PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एकता टुंग्याउन कार्यदल माथि बनेको कार्यदल नै गुटैगटमा विभाजित, कहाँ कसियो विवादको गाँठो?



विधुर ढकाल

एकता टुंग्याउन कार्यदल माथि बनेको कार्यदल नै गुटैगटमा विभाजित, कहाँ कसियो विवादको गाँठो?

काठमाडौं : एक महिनाभित्र एकताको सम्पूर्ण प्रक्रिया टुंग्याउने निर्णयसहित गत पुस १२ गत सम्पन्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटी बैठकले ९ सदस्यी कार्यदल  बनायो। कार्यदललाई १५ दिन भित्र एकताका बाँकी काम पूरा गर्ने गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइयो।

 
यसबीच एक महिना बितेको छ। तर, कार्यदलभित्र नै अन्यौला सिर्जना हुँदा एकताको प्रक्रिया पछाडि धकेलिँदै गएको छ। पार्टी एकताका लागि यस अघि गठित कार्यदल माथि बनाइएको कार्यदल नै अन्यौलमा पर्दा एकता पनि धकेलिँदै गएको हो। 


१५ दिनभित्र प्रतिवेदन तयार गरी पुस मसान्त सम्म प्रतिवेदन पेश गर्ने जिम्मेवारी सहित गठित कार्यदलभित्र गहन रुपमा छलफल पनि हुन सकेको छैन। कार्यदलका सदस्यहरु नै गुटका आधारमा विभाजित हुँदा समस्या आएको कार्यदलका एक सदस्यले पहिलोपोस्टलाई बताए। 

तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीचमा पार्टी एकता हुँदा तीन महिनाभित्र एकताका सबै प्रक्रिया टुंग्याउने सहमति भएको थियो। तर, पार्टी एकताका भएको ८ महिना बितिसकेको छ। 


बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, जिल्ला कमिटी सहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने जिम्मेवारीसहित सचिवालय सदस्य रामबहादुर थापा 'बादल'को नेतृत्वमा पुस १२ गते स्थायी कमिटीले कार्यदल गठन गरेको थियो। 
एकताको प्रक्रिया नटुंगिँदा स्थानीय स्तर कार्यकर्ताहरु बेरोजगार छन्। त्यति मात्र होइन केन्द्रीय सदस्यहरु पनि जिम्मेवारी विहीन बसेका छन्।


के मा छ विवाद?

कार्यदलभित्र विवादको गाँठो यस अघि गठित प्रदेश कमिटीमा पुगेर कसिएको छ। नेताहरुलाई दोहोरो जिम्मेवारी नदिने नीति भए पनि गण्डकी प्रदेश र प्रदेश ५ का मुख्य मन्त्रीलाई पार्टी प्रदेशको जिम्मेवारीसमेत दिइएको छ।

 
दोहोरो जिम्मेवारी पाएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि कार्यदलका सदस्य छन्। उनले यसअघि स्थायी कमिटीको बैठकमै पार्टीको ईञ्चार्ज नछाड्ने बरु मुख्यमन्त्री नै छाड्ने भन्दै 'व्ल्याकमेल' गरेका थिए। दोहोरो पदको कुरा कार्यदल भित्र प्रवेश गराउन उनी बाधक बनेका छन्। प्रदेश कमिटी हेरफेर विषयमा विवाद भएपछि कार्यदलले केही निर्णय गर्न सकेको छैन।

यो पनिः 
ने क पाको प्रदेश कमिटीले पायो पूर्णता, यी हुन् प्रदेश कमिटी सदस्यहरुस्  असन्तुष्टि कायमै
कार्यदलको बैठकमा पार्टी महासचिव समेत रहेका विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्ज रहेका शंकर पोखरेल र रघुवीर महासेठ प्रदेश कमिटी हेरफेर प्रस्तावमा सहमत भएका छैनन्।


तर, अन्य सदस्यले प्रदेश कमिटीमा मापदण्ड, विधि एवं पद्धतिद्वारा योग्यलाई जिम्मेवारी नदिएको, केही नेतालाई दोहोरो जिम्मेवारी दिएको लगायतका विषय राख्दै प्रदेश कमिटीमा नव प्रवेशीलाई समावेश गरिएको भन्दै हेरफेर गर्नुपर्ने माग राखेका छन्। ने क पाको विधानमा प्रदेश किमिटी सदस्य हुनका लागि पार्टीको सदस्यता लिएको ८ वर्ष पुग्न पर्छ। तर, नव प्रवेशीहरुका सन्दर्भमा योग्यता नपुग्ने उनीहरुलाई प्रदेशमा पछि मनोनित गर्न सकिने तर, अहिले नै सदस्य बनाइन नहुने अडानमा नेता माधव नेपाल पक्षका कार्यदलका सदस्यहरु रहेका छन्। 


कार्यदलले पटक पटक छलफलमा बसेस पनि गहन रुपमा छलफल भने अगाडि नबढेको ती सदस्यले बताए। कार्यदलले अहिलेसम्म उसले एकता प्रक्रिया कसरी टुंग्याउने भन्ने मापदण्ड नै बनाउन सकेको छैन। कार्यदलभित्र नेताहरुको स्वार्थ नै बाझिएको छ। 

कार्यदलभित्रै तीन गुट

यता कार्यदलभित्र नै तीन वटा गुटहरु देखिँदा मापदण्ड नै बन्न गारो परेको स्रोतले बतायो। कार्यदलमा रहेका नेताहरु अध्यक्षहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल गुटमा विभाजित छन्।

 
कार्यदलमा मुख्य गरी दुई वटा गुटमा टकराव देखिएको छ, ओली र नेपाल। प्रचण्ड पक्ष भने तटस्थ बसेको छ।

 
नेपाल पक्षमा रहेका नेताहरु दोहोरो कार्यकारी जिम्मेवारी दिन नहुने अडानमा छन्। त्यस्तै केन्द्रीय सदस्य प्रदेश कमिटी सदस्यहरूमा पनि असहमति जनाएका छन्। त्यस्तै स्थायी कमिटीमा मनोनित रघुवीर महासेठको विषयमा पनि विवाद देखिएको छ। तर, महासेठ नै कार्यदल भित्र छन्। उनी ओली गुटका सारथीको रुपमा छन्। 


नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ छन्। जसमध्य पौडेल र पोखरेल पनि ओली गुटमा छन्। पूर्व माओवादी नेताहरु पुन, भट्ट र संयोजक थापा प्रचण्ड गुटमा छन्। त्यस्तै भट्टराई, पाण्डे र भुसाल नेपाल गुटको नेतृत्व गरिरहेका छन्।

 
पौडेल र पोखरेललाई तत्कालीन माओवादीतर्फका थापा, पुन र भट्टले समर्थन जनाउँदै प्रदेश कमिटी हेरफेर नगर्न सुझाव दिएका छन्।


कार्यदल सदस्य बेदुराम भुसालले एकताको बाँकी काम छिट्टै टुंगो लाग्ने बताए। कार्यदलमा छलफल चलिरहेको बताउँदै उनले छिट्टै नै टुंगो लाग्ने बताए। 'काम छिट्टो सक्ने गरी छलफल गरिरहेका छौँ भोलि नै पर्सि नै हुन्छ भन्ने होइन काम गर्दै जाँदा कहिले सकिन्छ त्यसपछि मात्र कहिले भन्न सकिन्छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell