PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल र फ्रान्सबिच ७० औं वर्षगाँठ मनाउने सहमति, २४ वर्षपछि होला त उच्चस्तरीय भ्रमण?



विधुर ढकाल

नेपाल र फ्रान्सबिच ७० औं वर्षगाँठ मनाउने सहमति, २४ वर्षपछि होला त उच्चस्तरीय भ्रमण?

काठमाडौं : नेपाल र फ्रान्सबीच २०१९ मा उच्चस्तरीय भ्रमण गराउँदै दुई देशबीच कुटनैतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ मनाउन सहमति भएको छ।

आज परराष्ट्र मन्त्रालयमा भएको द्वीपक्षीय वार्तामा यस्तो सहमति भएको हो।

परराष्ट्र सचिव शंकरदास वैरागी र फ्रान्समा युरोप ममिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेतृत्वको प्रतिनिधि मण्डलबीचको छलफलमा दुई देशबीच साझा मुद्दामा एकसाथ उभिने सहमति भएको परराष्ट्र सचिव वैरागीले जानकारी दिए।

सन् १९८३ फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्सिस मिट्राण्डले नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट तत्कालीन राजा वीरेन्द्रले १९९४ मा औपचारिक भ्रमण गरेका थिए। त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान भएको छैन।

नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष   आगामी अप्रिलमा २० मा पूरा हुँदै छ। बेलायत, अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो फ्रान्स।


यही यही सन्दर्भमा सन् २०१९ लाई उच्चस्तरीय भ्रमण वर्षको रुपमा लिने गरी छलफल अगाडि बढेको बताइएको छ।

२०५६ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फ्रान्स भ्रमण तय भएको थियो। तर उनी भ्रमणमा जानु अगाडि नै राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि उनको प्रधानमन्त्री स्तरको भ्रमण हुन सकेको छैन। त्यसअघि बेलायत भ्रमणमा गएका तत्कालीन श्री ३ जंगबहादुर राणा फ्रान्स पुगेका थिए।

नेपाल र फ्रान्सबीच सचिवस्तरीय वार्ताको तय गत नोभेम्बरमै भएको थियो। परराष्ट्र सचिव वैरागीले गत वर्ष फ्रान्सको भ्रमण गरी त्यहाँका समकक्षीसँग छलफल गरेका थिए। पहिलो विश्वयुद्ध सकिएको शतवार्षिकीका अवसरमा पेरिसमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट त्यहाँ पुगेका बैरागीले दुई देशबीचको ७० औँ वर्षगाँठलाई मनाउने सहमति गरी फर्किएका थिए।

सोही समयमा नेपाल र फ्रान्सका विदेश सचिवस्तरीय छलफलपछि बैरागीले फ्रान्सेली समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए।

यसैबीच द्वीपक्षिय छलफलका क्रममा दुई देशबीच जलवायु परिवर्तन लगायतका अन्तार्राष्ट्रिय मुद्दाहरुमा एक ठाउँमा उभिन सहमति जुटेको परराष्ट्र सचिव वैरागीले जानकारी दिए।


'भेटवार्ता फलदायी भयो। दुई देशबीच सन् २०१९ मा उच्चस्तरीय भ्रमण गारउँदै दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउने विषयमा छलफल भएको छ,' सचिव वैरागीले भने, 'दुई देशबीच वहुपक्षीयताका क्षेत्रमा मिलेर काम गर्ने विषयमा सहमति भएको छ।'

पत्रकार सम्मेलनमा बोल्दै महासचिव मोन्टाग्नेले नेपाल र फ्रान्सबीच धेरै कुरामा समानता रहेको भन्दै ती क्षेत्रमा मिलेर काम गर्ने बताए।

'हाम्रा साझा एजेण्डाहरु छन्। ती मध्ये जलवायु परिवर्तन एक हो। हामीसँग पनि हिमाल छन् हुन त ती तपाईँहरुका भन्दा होँचा छन्,' उनले अगाडि भने, 'वन फँडानी, सहितका वातावरणका क्षेत्रमा मिलेर काम गर्ने छौँ।'

उनले नेपाल प्रजान्तिक अभ्यासमा अगाडि बढेको र लैंगिक समानता र लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा नेपाल विश्वकै लागि उदाहरण भएको बताए।


उनले क्षेत्रीय तथा अन्तार्राष्ट्रिय मुद्दाहरुमा समेत नेपालसँग मिलेर काम गर्ने बताए।

'हामी ईयुको एउटा सदस्य हौँ। नेपाल सार्क र विम्स्टेकको पनि सदस्य राष्ट्र हो। दुई देशबीच यी क्षेत्रीय संगठनहरुको विषयमा समेत साझेदार हुने छ,'  उनले भने।

त्यस्तै पर्यटनको क्षेत्रमा समेत मिलेर काम गर्ने मोन्टाग्नेले बताए। 'पर्यटन पनि हाम्रो साझा विषय हो। हरेक वर्ष ३० हजार फ्रान्सेली नागरिक नेपाल भ्रमण गर्न आउँछन्। उनीहरु तपाईँहरुको आथित्यताबाट प्रभावित भएर नेपालको प्रचार फ्रान्समा गर्छन्,' उनले भने।

४४ वर्ष अगाडिको नेपाल भ्रमणको सम्झना

यसैबीच नेपाल भ्रमणमा रहेका फ्रान्सका परराष्ट्र मन्त्रालयका महासचिवले ४४ वर्ष अगाडि विद्यार्थी हुँदा नेपाल भ्रमणमा आएको सम्झना गरेका छन्। सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'मैले यतिवेला ४४ वर्ष अगाडि नेपाल भ्रमणमा आउँदाको क्षण सम्झिरहेको छु। जतिवेला म विद्यार्थी थिएँ। पदयात्रामा गएको हेलम्वु सुन्दरीजल घुमेको सम्झना ताजा भएको छ। नेपाल साँच्चिकै राम्रो छ।'

उनले नेपालको न्यानो आथित्यता, सम्मानबाट आफू प्रभावित भएको बताए। 'तपाईँहरुको कला संस्कृतिले विश्वलाई लोभ्याउँछ। साच्चिकै दुई देशबीच कला संस्कृतिको विकासमा साझेदारी चाहन्छौँ,' उनले भने।

मिस नेपाल श्रृंखला सद्भावना दुत नियुक्त


यसैबीच नेपाल र फ्रान्सवीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउन मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडालाई सद्भावना दुत नियुक्त गरिएको छ।

परराष्ट्र मन्त्रालय र काठमाडौं स्थित फ्रान्सेली दुतावासले उनलाई सद्भावना दुतको रुपमा नियुक्त गरेको हो। त्यस्तै आजै दुबै समकक्षीहरुले ७० औँ वर्षगाठको लोगो सार्वजनिक गरेका छन्। लोगोको डिजाइन १० कक्षामा पढ्ने विद्धार्थी आयुस कुमारले गरेका हुन्।

दुई देशबीच सन् २०१९ भर कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ विभिन्न कार्यक्रम गरी मनाउँदै छन्। 

यस्ता छन् कार्यक्रम 

जनवरी ३१- वादविवाद कार्यक्रम
मार्चमा वा अप्रिलमा- दुई देशका उद्योगीहरुबीच कार्यक्रम
मार्च २१ मा- फ्रान्सेली खाना प्रदर्शन
मार्च १५ देखि २४ सम्म- गीत कविता प्रतिवयोगिता साथै फ्रान्सेली कन्सर्ट
अप्रिल २०- दुई देशका राष्ट्र प्रमुख र सरकार प्रमुखबीच शुभकामना आदानप्रदान
अप्रिल २०- फ्रान्सेली व्याण्डको कन्सर्ट
अप्रिलमै- दुई देशबीच कुटनीतक सम्बन्धको ७० औँ वर्ष झल्काउने हुलाक टिकट प्रकाशन
मे २९- फ्रान्सेली आरोहीहरुलाई सम्मान
जुन- नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध विषयमा सेमिनार
जुन २१- म्युजिक फेस्टिवल
जुलाई १४- नेशनल डे र ७० औँ वर्षगाँठ मनाइने
अगस्ट- स्मारिका प्रकाशन
अगस्ट- विश्वविद्यालयमा राजदूतको सम्बोधन
सेप्टेम्बर- नेपाल फ्रान्स फ्रेण्डसिप समूहका अध्यक्ष अपर हाउसका सदस्य रेमण्ड भालको  भ्रमण
नोभेम्बर- फेशन सो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell