादी, पार्टीको जुन ढाँचा छ, त्यो ढाँचाले यो पार्टी लोकतान्त्रिक पनि बन्न सक्दैन, समावेशी पनि बन्न सक्दैन। अन्तरभेदमा पार्टी फस्छ।

 नेपालमा अहिले राष्ट्रिय औद्योगिक पुँजीको विकास गरेर देशी र विदेशी पुँजी परिचालन गरेर तीव्र आर्थिक वृद्धि गर्नुछ, जबकि यो पार्टीलाई अँगालेको सबैथोक निजी सम्पत्ति अन्त्य गर्ने, राज्यले सबैथोक उत्पादन साधनको राष्ट्रियकरण गर्ने भन्ने जुन पूरानो कम्युनिष्ट मान्यता छ त्यो नै बोकेर आर्थिक विकास र समृद्धि पनि हुनसक्दैन। 

एउटा मात्र वर्गको मात्र कुरा गरेर जबकि नेपालमा वर्ग त एउटा हो उत्पीडित मजदूर वर्ग त्यो सधैं रहन्छ। तर यसको सँगसँगै महिला, दलित, जनजाति, मधेशीका मुद्दाहरु पनि छन्। यसलाई सँगै जोडेर लान सक्नुपर्छ। त्यसमा पनि कमजोर देखिएको छ। यसरी हेर्दा नेकपाले केन्द्रितावादी ढाँचा बोकेसम्म नेपालका समस्या राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समाधान गर्न सक्दैन। त्यसअर्थमा म यसको पनि कुनै भविष्य देख्दिँन। खोल मात्रै कम्युनिष्ट पार्टी ओढेको छ तर व्यवहारमा आसेपासे पुँजीवादभन्दा आफ्ना कार्यकर्तालाई मात्रै पोस्ने त्यसको अन्तरभेदमा फँसेको नाम कम्युनिष्ट, काम क्रोनाकालिजम। भनेपछि यो लामो समय टिक्नै सक्दैन। 

० नयाँ शक्ति पार्टीकै एउटा दस्तावेजमा यो नयाँ शक्ति एउटा दस्तावेज हो भनेर भन्नुभएको छ, भनेपछि यसको प्रयोगबाट कस्तो महसुस गर्नुभएको छ ?
 

— हामी एउटा प्रारम्भिक चरणमै छौं अहिलेसम्म। भर्खर यो जुन विचारसहितको शक्ति सुरुवात ग¥यौं, सुरुवातको क्रममा राम्रो उत्साह रह्यो। तर, तुरुन्तै चुनाव आइपुग्यो र चुनाव त पैसाको बलमा लड्नुपर्ने स्थिति बन्यो। त्यो स्थितिमा त्यसको प्रतिस्पर्धा गर्न सामर्थ्य हामीसँग थिएन। त्यसले गर्दा मान्छेमा परिणाम नदेखिएको होला। हामी भित्रकै मानिसमा अलिकति संशय, निराशा जस्तो देखियो। त्यसले गर्दा सुरुमा अलिकति घाटा भएकै हो। तर अब विस्तारै, दुई तिहाई बहुमत सरकारले पनि कुनै दिशा लिन सकिरहेको छैन। आफूलाई लोकतन्त्रको मसिहा भन्ने नेपाली कांग्रेस आफै पछाडि फर्कनेतिर लागिरहेको छ भने यस्तो अवस्थामा बल्ल जनताले नयाँ शक्तिले अडिग राखेको औचित्य र महत्व रहेछ भन्ने बुझ्दैछन्। विस्तारै फेरि हामीतिर आकर्षण आउँदै गरेको म देख्छु। हामीले दुई तीन वर्ष मिहिनेत ग¥यौं भने अर्को निर्वाचनसम्म हामी एउटा प्रमुख शक्तिको रुपमा उदय भएर आउँछौं। 

० तपाइँहरुकै विचारधारासँग लगभग मिल्दोजल्दो पूर्वपत्रकार रवीन्द्र मिश्रको पार्टीलाई देख्नुहुन्छ ?
 

—  वैकल्पिक राजनीतिको विषयमा समानता छ। वैकल्पिक राजनीतिको एउटा मुद्दा पुराना शक्तिहरु अत्यन्त भ्रष्ट भए, राज्यसत्ताको दोहन गरेर लाभ गरे, त्यसैले भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्ने त्यो मुद्दामा त हाम्रो कुरा मिल्छ। त्यस बाहेक एउटा वैचारिक राजनीतिक पुँजीवाद र साम्यवादभन्दा अगाडि बढेको अहिलेको चौथो औद्योगिक क्रान्तिको युगको नेतृत्व गर्ने अथवा दर्शनको हिसावले पनि निजीत्व र स्वामित्व दुइटै प्रवर्द्धन गर्ने, एउटा सच्चा मानवतावाद, वैज्ञानिक समाजवाद त्यसमा आधारित हुन्छ भन्ने एउटा स्पष्ट वैचारिक खाका उहाँहरुसँग छैन। कतिपय मुद्दाहरुमा नेपालमा जुन लोकतन्त्र, गणतन्त्र प्राप्त गरेर योभन्दा अगाडि जानुछ। 

यो लोकतन्त्रका मूल्य मान्यताप्रति पनि उहाँहरुको प्रतिबद्धताहरु त्यति देखिँदैन। त्यसले खासगरी उहाँहरु राजतन्त्र र पुराना राजाहरुमा सबैथोक गुण थिए भन्ने जस्ता कुरा गर्नुहुन्छ। अहिले कुनै पुराना पञ्चहरुको निधन हुँदा पञ्चहरुको बखान गाउनु हुन्छ। अहिले उहाँहरु वैचारिक राजनीतिमा प्रष्ट हुनुहुन्न। 

दोस्रो कुरा आर्थिक रुपमा पनि एउटा नयाँ खालको आर्थिक मोडेल कायम गर्नुपर्छ भन्नेतिर त्यति प्रष्टता छैन। खासगरी लोकतन्त्रको सन्दर्भमा नेपाल जुन एउटा वर्गीय, जातीय, क्षेत्रीय विविधता भएको जुन मुलुक हो यहाँ तपाइँले मेरिटोक्रेसी मात्रै भनेर एउटा योग्यले मात्रै राज्य गर्ने भन्न मात्र थालियो भने जुन आम जनता छन् त्यो त अयोग्य ठहरिन्छ। भनेपछि त तिनले शासनसत्तामा अवसरै पाउँदैन। भनेपछि समावेशी लोकतन्त्रको जुन मुद्दा अहिले आएका छन् त्यसमा प्रतिबद्धताहरु छैन। ती कारणहरुले गर्दा उहाँहरुले सही अर्थको विकल्प दिनुहोला जस्तो लागेन। 

उहाँहरुको स्पिरिट ठीक छ। भ्रष्टाचारबाट मुक्त हुनुपर्छ भन्ने कुरा मोटामोटी ठीक छ। तर राजनीति भनेको त स्पष्ट वैचारिक राजनीतिक धरातलमा नीति तथा कार्यक्रममा, भविष्यप्रति स्पष्ट मार्गदर्शन चल्नुपर्छ। त्यो हिसाबले उहाँहरु विकल्पको रुपमा आउसक्नु हुन्छ भन्ने मलाई लाग्दैन। 

० अन्त्यमा, फोरम नेपालसँग पनि एकीकरण प्रयास भएको थियो। यस्तै रवीन्द्र मिश्रका पार्टी लगायतका समूहहरुसँग धेरै एजेन्डाहरु मिल्छ। यसप्रति नयाँ शक्तिको धारणा के छ ?
 

— त्यतिबेला सुरुको चरणमा हिजोको पुँजीवाद पनि साम्यवाद पनि होइन, एउटा नयाँ ढंगबाट समाजवादी दिशातिर जाने भन्ने कुरा गरेको नेपालको जातीय, क्षेत्रीय विविधतालाई समेट्ने गरी एउटा समावेशी लोकतन्त्रका मुद्दामा सँगै जान सकिन्छ आदि भन्नेको कारणले मिल्न सक्छ कि भन्ने प्रयत्न ग¥यौं। तर, हामी बुझ्दै जाँदा उहाँहरु नयाँ हुन चाहेको देखिएन। उहाँहरु पुरानै धारका हुन्, असन्तुष्टहरुको समूह। कांग्रेस र कम्युनिष्ट धारबाट सन्तुष्टि नपाएर अलिकति अलग्गै दोकान थापेको जस्तै मात्रै देखियो। त्यसपछि हाम्रो उहाँहरुप्रति रुचि रहेन। अब भविष्य त कांग्रेस, कम्युनिष्ट अथवा जुनसुकै धारमा लागेका मानिसहरु पनि फेरि रुपान्तरित भएर आउनुभयो भने त मिलेर जान सकिएला। तर अहिले दलगत र पार्टीगत रुपमा अरु कसैसँग मिलेर जान सक्ने अवस्थामा हामी देख्दैनौं। 

० एक्लै परिवर्तन गर्न सकिन्छ ?
 

— एक्लै होइन विचार त सुरुमा आउँछ। यसको वरिपरि गोलबन्द हुने हो। चुम्बकीय केन्द्र हौं। चुम्बकीय केन्द्रले त वरिपरिका सबै फलामलाई तान्छ नि त। हामी अहिले विचारको चुम्बकीय केन्द्र बनाउँदैछौं। त्यसले जनताका राम्रा चीज सर्वश्रेष्ठ मानिसहरु चेतना भएका अगुवाहरु आउँछन्। यो एउटा ठूलो वैकल्पिक शक्ति बन्छ। हिजो कांग्रेस पनि राणा शाहीतन्त्रबाटै जन्मेर आएको हो। हिजो माओवादी पनि त कांग्रेस र एमालेबाटै आएको हो। भनेपछि अब सबैबाट एउटा नयाँ चुम्बकीय केन्द्र बन्दैछौं र त्यसले असल मान्छेलाई हामीभित्र ल्याउँछ र गलत मान्छेलाई अलग्याउँछ। यसरी देशको राजनीति ध्रुवीकरण हुन्छ।
 

तेस्रो ध्रुव सम्भावनाबारे थप अन्तर्वार्ता

बाँदरलाई मकैबारीको गोठालो बनाएपछि के हुन्छ? दुई तिहाईको सरकार त्यस्तै : खगेन्द्र संग्रौला



हसाउँदै जनतालाई भुलाउन व्यस्त छ दुई तिहाईको सरकार : बाबुराम भट्टराई को लागी २ प्रतिक्रिया(हरु)

Narayan Prasad Gurung [ 2019-02-14 16:59:04 ]
Dr. BABURAM KO SOCH MA KUNAI SANKA CHHAINA TARA WAHAN LE SAHARMA BATOGHATOKO YOJANA BANISAKEKO KAAMLAAI KARYANWAYEN GARNEBHANDA ARU KEHI GARNASAKNU BHAYENA. BARU Dr. SAHEB LE JUN PRACHANDA LAI BHRSHTACHARI BHANNU BHAYO TYASKO PRAMANIT GARNU SAKNU BHAYENA. TAPAIN HARULE GARNUBHAYEKO JANA YUDDAKO NAAUN MA SATRA HAJAR NEPALI LE AAFNO JYAN GUMAYE KATIKO GHRBAS UTHIBAS GARYO, TATHAKATHIT JANAYUDDAKO BELA TAPAIN HARU SARBAHARAWARGAKO LAAGI BHANERA GARNU BHAYEKO JANAYUDDA PASCHYAT KE AHILE TATKALIN MAOBADI NETAHARUKO RAHAN SAHAN RA BYAWAHARLE SARBAHARA WARGAKO PRATINIDHITTWA GARKO JASTO CHHA? NEPAL MA KUNAI BAAD KO BISHLESHAN GARNA AAWASHYAK CHHAINA KEWAL KAAM GAREA DEKHAUNU JARURI CHHA KINAKI KAAM GARERA MATRAI SAMAJMA PARIWARTAN AAUNEHO NE KI KUNAI BAADKO BISLESHAN GARERA. YEDI TAPAIN HARUMA HIMMAT CHHA BHANE 2017 SAAL PACHHI SAARBAJANIK PAD DHARAN GARNE HARUKO SABAI SAMPATTI JANCH GARNA SAKNUHUNCHHA?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Roshan [ 2019-02-09 08:37:23 ]
हो, सबै कुरा मनन् योग्य छन। तर एउटा कुरा धर्म निरपेक्ष भनेको धर्म परिवर्तन गराउने छुट पनि होईन, धर्म प्रति वित्रिष्णा पनि होईन, यो शब्दावली प्रयोग गर्ने पर्ने पनि होईन। अर्को कुरा हिन्दू धर्ममात्र विश्व को यस्तो धर्म हो, जो सधैंभरी अग्रगामी सोच राख्छ र सबै धर्म प्रति सहिष्णुता राख्छ। यही महानता लाई कमजोरी मानिएका कारण नेपाल हिन्दू राष्ट्र हुनै पर्छ भनिएको हो।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट