काठमाडौं: राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले आज शपथ लिएका छन्। शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त सांसद चौधरीले आफु टीकापुर घटनाको दोषी भए कारबाही भोग्न तयार भएको बताएका छन्।
चौधरीले भने, ’मलाई लाग्छ न्यायलयले न्याय दिनुपर्छ। स्पष्ट छानविन हुनुपर्छ। दोषी उम्किनु हुँदैन। मैले कहिले दोषी उम्किन पर्छ भनेको छैन।'
टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। चौधरीले आफुले पाएको जनमत नै निर्दोष सावित गरेकोसमेत बताएका छन्। ‘रेशम जी निर्दोष व्यक्ति हो,' त्यहाँको जनमतले प्रमाणित गरेको चौधरीको दाबी थियो।
चौधरीले न्यायले आफूलाई न्याय दिनेमा पनि विश्वास व्यक्त गरे। भने, ‘न्यायलयले न्याय दिनुपर्छ भिख होइन। रेशम भिख माग्दैन। दोषी भए प्रमाणित गरिदिनुहोस्।' टीकापुर घटना हुँदा आफु उक्त स्थानमा नरहेको उनले दाबी गरे। 'टीकापुरमा भदौ ३ गतेमात्र पुगेको थिएँ। सुरक्षाकर्मीकै गाडीमा धनगढी पुगें। सुरक्षाकर्मीसँगै टीकापुरमा पुगें। चौबिसै घण्टा सुरक्षाकर्मीको घेरामा थिएँ। मैले कतिखेर षड्यन्त्र गरे?’ उनको प्रश्न थियो।
२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए।
घटनाका मुख्य आरोपी सांसद चौधरी गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालिमा आत्मसमर्पण गरेका थिए। त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्।
