PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

ए डिभिजन लिग : दोस्रो भइसकेको संकटामाथि एपीएफको जित



पहिलोपोस्ट

ए डिभिजन लिग : दोस्रो भइसकेको संकटामाथि एपीएफको जित
file photo

काठमाडौँ : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले 'शहिद स्मारक ए डिभिजन लिग २०७५' मा सुखद अन्त्य गरेको छ। लिगको अन्तिम चरण अन्तर्गत सोमवार भएको खेलमा उपविजेता बनिसकेको संकटा क्लबलाई २-१ ले पराजित गर्दै एपीएफले लिग टुङ्गाएको हो।

एपीएफलाई सिजनको सातौँ जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक-एक गोल गरे। संकटाको लागि लक्ष्मण रुचालले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए।

एपीएफले यस सिजन लिगमा खराब सुरुवात गरेपनि लिगको पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेको हो। सुरुको ६ मध्ये दुई खेल मात्र जितेको एपीएफले ७ अंक जोडेको थियो। तर त्यसपछिका ७ मध्ये ५ खेलमा जित हात पार्दै एपीएफले 'टप फाइभ'मा रहेर लिग सकायो।

संकटालाई हराएपछि अर्को विभागीय टोली आर्मी समान सात खेल जितेको एपीएफले १३ खेलबाट २३ अंक जोड्दै पाँचौ स्थानमा लिग सकाएको छ। एपीएफले आर्मी र पुलिस दुवै विभागीय टोलीलाई हराएको थियो। एपीएफ चौथो भएको आर्मीभन्दा २ अंकले मात्र पछि पर्दा छैटौँ भएको पुलिसले भन्दा ४ अंक बढी जोड्यो।

यसअघि नै दोस्रो स्थान पक्का गरिसकेको संकटाले तेस्रो हार बेहोर्दै लिग सकाएको छ। संकटा यसअघि आर्मी र मनाङसँग मात्र हारेको थियो। यस सिजन अनपेक्षित रुपमा उत्कृष्ट प्रदर्शन गर्दै संकटाले १३ खेलबाट २८ अंङ्क जोड्यो। यसक्रममा संकटाले थ्री स्टार, पुलिस, च्यासn, हिमालयन शेर्पा जस्ता क्लबमाथि जित हात पारेको थियो।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको २३औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। काउन्टर अट्यसकमा प्राप्त बलमा खड्काले संकटाका दुई खेलाडीलाई छलाउँदै गोलकिपर राजाबाबु ङेष्ठलाई कुनै मौका नदिई गोल गरेका थिए।

पहिलो हाफमा एक गोल गरेको एपीएफले दोस्रो हाफमा पनि एक गोल थप्यो।

७१औँ मिनेटमा सुदिप सिख्राकारको फ्रिकिकमा राजन गुरुङले हेड गोल गर्दै एपीएफको अग्रता दोब्बर पारेका थिए।

खेलको अन्तिम दश मिनेटमा संकटाले खेलमा फर्कने मौका पाएपनि एपीएफका डिफेण्डर बाधक बने। ८३औँ मिनेटमा संकटाको दुई प्रहार एपीएफले गोललाइनबाट बचाएको थियो। गोलकिपर बिट भइसकेको अवस्थामा सुदिप सिख्राकार र विश्वास उदासले गोललाइनबाट बल बचाएका थिए।

इन्जुरी टाइमको तेस्रो मिनेटमा लक्ष्मण रुचानले फ्रिकिकबाट गोल गर्दै गोल अन्तर कम पारेपनि संकटाले हार टार्न सकेन।

इन्जुरी टाइमको पाँचौ मिनेटमा संकटाले बराबरी गर्ने अवसर गुमायो। सुभाष गुरुङले ६ यार्ड नजिकबाट फ्रि प्रहार गर्न पाएपनि बल पोष्ट नजिकैबाट बाहिरियो।

लिग अन्तर्गत मंगलावार अन्तिम दुई खेल हादैछन्। च्याम्पियन बनिसकेको मनाङले फ्रेण्ड्स क्लबसँग एन्फा कम्प्लेक्स मैदानमा तथा ब्रिगेडले एनआरटीसँग एपीएफ मैदानमा खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell