PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले जनताको आवाजलाई दबाइरहन सक्दैन: रामचन्द्र पौडेल



सरकारले जनताको आवाजलाई दबाइरहन सक्दैन: रामचन्द्र पौडेल

चितवन: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्। 

प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताए। पौडेलले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर अगाडि बढ्ने बताए। उनले भने, “जनताका आवाजलाई सधैँ दवाउन सकिदैन, देशका समस्यामा लापरवाही गर्न पाइदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ।” 

वरिष्ठ नेता पौडेलले सरकारलाई सही बाटोमा हिडाउँन जबरजस्ती प्रयास हुनेसमेत बताए। “देशका समस्यामा लापरवाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउँछन् र सरकारलाई सही बाटोमा हिँडाउनलाई जबरजस्ती प्रयास हुन्छन्,”उनले भने। 

दूरदराजका जनताले पनि स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने डा गोविन्द केसीका मागप्रति सरकारले वेवास्ता गरेको उल्लेख गर्दै पौडेलले थपे, “दूरदराजमा रहेका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनु पर्छ। संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ। त्यो अनुरुप सबै विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने उहाँको मागलाई सरकारकाले वेवास्ता गरेको छ। त्यो संविधान विपरित पनि छ ।” 

गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई पनि सरकारले लगभग विघटन गर्न लागेको आरोप लगाउँदै वाइड बडी, सुनकाण्ड, भ्रष्टाचारका काण्ड अगाडि आइरहेकोले सरकार यस्ता घटनाको ढाकछोप गर्न लागेको तर्क गरे। पार्टीभित्रको विवाद मिलेको हो भन्ने प्रश्नमा नेता पौडेल पार्टीभित्र केही कुरामा फरक मत भई नै रहने बताए। भने, “केही कुराहरु नेतृत्वको गतिविधलाई मन नपरेको हुन सक्छ। ती विवाद हुँदाहुँदै पनि पार्टी अहिलेका लोकतन्त्र, राष्ट्रियता र सुशासनको सवालमा एक हुन्छ।” महासमिति बैठकले एकताको सन्देश दिएको बताउँदै उनले भने, “त्यो कुरा तलसम्म आउनुपर्छ। लोकतन्त्र र मुलुकको रक्षा गर्नु काङ्ग्रेसको दायित्व हो।”रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell