PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'अंग्रेजीमा गाली गरेको' भन्दै सर्वसाधरण पिट्ने प्रहरी निलम्वित, उपचार खर्च पनि तिर्नुपर्ने



पहिलोपोस्ट

'अंग्रेजीमा गाली गरेको' भन्दै सर्वसाधरण पिट्ने प्रहरी निलम्वित, उपचार खर्च पनि तिर्नुपर्ने

काठमाडौं : सामान्य विवादमा सर्वसाधरणलाई निर्धात रुपमा कुटपिट गर्ने दुई प्रहरी जवान निलम्वनमा परेका छन्। बागलुङमा कार्यरत जवान प्रेम विष्ट र बुद्ध थापालाई निलम्वन गरिएको हो। पीडितसँगको सहमति अनुसार कारबाही भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी दीपक रेग्मीले बताए।

गत पुस २९ गते राति करिब साढे ९ बजेतिर (बागलुङ) गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई सामान्य भनाभन हुँदा जवानद्वयले कुटपिट गरेका थिए।

बस्नेतलाई पोखराको फेवासिटी अस्पतालमा लगिएको हो। बस्नेतको आइसीयूमा राखेर उपचार गरिएको थियो। बस्नेतको शरीरमा ५० भन्दा बढी टाँका लगाइएको छ। उनको पिसाब नली समेत फुटेको छ।

जवानद्वयले पीडितको उपचार खर्च समेत बेहोर्ने भएका छन्। उनीहरुले अहिलेसम्मको खर्च ४ लाख रुपैयाँ पीडित परिवारलाई बुझाइसकेका छन्।

यस्तो थियो घटना

पुस २९ गते राति करिब साढे ९ बजेतिर (बाग्लुङ) गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेत बजारबाट फर्किँदै थिए। उनीसँगै थिए साथीहरु बिक्री गैरे र कृष्ण खत्री।

घर पुग्नुअघि प्रहरी बिट थियो। त्यहाँ पुगेपछि प्रहरीले उनीहरूलाई सोधपुछको लागि रोक्यो। प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाले उनीहरूलाई सोधपुछ गर्दै थिए। केही समयमा नै उनीहरू बीच भनाभन सुरु भयो। त्यसपछि एकाएक माहौल बिग्रियो। कुटाकुट हुन थाल्यो। मदिराले लठ्ठिएका उनीहरूमाथि प्रहरी हाबी हुनपुग्यो। प्रहरीको सबैभन्दा बढी निशानामा परे सोमबहादुर।

सोमबहादुरमाथि प्रहरीले जथाभावी लट्ठी र बुट बजार्न पुग्यो। कृष्ण भन्छन्, ’हामी घर फर्किँदै थियौँ। प्रहरीले ‘ए मा साला हो’ भन्यो।

सोमबहादुरले अङ्ग्रेजीम 'ह्वाट डु यु मिन बाई मा साला’ भनेर प्रश्न गर्नुभयो। त्यसपछि प्रहरीले अमेरिका हो कि अष्ट्रेलियामा हो, अङ्ग्रेजी छाँट्छन् भन्दै भकुर्न थाल्यो।‘

करिब ४ सय मिटरको दूरीमा बस्नेतको घर छ। उनी लर्खराउँदै घर पुगे।

‘खाना खान आउनु भएन। म सुत्छु भनेर जानुभयो। तर सुत्न सक्नु भएन। कोखा घोच्यो भन्नुभयो, ‘बस्नेतकी श्रीमती कृष्णाले सुनाइन्।

उनलाई तत्काल स्थानीय आरती अस्पतालमा पुर्‍याइयो। सामान्य उपचारपछि उनी राति नै घर फर्किए। ‘घर फर्किएपछि पिसाब आयो भन्दै बाथरुम जानु भएको उहाँ त्यही बेहोस हुनुभएछ। त्यसपछि केही बेरमा होस आयो फेरि बेहोस हुनुभयो,' फेवा सिटी अस्पतालमा श्रीमानको हेरचाह गरिरहेकी कृष्णाले सुनाइन्।

सोमबहादुर सँगै भएका अन्य साथीको अवस्था भने सामान्य नै छ। ‘मैले हातले केही प्रहरीको लात्ती ब्लक गरे तर उहाँलाई मिलेर कुटेका हुन्,‘ खत्रीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell