PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मेलम्ची खानेपानी आयोजना २७ वर्ष चिप्ले किराको गतिमा, म आएपछि जापनिज कारको स्पिडमा : प्रम ओली



पहिलोपोस्ट

मेलम्ची खानेपानी आयोजना २७ वर्ष चिप्ले किराको गतिमा, म आएपछि जापनिज कारको स्पिडमा : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गरेका छन्। 

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गरे। उनले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्ष यता तीव्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने दाबी गरे। 

बिहीवार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘२७ वर्ष चिप्ले किराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्ष यता जापनिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको छ।’ 

उनले अलिकति गतिरोध आए पनि त्यसलाई समयमै पूर्णता दिन सरकार प्रतिबद्ध रहेको बताए। ‘मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार छ,’ उनले भने। इटालियन ठेकेदार कम्पनी सिएमसीले बजेट अभावको कारण देखाउँदै काम छोडेर गइरहेका बेला पनि प्रधानमन्त्री ओलीले सो आयोजनाको कामलाई पूर्णता दिन ढिलाइ नहुने दाबी गरे। 

हरेक दिन एक पाइला अघि बढेन गरी सरकारले विकास निर्माणको कामलाई अघि बढाएको ओलीको दाबी थियो। 

प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पुरानै अवस्थामा परिणत गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। ‘काठमाडौँ उपत्यकामा स्वच्छ हावा, सफा र पिउन योग्य पानी बनाउने संकल्पप्रति सरकार प्रतिबद्ध छ,’ उनले भने। 

चाइनाको साफ बोन वाटर सर्भिस होल्डिङले सो प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी लिएको छ। कुल ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो प्रशोधन केन्द्र ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ। प्रधानमन्त्री ओलीले सो प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गरे। 

कार्यक्रममा बोल्दै खानेपानी मन्त्री विना मगरले सो प्रशोधन केन्द्रको काम तोकिएको समयमै सम्पन्न गर्न सरकारले आवश्यक सबै खालको सहयोग निर्माण कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell