PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झण्डै तीन दशकपछि साकार हुँदै सुदूर पश्चिमको मेडिकल कलेज सपना



एम बम

झण्डै तीन दशकपछि साकार हुँदै सुदूर पश्चिमको मेडिकल कलेज सपना

कैलालीः २०४४ सालमा सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाका लागि छलफल चल्यो। त्यसपछि ०५६ सालमा सुदूर पश्चिममा मेडिकल कलेज स्थापनाको अवधारण ल्याउने जगत्गुरु शंकराचार्यले कैलालीको गेटामा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे। त्यही बर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा क्षेत्रफल जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टका नाममा दियो, तर काम भने अघि बढेन।
 
त्यसको ७ वर्षसम्म फेरी मेडिकल कलेजको कुरा हराएझैं भयो। २०६५ सालमा भने सरकारले पनि पहल थाल्यो। पहिलोपटक सरकारले ०६५ सालमै गेटा मेडिकल कलेज स्थापनाका नाममा एक करोड बजेट विनियोजन गर्‍यो।

त्यस यता निर्माणका लागि छलफल र बहसले निरन्तरता पाएको गेटा मेडिकल कलेजमा २०७४ सालबाट भने भौतिक संरचनाको काम पनि थालियो। अहिले २०७७ सालबाट पढाई गर्ने लक्ष्यसहित काम चलिरहेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए।


 
३ अर्ब ९५ करोड लागतका २७ भौतिक संरचना निर्माणको अन्तिम चरणमा 


हाल गेटा मेडिकल कलेजमा ३ अर्ब ९५ करोड लागतका २७ भौतिक संरचना निर्माण भइरहेका मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक पुजाराले बताए। ‘५६ करोड लागतमा कलेज बिल्डिङ बनिरहेको छ।’ उनले भने ‘१ अर्ब ६९ करोडमा ५ तले अस्पताल भवन बन्दै छ।’ अबको ४० वर्षपछिको स्थितिलाई ध्यानमा राखी कलेजको कामभइरहेको उहाँको भनाइ छ।

०७७ साउनदेखिनै अन्तराष्ट्रियस्तरको मापदण्डमा निर्मित ६ सय शैयाको मेडिकल कलेज सञ्चालनमाल्याउन तीव्र गतिमा काम भइरहेको पुजाराको भनाइ छ।

 

बाध्यताले उपचार र पढाईका लागि बाहिरिनुपर्ने बाध्यता हट्‍ने


निर्माणधिन मेडिकल कलेज स्थापना भएपछि सुदूर पश्चिमबाट उपचारका लागि विदेशिने र प्रदेश बाहिर जाने स्थानीयको बाध्यता हट्ने अपेक्षा गरिएको छ। हाल सुदूरपश्चिमबाट उपचारका लागि ६० प्रतिशत नागरिक भारतामा जानेगरेको तथ्यांङ्क प्रादेशिक स्वास्थ्य निर्देशनालयसँग छ। 

पढाइंका लागि पनि अधिकांश विद्यार्थीहरु भारतको लखनउ लगायतका शहरहरुमा जाने गरेका छन्। तर अब भने बाध्यताले यसरी बाहिरिनु नपर्ने मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा बसोबास गर्छन्। पछिल्लो जनगणनाअनुसार २५ लाख जनसंख्यामध्ये १३ लाखभन्दा बढी जनसंख्या तराईका २ जिल्लामा मात्रै छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell