PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले जित्यो एकदिवसीय सिरिज



पहिलोपोस्ट

अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले जित्यो एकदिवसीय सिरिज

महेन्द्र सिंह धोनी र केदार जादवले चौथो विकेटका लागि शतकीय साझेदारी गरेपछि भारतले तेस्रो एकदिवसीयमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै तीन खेलको एक दिवसीय सिरिज २-१ ले जितेको छ।

भारतका लागि धोनीले नटआउट ८७ र जादवले नटआउट ६१ रन बनाए। त्यसअघि स्पीनर युजभेन्द्र चाहलले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि अष्ट्रेलिया २३० रनमा अलआउट भएको थियो।

मेलवर्नमा भएको निर्णायक तथा अन्तिम एकदिवसीयमा घरेलु टोलीले दिएको २३१ रनको लक्ष्य भारतले ४ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गरेको हो।

धोनी र जावदले चौथो विकेटका लागि नटबउट १२१ रनको साझेदारी गर्दै भारतलाई जित दिलाएका हुन्। ११४ बल खेलेका धोनीले ६ चौका प्रहार गरे। जावदले ५७ बल खेल्दै ७ चौका प्रहार गरे।

धोनीले कप्तान विराट कोहलीसँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। विराटले ४६ र शिखर धवनले २३ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४८.४ ओभरमा २३० रनमा अलआउट भएको थियो। १२३ रनमा ५ विकेट गुमाएको अष्ट्रेलियाको स्कोर उकास्न पिटर ह्याण्ड्सकम्ले अर्धशतक प्रहार गरे। उनले ६३ बल खेल्दै २ चौकाको मद्दतमा ५८ रन बनाए। यस्तै सन मार्सले ३९, उस्मान खवाजाले ३४ तथा ग्लेन म्याक्सवेलले २६ रन बनाए।

भारतका लागि उत्कृष्ट बलिङ गरेका चाहलले १० ओभरमा ४२ रन खर्चेर ६ विकेट लिए। भुवनेश्वर कुमार र मोहम्मद शामीले २-२ विकेट लिए। चाहल खेलको म्यान अफ दि म्याच घोषित भए।

पहिलो एकदिवसीय हारेपनि त्यसपछिका दुई खेल जितेर उत्कृष्ट प्रदर्शन गरेका धोनी प्लेअर अफ दि सिरिज घोषित भए।

पहिलो खेल अष्ट्रेलियाले ३४ रनले जित्दा धोनीले ५१ रन बनाएका थिए। रोहित शर्माले शतक प्रहार गरेपनि भारतलाई जिताउन सकेका थिएनन्।

दोस्रो खेलमा भारतलाई ६ विकेटले जिताउन धोनीले नटआउट ५५ रन बनाएका थिए। उक्त खेलमा कोहलीले शतक प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell