PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जापानी विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री ओलीको जापान भ्रमणको तयारी हुँदै



विधुर ढकाल

जापानी विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री ओलीको जापान भ्रमणको तयारी हुँदै
फोटो: etthawitthi.com

काठमाडौं: जापानका विदेशमन्त्री तारो कोनोले पुसको अन्तिम साता नेपालको दुई दिने भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारो कोनो पुस २५ गते नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार जापानी विदेशमन्त्रीले पुस २५ देखि २६ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा विदेशमन्त्री तारो कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै दुई देशका समकक्षीबीच द्वीपक्षिय बैठकसमेत बस्ने छ।

काठमाडौं ओर्लिने दिन नै तारो कोनो र परराष्ट्रमन्त्री ज्ञवालीबीच प्रतिनिधिमण्डलस्तरको द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापश्चात् दुबै परराष्ट्रमन्त्रीले संयुक्त प्रेस सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सोही दिन जापानी समकक्षीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गर्ने छन्।

उच्चस्तरीय भ्रमणको तयारी

यसैबीच जापानी विदेशमन्त्री तारोकोनोको नेपाल भ्रमण दुई देशबीचको उच्चस्तरीय भ्रमणको तयारीको रुपमा रहेको परराष्ट्र स्रोतले जनाएको छ।

दुई देशका परराष्ट्र मन्त्रालयबीच उच्च स्तरीय भ्रमणको विषयमा छलफल चलिरहेको छ। गत महिना परराष्ट्रमन्त्री ज्ञवाली यसैको शिलशिलामा जापानको भ्रमण गरेका थिए।

परराष्ट्र स्रोतका अनुसार राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एकको जापान भ्रमणको विषयमा छलफल भइरहको छ। ‘दुई देशबीच उच्चस्तरीय आदानप्रदानको विषयमा छलफल भइरहेको छ। हाम्रो तर्फबाट हामीले तयारी गरिरहेका छौँ,’ स्रोतले भन्यो, ‘राष्ट्रपति वा प्रधानमन्त्री मध्ये एक भन्ने छ। तर तयारीको हिसाबले प्रधानमन्त्री भ्रमण हुने सम्भावना बढी रहेको छ।’

दुई देशबीच गणतन्त्र स्थापनापछि उच्चस्तरीय भ्रमण हुन सकेको छैन्। ‘नेपालबाटमात्र होइन जापानबाट पनि प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो।

पछिल्लो पटक सन् १९९८ नोभेम्बरमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापानको औपचारिक भ्रमण गरेका थिए। कोइराला गएको दुई वर्षपछि सन् २००० अगस्टमा योसिरो मोरीले नेपालको भ्रमण गरेका थिए।

त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको छैन।

नेपाल–जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठ मनाउन सेप्टेम्बर २०१६ मा जापानका वरिष्ठ उप विदेशमन्त्री नेपाल आएका थिए। यो नै गणतन्त्र स्थापनापछि जापानबाट भएको नेपालको उच्चस्तरीय भ्रमण हो।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना अगाडि नै आपसी सम्बन्ध भने रहेको थियो। जापानका धर्मगुरु एकाई कावागुचीले सन् १८९९, १९०३, १९०५, १९१३ मा नेपालको भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा प्रधानमन्त्रीसँग भेट गरेका थिए। भेटका क्रममा तिब्बतको ल्हासामा रहेको जेलमा रहेका जापानीको रिहाईको विषयमा छलफल भएको थियो। सो वार्तापछि नेपाल सरकारले ल्हासा जेलमा रहेका जापानीहरुलाई दलाई लामा सरकारले रिहा गरेको थियो।

त्यसपछि जापानी धर्मगुरुले ७५ पृष्ठ लामो पत्र नेपालका प्रधानमन्त्रीलाई लेख्दै धन्यवाद व्यक्त गरेका थिए। नेपाल सरकारले जापानी धर्मगुरु कावागुचीको सम्मानमा सन् २००२ मा हुलाक टिकटसमेत प्रकाशित गरेको छ। नेपालबाट पहिलो पटक नेपाली ८ विद्यार्थीहरुको समूह जापान पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell