PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मर्यादापालकले पाखुरा समातेर रोष्ट्रम पुर्‍याए मन्त्रीलाई, पाँच मिनेटमै यसरी पास भयो विधेयक

मर्यादापालकले पाखुरा समातेर रोष्ट्रम पुर्‍याए मन्त्रीलाई, पाँच मिनेटमै यसरी पास भयो विधेयक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : शुक्रबार प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गर्ने निर्णय गरिसकेको थियो। 

त्यसैले बैठक अघि सभामुख कृष्णबहादुर महराले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका थिए। सँगै उनले नेताहरुसित पनि बैठक राखेका थिए। 

महराले तपाईँहरुले अवरोध गर्ने स्थितिमा बैठक स्थगित हुन्छ भन्ने आश्वासन दिएका थिए। यसैलाई बैठकपछि सांसद गगन थापाले सभामुखले जालझेल गरेको पनि बताएका थिए।

यो सँगै नेकपाका केही नेताहरुले बैठकअघि संसदमा रहेका पत्रकारहरुलाई पनि बैठक स्थगित हुन्छ भन्ने खबर ‘लिक’ गराएका थिए। 

तर कांग्रेस सांसदहरु त्यतिबेला जिल्ल परे, जब सभामुखले आसनबाट बैठक अघि बढाउने घोषणा गरे। मात्र पाँच मिनेटमा द्रुत गतिमा त्यो बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भयो।


यसअघि सरकारपक्षीय नेताहरुले रोष्ट्रममा जान नदिए आसनबाटै विधेयक प्रस्तुत गर्ने बताएका थिए। सभामुखले पछि त्यसो नहुने, रोष्ट्रमबाटै पेश गरिने बताएका थिए। 


शिक्षा मन्त्री गिरिराजमणि पोखरेल आफू सधैँ बस्ने आसनमा नै बसेका थिए। मर्यादापालकहरुले सभामुखअगाडिको ड्यास र सांसदहरु बस्ने पहिलो लहरअगाडि घेरेका थिए। मर्यादापालकहरुको घेराभन्दा बाहिर कांग्रेस सांसदहरु नारा लगाउँदै थिए। 

२१ जना मर्यादापालक सरकार बस्ने कुर्सी अगाडि सुरक्षाका लागि उभिएका थिए। सभामुखको आसनमुनि भने ९९ जना मर्यादापालक थिए। 
मन्त्री पोखरेल सधैँको बाटोबाट नै रोष्ट्रममा जान खोज्दै थिए। तर त्यहाँ अवरोध थियो। कांग्रेस सांसद मीन विश्वकर्मा आदिले उनलाई तान्न खोज्दै थिए। 

नियमित बाटोबाट जान नसकेपछि मन्त्री पोखरेलले सत्तापक्षीय सांसदहरु बस्ने कुर्सीबाट रोष्ट्रमतिर जाने उपाय रोजे। सत्तापक्षीय सांसदहरु रेखा शर्मा, जयपुरी घर्ती आदिले आफ्नो स्थानबाट उठेर मन्त्रीलाई बाटो खोलिदिए। सँगै फोरम सांसदहरुले पनि मन्त्रीका लागि बाटो खाली गरिदिए। 


त्यसपछि बायाँ छेउ पुगेका मन्त्री पोखरेललाई मर्यादापालकले पाखुरा समातेर रोष्ट्रममा पुर्‍याए। पहिलोपोस्ट संवाददाता प्रवीण रानाभाटले खिचेको फोटोमा मर्यादापालकले मन्त्रीको पाखुरा समातेको स्पष्ट देखिएको छ। रोष्ट्रम जाने खुड्किलो चढिसकेपछि मन्त्री पोखरेलले आफू सफल भएको सूचकका रुपमा सांसदहरुतिर हेरेर हात हल्लाए पनि। 


उनले रोष्ट्रममा चश्मा लाउनु अघि अगाडिको दृश्य हेरेर मुस्कुराए पनि। त्यसपछि विधेयक प्रस्तुत गर्ने प्रक्रिया अनुरुप त्यसमा भएका कुरा वाचन गर्न थाले। 


साढे दुई बजे सुरु भएको विधेयक पारित गर्ने प्रक्रिया पाँच मिनेटमै सकियो। हरेक विधेयकमा छलफलमा भाग लिने नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल पनि आज बोलेनन्। छलफलमा कसैले पनि भाग नलिएपछि द्रुत गतिमा विधेयक पारित भयो। 

विधेयक प्रस्तुत गरिसकेपछिका प्रक्रिया भइरहँदा मन्त्री पोखरेल धेरै बेरसम्म नजिकै उभिरहेका थिए। खासमा मन्त्री विधेयक प्रस्तुत गरिसकेपछि आफ्नै आसनमा फर्किनु पर्ने थियो। तर तल फर्किने स्थिति थिएन। उनी मर्यादापालककै पछाडि लुके। उनलाई तीन जना मर्यादापालकले सुरक्षा दिइरहेका थिए। 

मन्त्रीलाई उभ्याएर छलफल नहुने भएकोले एक जना अनुभवी मर्यादापालकले उनलाई दायाँपट्टीको लबीमा लगेर राखेका थिए। 
 



ट्रेन्डिङ पोस्ट

Ncell