PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इन्काउन्टरबारे कँडेलको त्यो प्रश्न जसले गृहमन्त्रीलाई संसदमा एकछिन जवाफविहीन बनायो



पहिलोपोस्ट

इन्काउन्टरबारे कँडेलको त्यो प्रश्न जसले गृहमन्त्रीलाई संसदमा एकछिन जवाफविहीन बनायो

काठमाडौँ : बुधवार प्रतिनिधि सभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सित प्रत्यक्ष सवाल जवाफ गर्ने कार्यक्रम थियो। 

सभामुख कृष्णबहादुर महराले सुरुमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेललाई समय दिए। उनले २०७५ साल साउन २१ गते काँडाघारी बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरण भएपछि पाइलट बाबा आश्रम नजिकको जंगलमा भएको इन्काउन्टरबारे प्रष्ट पार्न भने। 

'प्रश्न गम्भीर छ' भन्दै गृहमन्त्री थापाले भने, 'सरकारका तर्फबाट तत्काल स्पष्टिकरण दिइसकेका छौँ।' उनले इन्काउन्टरबारे लिखित रुपमा संसद सचिवालयमा जवाफ पठाइसकेको बताए। उनले प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको दावी गरे।  
मन्त्रीले दिएको जवाफ चित्त नबुझे पुरक प्रश्न सोध्न पाउने व्यवस्था हुन्छ। सभामुखले कँडेललाई पुरक प्रश्नका लागि समय दिए।

'इन्काउन्टरहरु भारतको विहारमा पनि नभएका हैनन्। पेस्तोल निकाली आक्रमण गर्न खोज्दा प्रहरीले गोली चलायो भनियो,' भन्दै कँडेलले प्रश्न गरे, 'कुन पेस्तोलले कति दुरीमा प्रहरीमाथि आक्रमण भयो? अपराधीबाट कुनै फायर भएको छैन। प्रहरीले घुँडामुनि पनि हान्न सक्थ्यो। सनम शाक्य हत्या, सुनकाण्ड भो। ठूलो अपराधमा कुनै इन्काउन्टर हुँदैन।' 

कँडेलले प्रश्न राख्दैगर्दा सभामुखले रोके, 'एक मिनेट सकियो माननीय सदस्य।'

त्यसपछि गृहमन्त्री थापाले जवाफ दिनुपर्ने थियो। तर, उनी चुप बसे।  

सभामुखले, ‘यसको उत्तर दिनुस् माननीय मन्त्रीज्यू’ भने। 

गृहमन्त्री अझै चुप रहे। 

सभामुखले पुरक प्रश्नको जवाफ दिन अनुमति दिन्छु भनेपछि एकछिन चुप बसेका गृहमन्त्री बल्ल बोल्न थाले- 'यो विषयलाई स्पष्ट गरिसकेको लाग्छ। कति दुरी र कुन पेस्तोल प्रहार भन्ने प्रश्नमा स्पष्ट रुपमा जंगलमा इन्काउन्टर भएको भन्ने रिपोर्ट प्राप्त भएको छ। कति दुरीमा भन्ने जानकारी छैन। लक्ष्यको सीमाभित्र नै प्रहार गरिएको भन्ने लाग्छ।' 

हतियारका बारेमा उनले भने, 'घरेलु पेस्तोल भनेर सार्वजनिक गरिसकेको छ प्रहरीले भन्ने लाग्छ।'

अर्को प्रश्न सोध्नलाई सभामुखले बालकृष्ण खाँणलाई समय दिए। उनले सोधे, 'अपराधीहरुलाई कानुनी दायराभित्र ल्याउएर कारबाही गर्नुपर्ने हो। तर, ठाउँठाउँमा इन्काउन्टर भइरहेको छ। इन्काउन्टरको आदेश कसले दिन्छ?'

गृहमन्त्रीले भने, 'निश्चित रुपमा अपराधीको खोज गर्दै जाने क्रममा प्रहरीमाथि आक्रमण भयो भने स्वतः  इन्काउन्टर हुन्छ।  माथिबाट आदेश दिनुपर्छ भन्ने आवश्यक हुन्न।'
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell