PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भेनेजुएलाको राजनीतिक संकटलाई लिएर प्रचण्डको अमेरिकालाई चेतावनी



विधुर ढकाल

भेनेजुएलाको राजनीतिक संकटलाई लिएर प्रचण्डको अमेरिकालाई चेतावनी

काठमाडौं : भेनेजुएलामा वामपन्थी नेता निकोलस माडुरोलाई अपदस्त गर्दै विपक्षी दलका नेता जुआन गुएइदोले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरे। उनलाई अमेरिकाले पनि राष्ट्रपतिको मान्यता दियो। विश्वलाई नै तरंगित गरिदिएको यस घटनाको असर नेपालसम्मै आइपुगेको छ। 


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले भेनेजुएलामा भएको राजनीतिक अस्थिरताप्रति चासो दिँदै अमेरिकी हस्तक्षेपको कडा विरोध गरेको छ। 


दक्षिण अमेरिकी राष्ट्रहरु ब्राजिल, कोलम्बीया र पेरुले समेत गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको दाबी गरिएको छ। 


वर्षौंदेखि आर्थिक संकटले गुज्रिरहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोविरुद्ध केही सातादेखि भइरहेको जनप्रदर्शनका बीच गुएइदोको यस्तो घोषणा आएको थियो। तर, वर्तमान राष्ट्रपति मडुरोले भने अमेरिका र लगायत अरु राष्ट्रहरुको उक्त कदमको विरोध गरेका छन्।


सेनाको साथ रहेका मडुरोले अमेरिकासँग कुटनीतिक सम्बन्ध समाप्त पार्दै २४ घन्टाभित्र ती देशका कुटनीतिज्ञहरुलाई भेनेजुएला छोड्न आदेश दिएका छन्। उनले भेनेजुएलाको आन्तिरक मामिलामा कुनै विदेशी शक्तिको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन्।


नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली डावोस सम्मेलनमा सहभागी भइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पाटी (ने क पा) सँधै भेनेजुएलाका जनताको सर्वाभौमिकताको समर्थनमा रहेको जनाएका छन्। उनले प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति निकोलस माडुरोको समर्थनमा वक्तव्य जारी गरिएको हो। 


‘ने क पा वोलिभियाली रिपव्लिक अफ भेनेजुएला जनतालाई विभाजन गरी आन्तिरिक हिंशा भड्काउने र प्रजातन्त्र, सार्वभौमिकता र शान्तिलाई चुनौती दिने किसमले त्यहाँको आन्तिरिक मामिलामा संयुक्त राज्य र यसका समर्थकहरुले गरेको हस्तक्षेपको निन्दा गर्दछ,’ प्रचण्डद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ। 


वक्तव्यमा राष्ट्रपतिका रुपमा जुआन गुआइडोले गरेको स्वघोषणलाई अमेरिका र अन्य क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले प्रष्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको प्रस्ट भएको प्रचण्डको वक्तव्यमा उल्लेख छ। 


‘यो एउटा अस्वीकार्य आन्तिरिक मामिलामाथिको हस्तक्षेप र अधिनायकवादीको ‘कु’ प्रयास हो,’ वक्तव्यमा भनिएको छ, ‘विगत दशकदेखि अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमणको चुनौती दिँदै अमानवीय नाकाबन्दीसहित अस्थिरता फैलाउने प्रयासमा रहेको छ। यो संयुक्त राष्ट्र संघको चार्टर र शान्तिपूर्ण सहअस्थित्वको सिद्धान्त विपरीत छ।’ 


बक्तव्यमा अमेरिकासहितका देशहरुलाई अहस्तक्षेपकारी नीति, राष्ट्रिय सार्भभौमिकता र शान्तिपूर्ण सहअस्थित्वको सिद्धान्तको सम्मान गर्न आग्रहसमेत गरिएको छ। 


सत्तारुढ दल ने क पाले भेनेजुएलामा भएको जनविरोधी तथा अधिनायकवादी कदमको जोडदार विरोध गर्दै अन्तर्राष्ट्रिय समुदाय, राष्ट्र संघ तथा सार्वभौमिक राष्ट्रहरुलाई सार्वभौम, एकतावद्ध भेनेजुएलाको पक्षमा उभिन अपिलसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell