PahiloPost

Aug 22, 2019 | ५ भदौ २०७६


मौनताको चर्को आवाज : शारीरिक भाषामा सुदामको थिएटर एक्स्पेरिमेन्ट


स्वेच्छा राउत

मौनताको चर्को आवाज : शारीरिक भाषामा सुदामको थिएटर एक्स्पेरिमेन्ट

केही अघि सुदाम सिके खुट्टामा उल्टो चप्पल लगाएर हिँड्थे - दायाँ खुट्टाको चप्पल बायाँमा र बायाँको दायाँमा। 

त्यसरी उल्टो चप्पल त केटाकेटीले लगाउँछन्। देख्नेहरूले सिकाउँछन्- 'चप्पल उल्टो भएछ। त्यो खुट्टामा यो लगाऊ अनि अर्को खुट्टामा यो।' 
सुदामलाई चाहिँ कसैले त्यसरी नै सचेत गरायो कि गराएन होला? 

अथवा उनको खुट्टामा उल्टो चप्पल देख्नेहरूले के सोचे होलान्? सोच्नेहरूले के प्रतिक्रिया दिए? वा उनको खुट्टामा पुग्ने आँखाहरूमा कस्तो भाव देखियो? 

सुदाम स्वयंले यी जिज्ञासाहरू मेट्न 'उल्टो' प्रयास गरे, सायद। उनी आफूले गरेको फरक कामहरूले अरुमा कस्तो असर पार्छ हेर्न खुब रमाउँछन्। किनकि ती प्रतिक्रिया अलग हुन्छन् भन्ने उनले बुझेका छन्। 

केही उनको खुट्टामा हेर्थे अनि सिधैं अनुहारमा पुग्थे। केही सुदामको लुगा हुँदै आँखामा गएर ठोक्किन्थे। केही फिस्स हाँसे, केही छक्क परेर हेरिरहे। ती हर भाव फरक थिए। 



भ्याङ्ल्याङ्ग सुरुवाल, गम्लङ्ग ओड्ने, टाउकोमा फेटा, कानमा ठूला ठूला कुण्डल, नाकमा फुली। उल्टो चप्पल मात्र होइन, समय समयमा फरक 'लुक्स' र 'गेट अप'मा देखिन्छन्, उनी। सधैं भेटिराख्ने, देखिराख्नेहरूलाई पनि अनौठो लाग्ने गरी।  

'सबै मेरा एक्स्पेरिमेन्ट हुन्। तीनले ममा अनि अरुमा कस्तो असर पार्छ बुझ्नका लागि,' उनको प्रयोगहरूमाथि प्रश्न गर्नेलाई उनले दिने जवाफ, 'यो मेरो समस्या हुनसक्छ। तर, यथार्थ यही हो, म लामो समयसम्म एउटै कुराको बानी पार्न सक्दिन। अरुले स्थापना गरेका मान्यता, विश्वासको पछि लाग्न पनि सक्दिन। त्यसैले केही फरक एक्स्पेरिमेन्ट गरौं भन्ने हुन्छ।' 

भिडमा नहराउनका लागि फरक प्रयोगमा जुट्छन् उनी। आफ्नो व्यक्तित्वमा र जिन्दगीमा पनि। उनको जिन्दगीसँग जोडिन्छ रङ्गमञ्च। त्यसैले यहाँ पनि केही भिन्न गर्न रुचाउँछन्। 

भिन्न काम भएको छ- नाटक 'पाँच'मा पनि।  सुदाम सिकेले निर्देशन गरे, प्रयोगात्मक नाटक। 

*** 

शरीरप्रतिको प्रेम र फिजिकल थिएटर प्रतिको लगावले बनाएको नाटक हो 'पाँच'। शरीर बन्ने पञ्चतत्त्व जल, वायु, अग्नि, आकाश र धर्ती जनाउने कलाकारहरू आयान खड्का, इङ्गीहोपो कोइंच सुनुवार, रिजन परियार, आलोक थामी, सुरज तमु बोल्दैनन्। तर, उनीहरूको शरीर बोल्छ। शरीरको हाउभाउबाट अभिनय तथा अभिव्यक्ति दिने शैली हो फिजिकल थिएटर।

नाटकको एउटा दृश्यमा हरेक कलाकार कोही खुशी हुन्छन्, कोही दु:खी, कोही डराएजस्तो लाग्छ, कोही दिक्दार अनि कोही अन्यौल। उनीहरूले आफ्नो भाव बुझाउन कुनै शब्द वा भाषा खर्चँदैनन्। बस् आफ्नो शरीरसँग खेल्छन्। जीवनमा आफूले भोगेको अवस्था अनि अनुभूतिसँग खेल्छन्। 

'भाव अनुहारमा मात्र होइन सधैं कपडाले छोप्ने नाङ्गो शरीरमा पनि झल्कन्छ। त्यसैले मैले शरीरमार्फत् कथाहरू भनेको हुँ,' निर्देशक सुदामले भने।

कथाहरू जसले आशा निराशा, प्रेम घृणा, सुख दु:ख समेट्छ। राजनीतिक अस्थिरताले पारेको असर पनि यहाँ अटाउँछ। आफ्नो तरिकाले बाँच्न गाह्रो सामाजका मुद्दाहरू, यौन दुर्व्यवहार गर्ने र पीडामा पर्नेहरूको विषय पनि उठाउँछ। एउटाको काँध चढेर माथि पुग्नेहरू, अरुको समस्या ट्वाल्ल परेर हेर्नेहरूको कथा पनि भन्छ। 

नाटकमा एउटा दृश्य छ जहाँ पाँचमध्ये तीन पात्र एक बन्छन्। मञ्चको अग्लो स्थानमा गएर बस्छन्। र, तल रहेका दुईबीचको मानसिक, शारीरिक द्वन्द्व हेरेर मात्र बस्छन्। 

सायद, निर्देशकले पीडकहरूलाई संकेत गरे। ती पीडक जो जनताको काँध चढेर राजनीतिक, सामाजिक, आर्थिक उचाइमा पुगे। र, अहिले पदमा बसेर जनताकै समस्या, अभाव, द्वन्द्व हेर्दैछ, मौन रहेर। 

नाटकलाई आफ्नो तरिकाले हेरेर, आफ्ना अनुभूतिहरूसँग जोडेर, फरक बुझ्न र दृष्टिकोण बनाउन पर्याप्त ठाउँ दर्शकलाई छोडिदिएका छन्, निर्देशकले। 

आफ्नो कम बोल्ने स्वभावलाई उनी 'कमजोरी'को रुपमा स्वीकार्छन्। त्यही कमजोरीबाट उनले उर्जा लिएका छन्। बोलेर अभिव्यक्त गर्न नसकेका खुशीको कुरा, दुखाएका कुरा, माया प्रेमका कुरा, अभाव र समस्याका कुरा मञ्चमा देखाए, केही नबोलेरै।

'पाँच यही हो भन्न सक्दिन। जे होस् मैले बोलेर व्यक्त गर्न नसक्ने धेरै कुरा नाटकमार्फत् भनेको छु,' उनले भने।
 
उनले लामो समय हेरेर र अध्ययन गरेर प्रयोग गरेको नाटकको विधा हो यो। 

'शरीरसँगको प्रेमले मलाई फिजिकल थिएटरबारे पढ्न, हेर्न र बुझ्न झक्झकायो। केही समय हेरिसकेपछि मैले पनि फिजिकल थिएटरमा काम गर्नुपर्छ भन्ने भएको हो,' सुनाए, 'समस्या एउटै थियो, म यो विधामा पोख्त थिइन।' 

हिँडिरहेको बाटोबाट फरक हिँड्नुपर्छ, नयाँ बाटो बनाउनु पर्छ। नेपाली रङ्गमञ्चलाई केही फरक दिनुपर्छ भन्ने सोचले बन्यो, पाँच। यसअघि उनले 'च्यातिएको पर्दा' र 'आन्दोलन' निर्देशन गरेका थिए। 

२०७४ को वैसाखमा मञ्चन भएको आन्दोलनले उनलाई रङ्गमञ्चप्रति थप जिम्मेवार बनायो। उनी सधैं भइआएका भन्दा अलग धारका नाटक निर्माणको सोचमा त्यही बेला थिए। 

'प्राय नाटक हेरेर निस्किँदा वा हेरिरहँदा मलाई त्यसले छुँदै नछुने। म छक्क पर्थेँ, मलाई छुन भयानक केही हुन पर्ने हो कि के हो? खुट्याउन नसकेर। त्यही थाहा पाउन पनि मैले यो काम गरेँ। राम्रो तरिकाले होस् वा नराम्रो तरिकाले दर्शकको संवेदना छुने प्रयास गरेँ।' 

फिजिकल थिएटर गर्दाको रिस्कहरू बारे उनले नसोचेका होइनन्। तर, रिस्कले तर्साउथ्यो भने समाज, व्यक्ति वा कुनै झुण्डले स्थापित विचारबाट पर रहने साहस कसरी गर्थे र?" 

संवादबिना कथा भन्ने नाटक हेर्ने दर्शकको बानी छैन। बोल्दै नबोली कथा भन्ने कलाकारको पनि बानी छैन। यस्तोमा बुझ्न बुझाउन गाह्रो हुन्छ भन्ने थाहा पाएरै फिजिकल थिएटरको तयारी थाले। 

'हसाउँने, आनन्द दिने नाटकको बानी लागेको छ। यस्तोमा दर्शकले नाटकसँग आफ्ना अनुभूतिहरू जोड्न नसक्ने हो कि भन्ने डर पनि थियो,' सुदाम सुनाउँछन्। 

त्यही डरले हुनसक्छ, मञ्चनको अघिल्लो दिनसम्म नाटकको फ्रेममा काम भयो। हरेक दिन कलाकारहरूसँग काम गर्थे। भन्न खोजेको कुरा बुझाउँथे। कलाकारले पनि गर्थे। सबैकुरा राम्रो हुन्थ्यो। राति सिलिङतर्फ हेरेर पुन: एकपटक रिहर्सलमा भएको काम याद गर्थे। खुशी हुँदै निदाउँथे। 

बिहान उठ्दा मुड चेन्ज। उनलाई भन्न खोजेको कुरा नदेखिएजस्तो लाग्थ्यो। आफूले कल्पना गरेजस्तो सेट बनाउन नसकिने सम्झन्थे। चाहिने लाइट नभएको सम्झन्थे। कहाँ कहाँ परिवर्तनको आवश्यकता छ सोच्थे र थिएटर जान्थे। 

'पचासौंपटक बनाउँदै भत्काउँदै गर्दा कलाकार साथीहरूलाई पनि दिक्क लाग्थ्यो। रीस पनि उठ्थ्यो होला तर उहाँहरूले कहिल्यै सक्दिन भन्नुभएन। साथ दिनुभयो। छोडेर जानु भएन,' खुशी सुनिन्छन्, 'त्यसैले पनि म आफैँलाई सौभाग्यशाली निर्देशक ठान्छु।' 

पाँच कलाकारले एक व्यक्तिको सोच र भावलाई व्यक्त गर्नु थियो यसमा। यहाँ उनीहरूको शारीरिक बनावट, बुझाइ, काम गर्ने तरिका, सोच र व्यवहारले असर गर्न सक्थ्यो। सुदामले त्यसो हुन दिएनन्। उनले आफ्नो सोच लादेनन्। बरु आफूले देखाउन चाहेको कथाहरू कलाकारको अनुभूतिसँग जोडेर प्रस्तुत गर्न लगाए।
 
'म उहाँहरूको कामसँग खुशी छु। नेपाली रङ्गमञ्च र कलाकारहरूको दायराहरू फराक नहुनुको वावजुद पनि मसँगै रिस्क लिनुभयो,' भन्छन्, 'यसको मतलब नाटक बनाइ सकियो भन्ने हो। यसमा अझै प्रयोग गर्नु छ। अझै बनाउँदै जानु छ।'  

समय, स्रोत र सुविधाका कारण पनि नाटकमा हुनपर्ने जति काम नभएको असन्तुष्टि उनको बोलीमा झल्किन्छ। 

'रङ्गमञ्च सिक्नेहरूले निरन्तर सिक्न, पढ्न, खोज्न, देखाउन ठाउँ मात्र पाए पनि कति स्तरीय नाटकहरू बन्थे होलान्, नेपाली थिएटरको दर्शक बढ्थे होलान्,' उनी गुनासो गर्छन्, 'यहाँ त एउटा नाटक बन्ने भएपछि बल्ल भेला हुन्छौं। रिहर्सल, मञ्चन अनि सकियो।' 

त्यसैले नाट्यकर्ममा लामो यात्रा गर्ने वातावरण नभएको उनको निचोड हो। हरेकपटक नयाँ नाटक बन्दा नयाँ कलाकारसँगको काम गर्नुपर्ने बाध्यता। 'गुरुकुलमा कलाकारहरू त्यही बसेर सिक्न, बुझ्न, पढ्न पाउँथे। खोइ अहिले त्यो वातावरण? चार पाँच वर्षमा रङ्गमञ्चमा नयाँ अनि राम्रो काम गर्न सके बन्छ कि?' 

उनी नाटक 'पाँच'लाई त्यसैको सुरुवातको संज्ञा दिन्छन्। सीमित विषय र सान्दर्भिकता मात्र नबोल्ने नाटक तीन दिन कौसी थिएटरमा मञ्चन भएको थियो। यसलाई बनाउने भत्काउने क्रम जारी छ। नेपाल अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल नजिकिँदै छ। मञ्चन हुने तीसवटा नाटकमध्ये 'पाँच' पनि एक हो। 

एक महिनाको तयारी, तीन दिन मात्र मञ्चन। रङ्गमञ्चमा नयाँ प्रयोगबारे कति दर्शकले थाहा पाए त्यसको अङ्कमा हिसाब छैन। तर, शरीरको भाषामाथि गरेको यो थिएटर एक्स्पेरिमेन्टको आयु लामो हुने विश्वास उनमा छ। विश्वासले नै उनलाई अझ धेरै एक्स्पेरिमेन्ट गर्न हौसाएको छ। 



मौनताको चर्को आवाज : शारीरिक भाषामा सुदामको थिएटर एक्स्पेरिमेन्ट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट