PahiloPost

May 19, 2019 | ५ जेठ २०७६


नेपाल – अमेरिका सम्बन्ध चिस्याउने भेनेजुएला : आखिर कसरी भयो नेपाल कनेक्सन?


विधुर ढकाल

नेपाल – अमेरिका सम्बन्ध चिस्याउने भेनेजुएला : आखिर कसरी भयो नेपाल कनेक्सन?

काठमाडौं : नेपालको राजधानीबाट आठ हजार १ सय १० नटिक माइल्स (सिधा हवाई उडान दुरी)मा रहेको भेनेजुएलाको राजनीतिक संकटको असर यतिबेला नेपालमा पनि देखिएको छ। यतिखेर चर्को दवावका वावजुद भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरो सत्ताबाट बाहिरिने छाँटकाटमा छैनन। उनले विपक्षी नियन्त्रित राष्ट्रियसभाको निर्वाचन गर्ने घोषणासमेत गरेका छन्।


यति टाढाको मुलुकमा भएको राजनीतिक अस्थिरताको बाछिटा कसरी नेपालसम्म आइपुग्यो त? सत्तारुढ दल र सरकारमा यसको कस्तो असर पर्‍यो त? 


आन्तरिक कलहमा भेनेजुएला
एकातिर राष्ट्रपति मादुरो सत्ताबाट बाहिरिने मुडमा छैनन् अर्कातिर विपक्षीहरुको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्ष जुहान गुइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेर नयाँ राष्ट्रपतिको निर्वाचन गराउने माग गरेका छन्। भेनेजुएलाको संविधानमा राष्ट्रपति नहुँदा र रिक्त रहँदा निर्वाचनसम्मका लागि सभामुख अन्तरिम राष्ट्रपति हुने प्रावधान छ। त्यसैमा टेकेर गुइदोले आफूलाई राष्ट्रपतिको स्वघोषणा गरे। 


विपक्षी नेताले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेको तथा उनलाई अमेरिकासहितका देशले साथ दिएको परिवेशमा पनि मादुरो अडिग रहेका छन् ।


यही बीच राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृह युद्धको अवस्था आउनसक्ने चेतावनी दिएका छन्।
मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए। 


राष्ट्रपति मादुरोले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सबैसँग आग्रह गरेका छन् र चेतावनी पनि दिएका छन्। उनले अमेरिकाले हस्तक्षेप गर्न नरोके पुनः अर्को भियतानम युद्ध हुने चेतावनी समेत दिएका छन्। 

अमेरिकाको नेतृत्वमा भियतनाम भएको युद्धमा लाखौँको ज्यान गएको थियो। त्यसमध्ये ५८ हजार भन्दा बढी अमेरिकी थिए।


‘भियतानम युद्ध’ को संकेत भइरहेको भेनेजुएला प्रकरणमा नेपाल पनि फस्दै गएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई भेनेजुएलाको पक्षमा उभ्याउँदै अमेरिकी हस्तक्षेपको विरोध गरे। यो अवस्थामा अहिले नेपाल–अमेरिका सम्बन्ध चिसिँदै गएको छ। 

भेनेजुएलाः इतिहासदेखि अहिलेसम्म
बोलिभियन रिपव्लिक अफ भेनेजुएला दक्षिण अमेरिकी राष्ट्र हो। ९ लाख १६ हजार ४ सय ४५ वर्गकिलोमिटरको यो देशको वरिपरि ब्राजिल, निकारागुआ, कोलम्बिया छन्। त्यसभन्दा माथि उत्तर अमेरिकी देश पानामा र मेक्सिको छ। 


त्यहाँ करिब २६ भाषाभाषीका जनताको बसोबास छ। स्पेनिस यहाँको मुख्य भाषा हो। अहिलेको भेनेजुएला सन् १५२२ देखि स्पेनको अधिनायकत्वमा थियो। सन् १८११ मा यो स्वतन्त्र देशको रुपमा उभियो। स्पेनबाट मुक्त भएपछि  भेनेजुएला भेडरल रिपव्लिक अफ ग्रान कोलम्वियाको एउटा हिस्सा रह्यो। यसले सन् १८३० मा पूर्ण स्वतन्त्रता भयो। त्यसपछि पनि यहाँ राजनीतिक संकट उत्पन्न रहिरह्यो। 


फ्रान्सिस्को डी मिराण्डाको नेतृत्वमा भेनेजुएलाले अमेरिकन रिभोलुसनमा हिस्सा लिएको थियो। यसले भेनेजुएलाको स्वतन्त्रता संग्रामलाई अगाडि बढायो। १८१२ मा भेनेजुएलाको काराकासमा विनासकारी भूकम्प गयो। यसले विद्रोहीहरुलाई समेत एक ठाउँमा उभ्यायो। त्यसपछि पहिलो गणतन्त्र स्थापना गर्न सहयोग पुग्यो। तर पनि भेनेजुएला पूर्ण स्वतन्त्र हुन सकेको थिएन्। सिमो वोलिभरको नेतृत्वमा भएको संघर्षले १८२१ मा सार्वभौमिकता ल्याउन सहयोग पुग्यो। त्यसपछि यो देश ग्राण्ड कोलम्वियाको रुपमा चिनिन थाल्यो। यसपछि सन् १८३० सम्म भेनेजुएला ग्राण्ड कोलम्वियाको हिस्साको रुपमा रह्यो। यतिवेला विद्रोहीहरुले स्वतन्त्र भेनेजुएलाको घोषणा गरे। जोसेफ एन्टोनियो पेच त्यहाँको पहिलो राष्ट्रपति बने। यसबीच दुई दशक भेनेजुएला युद्धमा रोमलियो। करिब ८ लाख जनाको मृत्यु भयो। 


भेनेजुएलाको झण्डामा तीन रंग छन्। पहेलो समृद्धिको भूमि, निलो स्पेनबाट अलग गराउने समुन्द्र र रातो स्वतन्त्रता संग्रामका शहीदको रगतलाई जनाउँछ झन्डाको रङले। 


सन् १८५९ देखि १८६३ सम्म भेनेजुएला पुनः युद्धमा फस्यो। यसले लाखौँको ज्यान लियो। त्यतिबेलासम्म पहिलो राष्ट्रपतिले एकलौटी शासन गरिरहेका थिए। त्यसपछि एन्टोनियो गुजमनले १३ वर्ष एकलौटी शासन गरे। 


सन् १८९५ मा बेलायतको नियन्त्रणमा रहेको ब्रिटिस गुइना र भेनेजुएलाबीच विवाद चर्कियो। यही विवादले भेनेजुएलामा संकट उत्पन्न भयो। सन् १८९९ मा क्रिपियानो कास्ट्रोले शासन आफ्नो हातमा लिए। उनले सैन्य सहायतामा आफ्नो शासन सुरु गरे। 


२० औँ शताब्दी प्रवेश गरेसँगै भेनेजुएलाले आर्थिक प्रगति गर्न थाल्यो। कृषिमा निर्भर अर्थतन्त्रलाई परिवर्तन गर्दै आफूलाई दक्षिण अमेरिकाको कूल ग्राह्स्थ उत्पादन बढी भएको देशको रुपमा उभ्यायो। 


कृषिमा निर्भर अर्थतन्त्र २० औं शताब्दीमा तेलको उत्खनन भएपछि तेलको आम्दानीतिर लाग्यो। तेलकै कारण एक समयमा यस देशको जीडीपी दक्षिण अमेरिकाकै सबैभन्दा बढी थियो।


भेनेजुएलामा सैनिक जनरल गोमेजले सन् १९०८ देखि १९३५ सम्म मृत्युपर्यान्त शासन गरे। सन् १९३५ देखि ४१ सम्म जोस इलेअजरले त्यस्तैखालको सासन चलाए। सन् १९४५ देखि १९४८ सम्म तीन वर्ष प्रजातान्त्रिक अध्भयास भयो। तर, यो धेरै टिकेन। 


सन् १९४७ मा पहिलोपटक राष्ट्रपतीय चुनाव भयो। तर, पनि भेनेजुएला सैन्य शासनबाट उम्किन सकेन। सन् १९४८ देखि १९५८ सम्म जुन्टाको सैनिक शासन चल्यो। 


तेलको उत्पादन, खानीको उत्खनन् लगायतमा भेनेजुएलाले यतिबेलासम्म प्रगति हासिल गरेको थियो। १९६० देखि आर्थिक संकटमा फसेको भेनेजुएलाका उद्योगहरु निजीकरणमा बढे। सन् १९९९ सम्म भेनेजुएलाले चरम आर्थिक संकटको सामाना गर्यो। यसबीच निजीकरण बढ्दै गयो, सरकार टाट पल्टिँदै गयो। 


सन् १९९९ मा ह्युगो चाभेजले वोभिरियन क्रान्तिलाई सम्पन्न गरे। उनी चुनाव जित्दै राष्ट्रपतिमा निर्वाचित भए। योसँगै भेनेजुएलामा समाजवादको अभ्यास सुरु भयो। १९९९ मा संविधानसभाले संविधान निर्माण गर्यो। राष्ट्रपति चाभेजले गरीब जनतालाई सहयोग पुग्ने गरी आर्थिक नीति अंगिकार गरे। सन् २००२ अप्रिल ११ मा बिद्रोह भयो। यो बिद्रोहले उनलाई ४७ घण्टा शासनबाट बाहिर ल्यायो। पुन उनी सत्तामा आए। 


पुनः डिसेम्बर २००२ देखि फेब्रुअरी २००३ सम्म संर्घष भयो। तर, पनि जाभेजलाई सत्ताबाट हटाउन सकेनन्। उनको पक्षमा भेनेजुएलाका गरीब जनताहरु सडकमा उत्रिए। लामो हड्ताल, तेल कम्पनी ठप्प हुँदासमेत उनी सत्ताबाट बाहिर निस्किनु परेन। 


उनले निजी कम्पनीलाई सरकार मातहत ल्याए। जनताको स्तर उकास्नका लागि मध्यम वर्ग र उच्च वर्गमाथि कर लगाए। समानुपातिक वितरण मार्फत् निम्न वर्गलाई सहयोग गरे। समाजवादको अभ्यास भयो। सन् २००३ मा उच्च वर्गको आन्दोलन र उद्योग ठप्प हुँदा सन् २००३ मा यहाँको अर्थतन्त्रमा गिरावट आयो। यसको जिडिपी २७ प्रतिशतले गिर्यो। १३ खर्ब डलर तेल उत्पादनमा घाटा भयो। 


चाभेज पुन २००६ मा निर्वाचित भए। त्यस्तै उनी २०१२ मा राष्ट्रपतिमा निर्वाचित भए। तर, उनले सपथ लिन भने पाएनन्। उनी कमजोर स्वास्थ्य अवस्थाका कारण सपथ लिन सकेनन्। सन् २०१३ मार्च ५ मा उनको मृत्यु भयो। पुन: अप्रिलमा अर्को निर्वाचन भयो। 


त्यसपछि चाभेजका उत्तराधिकारीको रुपमा निकोलस मादुरो राष्ट्रपतिमा निर्वाचित भए। उनी निर्वाचित भएसँगै भेनेजुएलामा राजनीतिक संघर्ष सुरु भयो। उनले विपक्षीमाथि दमन अगाडि बढाए। 


सन् २०१५ मा भएको आम निर्वाचनमा भेनेजुएलाको संसदमा विपक्षीहरुले बहुमत हासिल गरे। देश आर्थिक संकटमा फस्दै गयो। सन् २०१५ मा भेनेजुएलामा विश्वकै ठूलो आर्थिक संकट देखा पर्यो। सन् २०१७ मा अमेरिकाले भनेजुएलामा माथि आर्थिक नाकाबन्दी गर्यो। 


सन् २०१६ मा आर्थिक संकटको घोषणा गरियो। सन् २०१७ अप्रिल १ मा संविधानसभाको निर्वाचन भयो। त्यस्तै डिसेम्बरमा उनले राष्ट्रपतिको निर्वाचनको घोषणा गरे। २०१८ मा भएको निर्वाचनमा मादुरो राष्ट्रपतिमा विजयी भए। निर्वाचन परिणामलाई संयुक्त राज्य अमेरिकासहित अर्जेन्टिना, ब्राजिल, कोलम्वियालगायतका देशले विरोध गरे। 


२०१९ को जनवरी १० मा उनले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालका लागि सपथ लिए। त्यतिबेला क्युवा, टर्की, रुस, चीन, मेक्सिको इरानले सपथ ग्रहण समारोहमा भाग लिएर उनलाई मान्यता दिए। अर्को तिर अर्गनाइजेसन अफ अमेरिकन स्टेटस् ले प्रस्ताव पारित गर्दै मादुरोलाई राष्ट्रपति अस्वीकार गर्ने निर्णय गर्यो। 

चरम आर्थिक संकटमा
भेनेजुएला अहिले चरम आर्थिक संकटको सामना गरिरहेको छ। तर, पनि यो आर्थिक संकट भन्दा भनेजुएला कुनै बेला दक्षिण अमेरिकाको धनी देशको सूचीमा थियो। तेल, सुनको खानीको रुपमा रहेको भेनेजुएलामा विश्वको ध्यान तान्न सफल छ। 


यहाँको तेल र प्राकृतिक स्रोतमा सरकारको नियन्त्रण छ। ह्युगो चाभेजले सत्ता आफ्नो हातमा ल्याएदेखि यहाँका सबै उद्योग धन्दा सरकारको नियन्त्रणमा ल्याएका थिए। यहाँको समाजवाद अभ्यासमा पश्चिमा मुलुकहरुको असन्तुष्टि छ। यहाँको तेल र सुनको खानीमा अमेरिका तथा युरोपेली मुलुकहरुको आँखा पहिले देखि नै गडेको छ। यी खानीहरुलाई सरकारी नियन्त्रणबाट मुक्त गरी निजिकरण गर्न सके उनीहरुले फाइदा लिन सक्छन्। त्यसैले उनीहरु भेनेजुएलामा चासो देखाइरहेका छन्। 


भेनेजुएला रणनीतिक एवं सामरिक हिसाबले पनि महत्वपूर्ण देश हो। त्यहाँको समुद्री बाटोलाई नियन्त्रण गर्न सकियो भने यहाँबाट पुरै क्यारिबयनलाई कब्जामा लिन सहज हुन्छ। 


भेनेजुएलामा अमेरिकाका नाकाबन्दी चल्दै गर्दा चिनियाँ लगानी भने बढेको छ। यहाँको रेलवे क्षेत्रमा चीनको लगानी छ। यहाँको रेलवेमा ४० प्रतिशत नियन्त्रण चीनको छ। त्यस्तै यहाँको तेल उत्खनमा समेत चीनको ठूलो लगानी छ। सन् २०१३ को डिसेम्बरमा चीनले पाँच वर्षमा भेनेजुएलालाई ५० विलियन डलर बराबरको सहयोग गर्ने घोषणा गरेको थियो। सन् २०१८ को पहिलो त्रैमासिकमा भेनेजुएलाले ३ लाख ८१ जहार ३०० व्यारेल तेल चीन निर्यात गरेको थियो। भेनेजुएला चीनको चौथो ठूलो तेल निर्यात गर्ने देश पनि हो। भेनेजुएला हाल चीनको ऋणमा रहेको छ। 


त्यस्तै भनेजुएलाको तेल किन्ने देशमा अमेरिका र भारत पनि पर्छन्। अमेरिकाले भेनेजुएलाबाट किन्ने तेलको पैसा अमेरिकामा रहेको भेनेजुएलाको खातामा जम्मा हुन्छ। तर, हाल अमेरिकाले ती खात रोक्का गरेको छ।

कस्तो हो नेपाल–भेनेजुएला सम्बन्ध?
अहिले नेपाललाई कुटनीतिक टकरावमा पार्ने भनेजुएलाको नेपालसँगको साइनो के? नेपाल र भेनेजुएलाबीच सन् १९८७ अप्रिल २८ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशबीच आर्थिक सम्बन्ध भने देखिँदैन। 


न भेनेजुएलामा उत्पादन हुने तेल नेपालले सिधै आयात गर्छ न त सुन नै। तर, पनि नेपालले भेनेजुएला मामिलामा किन चासो दियो?
ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएला र मादुरोको पक्षमा आफू र पार्टीलाई उभ्याए। त्यस्तै अमेरिकाको कडा आलोचना गरे। यसले अमेरिकालाई चिड्यायो। अमेरिकाले नेपालसँग स्पष्टिकरण सोध्यो। सामान्यतया माल्दिभ्समा राजनीतिक संकट हुँदा, श्रीलंकामा राजनीतिक संकट हुँदा समेत मौन जस्तै बस्ने नेपालले भेनेजुएला संकटमा आधिकारिक धारणा सार्वजनिक गर्न बाध्य भयो। 


सत्तारुढ दलको तर्फबाट आएको वक्तव्यलाई कुटनीतिक भाषामा परराष्ट्र मन्त्रालयले पनि बल दियो। परराष्ट्रको वक्तव्यमा नेपालको आफ्नो सैद्धान्तिक आधारमा भेनेजुएलाको आन्तरिक राजनीतिक समस्याको समाधान प्रजातान्त्रिक पद्धतीबाट बाह्य हस्तक्षेप विना हुनुपर्ने उल्लेख छ।

के हो नेपालको सैद्धान्तिक आधार?
नेपाल असंलग्न अभियानमा जोडिएको राष्ट्र हो। नेपालको परराष्ट्र नीति असंलग्न अभियानको नीतिमा जोडिएको छ। हो यही एउटा आधार छ नेपाल र भेनेजुएलाको सम्बन्धमा। भेनेजुएला पनि असंलग्न राष्ट्र हो। अर्को कुरा यो अभियानको अध्यक्ष राष्ट्र भेनेजुएला र निकोलस मादुरो यसका अध्यक्ष हुन्। यही एउटा आधार हो भेनेजुएला र नेपाल विश्व मञ्चमा एकै स्थानमा उभिने।


नेपालको परराष्ट्र नीतिको यही आधारमा टेकेर असंलग्न नीति लिँदै नेपालले भेनेजुएलाको समस्याको समाधान भेनेजुएलाका जनताले प्राजातान्त्रिक पद्धतिबाट गर्ने बताएको हो। 

राजनीति आधार पनि
भेनेजुएला समाजवादको अभ्यास गरिरहेको मुलुक हो। यहाँको समाजवादले देशलाई आर्थिक संकटमा नै पुर्याएको छ। नेपालका कम्युनिस्टहरुका लागि यहाँको समाजवाद र यहाँका कम्युनिस्ट पार्टी एउटा आदर्शको रुपमा रहेको छ। यही ‘आइडियोलोजी’ले ने क पालाई निकोलश मादुरोको पक्षमा उभ्याएको हो। 


ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबीच पटक पटक प्रचण्डको वक्तव्यको बचाउ गर्दै अमेरिकासँग सम्बन्ध भए पनि उसको हस्तक्षेपलाई अस्वीकार गरिने स्पष्ट पार्दै आएका छन्। नेपालले विश्व मञ्चहरुमा वैदेशिक हस्तक्षेपको विरोध गर्दै आएको छ। भेनेजुएलाले पनि यसको विरोध गर्दै आएको छ। 


यी दुई आधार बाहेक नेपाल र भेनेजुएलाको सम्बन्ध कुटनीतिक रुपमा त्यति चासोको रुपमा लिइँदैन। होला, नेपालले भारतबाट तेल आयात गर्छ। भेनेजुएलाबाट भारतले। यसरी हेर्दा भेनेजुएलाको तेल नेपालमा आइपुग्ला तर यसलाई तेल सम्बन्ध भन्न चाहिँ सकिदैन।
 



नेपाल – अमेरिका सम्बन्ध चिस्याउने भेनेजुएला : आखिर कसरी भयो नेपाल कनेक्सन? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट