PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सभामुखले हडबड गर्दा भएको गडबड : हुन्न भन्ने पक्षको बहुमत कसरी भयो? 'चुस्त' भन्नुपर्ने ठाउँमा भने 'सुस्त'



पहिलोपोस्ट

सभामुखले हडबड गर्दा भएको गडबड : हुन्न भन्ने पक्षको बहुमत कसरी भयो? 'चुस्त' भन्नुपर्ने ठाउँमा भने 'सुस्त'

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको आसनबाट कृष्णबहादुर महराले जालझेल गरेको आरोप लगाइरहँदा उनले शुक्रबार हडबडमा हतार हतार विधेयक पारित गर्ने प्रक्रिया अघि बढाए। 

हडबड गर्दा गडबड पनि हुन गयो। केही गल्तीलाई उनले सच्याए, केही भने सच्याएनन्। यो संसदको रेकर्डमा गल्तीकै रुपमा अङ्कित हुने भयो। 

प्रतिपक्षी सांसदहरुको विरोधका बीच संसदीय प्रक्रिया अघि बढाएका महरालाई हतार गर्नुपर्ने जरुरी थिएन। तर उनले सामान्यभन्दा द्रुत गतिले प्रक्रियामात्र हैन, आफ्नो बोली पनि अघि बढाए। 

यसै क्रममा उनले भने, अब म विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुनुहुने माननीय सदस्यहरुलेले हुन्छ भन्नुहोला यसको विपक्षमा हुनुहुने माननीय सदस्यहरुले हुन्न भन्‍नुहोला।'

'यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुस्।'

सत्तापक्षीय सांसदहरुले हुन्छ भने। 

फेरि सभामुखले भने, 'यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुस्।'

आवाज सुनिएन। अनि सभामुखले भने, 'हुन्न भन्ने पक्षका माननीय सदस्यहरुको बहुमत भएकोले विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को अङ्ग बनेको घोषणा गर्दछु।'

जबकि प्रस्तावको पक्षमा हुन्छ भनी सत्तापक्षीय सांसदहरुले मत जाहेर गरेका थिए। 

त्यसैगरी विधेयकको प्रस्तावना वाचन गर्ने क्रममा उनले एक ठाउँमा 'चुस्त' भन्नुपर्ने ठाउँमा 'सुस्त' भनिदिए। तर त्यसलाई भने उनले तत्काल सच्याई 'चुस्त' बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell