PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

वुमन्स टी २० स्म्यास : सीता रानाको अलराउण्ड प्रदर्शन र रुविनाको घातक बलिङमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाइनलमा



पहिलोपोस्ट

वुमन्स टी २० स्म्यास : सीता रानाको अलराउण्ड प्रदर्शन र रुविनाको घातक बलिङमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यासमा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया नेपाली बलरको धारिलो बलिङसामु टिक्न नसक्दा २७ रनमै अलआउट भयो।

इन्डोनेसियाका लागि युलिया अङ्ग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन्।

इन्डोनेसियालाई कम स्कोरमा अलआउट गर्न नेपाली बलरले घातक बलिङ गरे। कप्तान रुविन क्षेत्रीले ३.१ ओभरमा २ ओभर मेडन राख्दै २ रन खर्चेर ४ विकेट लिइन्। सीता राना मगरले २ ओभर बलिङ गर्दै २ रन खर्चेर १ विकेट लिइन् भने १ ओभर बलिङ गरेकी नेरी थापाले १ रन खर्चेर १ विकेट लिइन्।

यस्तै कविता कुँवरले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् भने सरीता मगरले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन्।

त्यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सीता राना मगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर ११९ रन बनाएको थियो।

नेपालको लागि उपकप्तान सीताले सर्वाधिक ४८ रन बनाइन्। यस्तै इन्दुर बर्माले नटआउट ४० रन योगदान गरिन्। यी दुईले दोस्रो विकेटका लागि अर्धशतकिय साझेदारी समेत गरे।

१९औँ ओभरको दोस्रो बलमा रनआउट भएपछि नेपालको लागि महिला टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुनबाट सीता २ रनले चुकिन्। उनले ६२ बल खेल्दै १ चौका प्रहार गरिन्। पहिलो विकेटका लागि काजल श्रेष्ठसँग ३१ रनको साझेदारी गरेकी सीताले दोस्रो विकेटका लागि इन्दु बर्मासँग अर्धशतकिय साझेदारी गरिन्।

यी दुईले ७० रनको साझेदारी गर्दै नेपालले राम्रो स्कोरतर्फ डोहोर्‍याएका थिए। ओपनर काजलले २० बल खेल्दै १४ रन बनाइन्।

इन्दुले ३४ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट ३९ रन बनाइन्। ५ बल खेलेकी नेरी थापाले १ चौका प्रहार गर्दै ५ रन बनाइन्।

यस खेलमा नेपालले तीन कीर्तिमान समेत बनाएको छ। इन्डोनेसिया विरुद्धको स्कोर नेपाली महिला टिमले टी २० मा बनाएको उच्च स्कोर हो। यस्तै व्यक्तिगततर्फ सीताले बनाएको ४८ रन नेपाली खेलाडी उच्च स्कोर हो। दोस्रो विकेटको लागि सीता र इन्दुको साझेदारी पनि नेपालको लागि उच्च साझेदारी हो।

नेपाल महिला क्रिकेट टोली सिनियर स्तरमा १२ वर्षपछि फाइनलमा पुगेको हो। सन् २००७ मा भएको एसीसी वुमन्स टुर्नामेन्टमा फाइनल पुगेको नेपाल बंगलादेशसँग पराजित हुादै उपविजेता बनेको थियो। त्यसपछि नेपाल सिनियर स्तरमा फाइनल पुगेको थिएन। २००७ मा खेलेका नेरी थापा मगर र सीता राना मगर अहिले पनि नेपाली टिममा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell