PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

दुई खेलअघि नै मनाङको लिग उपाधी निश्चित, विशाल राई चम्केपछि संकटाविरुद्ध ३-१ को जित



पहिलोपोस्ट

दुई खेलअघि नै मनाङको लिग उपाधी निश्चित, विशाल राई चम्केपछि  संकटाविरुद्ध ३-१ को जित

दुई खेल खेल्न बाँकी रहँदै मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग जितेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा लिग तालिकामा दोस्रो स्थानमा रहेको संकटा क्लबलाई ३-१ को अन्तरले हराएपछि लिगको उपाधि मनाङ मर्स्याङ्दीले सुरक्षित गरेको हो। 

मनाङका लागि पहिलो हाफको इन्जुरी टाइममा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो। मनाङका विशाल राईले प्रहार गरेको कर्नर किकलाई संकटाका गोलकिपर राजाबाबु थापाले पन्च गर्दा बल संकटाका रोसन पहारीलाई लागेर गोलपोस्टभित्र छिरेको थियो।

दोस्रो गोलमा पनि विशालकै कर्नर किकले काम गर्‍यो । ८२ औं मिनेटमा विशालको कर्नलाई हेडिङ गर्दै पुजन उपरकोटीले जाली चुमाए। विशाल राईकै क्रसमा अड्लेजा सोमिधाले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।

संकटाका लागि सान्त्वना गोल खेलको ९० मिनेटमा सेड्रिक ओलावाले गरेका थिए।

मनाङले लगातार ११ खेलमा जित निकाल्दै ३३ अंक हासिल गरेको छ। दोस्रो स्थानमा रहेको संकटालाई ८ अंकको अन्तर पारेका कारण दुई खेल अगाडि नै लिगको उपाधी निश्चित गरेको हो। अब बाँकी दुई खेल संकटाले जिते पनि उसले मनाङको स्कोर छुन सक्दैन। च्याम्पियन मनाङले नगद ५० लाख र ट्रफी पाउनेछ। 

यसपटकको जितसँगै मनाङको आठौं लिग टाइटलसहित कीर्तिमानी जित हो। लिगको सर्वाधिक सफल टोली बन्न सफल मनाङ मर्स्याङ्दीले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० मा पनि लिग जितिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell