PahiloPost

Jun 27, 2019 | १२ असार २०७६


सिराहा पुगेर प्रम ओलीले भने, ‘कांग्रेस सरकारले ढुकुटी रित्याएकोले यसपाला वृद्धभत्ता बढाउन सकिएन, अर्को वर्ष अवश्य बढ्छ’


सिराहा पुगेर प्रम ओलीले भने, ‘कांग्रेस सरकारले ढुकुटी रित्याएकोले यसपाला वृद्धभत्ता बढाउन सकिएन, अर्को वर्ष अवश्य बढ्छ’

सिराहा: प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन्।
शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।


प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइए पनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताए। “मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबै कुराको जवाफ दिन्छ,” प्रधानमन्त्री ओलीले भने, “हुलाकी सडकको निर्माण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेश समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन्। केही दिन अघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको छ। जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुदैछ।”


 प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको बताए। यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले बताए।


  तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। “यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु ” प्रधानमन्त्री ओलीले भने “त्यसका लागि गत बैसाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु।”


 प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताए। अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ। “वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेर दिन छैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “आउने आर्थिक बर्षमा वृद्धभत्ता अवश्य बढ्छ। सरकारले बढाउने छ।”


२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं साँसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो। 


प्रधानमन्त्री ओलीले आजै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यलयको शिलान्यास गरे। यसैगरी आजै चन्द्र माध्यमिक विद्यालय सिराहा नगरपालिका १ मा छात्राबास भवनको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गरेका छन्। 



सिराहा पुगेर प्रम ओलीले भने, ‘कांग्रेस सरकारले ढुकुटी रित्याएकोले यसपाला वृद्धभत्ता बढाउन सकिएन, अर्को वर्ष अवश्य बढ्छ’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट