PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भूकम्पको ४३ महिनापछि धरहराको शिलान्याश हुँदैः साढे तीन अर्ब लागत अनुमान, यस्तो बन्नेछ २२ तले नयाँ धरहरा



पहिलोपोस्ट

भूकम्पको ४३ महिनापछि धरहराको शिलान्याश हुँदैः साढे तीन अर्ब लागत अनुमान, यस्तो बन्नेछ २२ तले नयाँ धरहरा

काठमाडौँः २०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको धरहरा पुनर्निर्माण लागि आज शिलन्यास गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको शिलन्यास गर्न लागेका हुन्। भूकम्पको ४३ महिनापछि धरहरा निर्माणको औपचारिक काम सुरु हुन लागेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहरा निर्माणको कार्य अघि बढेको हो। धरहरा निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा छ। धरहरा निर्माण हुने परिसरका सम्पूर्ण संरचना भत्काइएको छ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसअघि २०७२ फागुन २ गते धरहरा परिसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सुरु गरे पनि काम अघि बढ्न सकेको थिएन।

 

कस्तो बन्दैछ नयाँ धरहरा?

भीमसेन थापाले निर्माण गरेको धरहरा ११ तले थियो। सन् १९९० मा गएको भूकम्पले त्यो धरहरामा क्षति पुग्यो। क्षति भएको धरहरा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले पुरानै शैलीमा बनाए। तर, ११ तलेको सट्टा ९ तले। यस पटक भने त्यसो हुनेछैन।

यस पटक बन्ने नयाँ धरहरा न ११ तले हुनेछ न त ९ तले। नयाँ नेपालको भूकम्प प्रतिरोधात्मक धरहरा २२ तले हुनेछ। पुरानो भत्किएको धरहराको बाँकी संरचना भने परिसरकै एक छेउमा रहनेछ।

नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिनेछ। २२ तले धरहराको स्वरूप भने भीमसेन थापाले बनाएको ११ तले धरहराको जस्तै हुनेछ। भित्रबाट २२ तला भए पनि बाहिरबाट भने ११ तल्ला जस्तै देखिनेछ।

नयाँ धरहराको उचाइ करिब ७२ मिटर हुनेछ। गुम्बज र गजुरसहित नयाँ धरहराको उचाइ ७७ मिटरको हुनेछ। धरहरामा पहिलाको जस्तै भर्‍याङसँगै दुईवटा लिफ्ट रहने छन्। त्यसैले अब बन्ने धरहराको मोटाई भने पहिलाको धरहराभन्दा धेरै हुनेछ।

भूकम्पमा भत्किएको धरहराका बाँकी संरचनालाई पानी, हावाहुरीले नबिग्रने गरी संरक्षण गरिनेछ। नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको अवशेष हेर्न पाउने भएका छन्। २०७२ मा गएको भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिनेछ।

 

तीन अर्ब ४२ करोडको प्रोजेक्ट

मेरो धरहरा म आफैँ बनाउँछु अभियानको कोषमा हालसम्म २४ करोड रुपैयाँ जम्मा छ। दुई वर्षदेखि निष्क्रिय कोषलाई पुनः सञ्चालनमा ल्याउने तयारी पुनर्निर्माण प्राधिकरणको छ। स्थानीय समुदायले पनि धरहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

पहिला नेपाल टेलिकमले धरहरा बनाउने प्रस्ताव गरेको थियो। त्यसमा प्राधिकरण र टेलिकमबीच सहमति समेत भइसकेको थियो। तर पछि टेलिकमले धरहरा बनाउने अभियानबाट हात झिक्यो।

करिब ३ अर्ब ४२ करोडको लागतमा बन्दै गरेको धरहराका लागि टेलिकमको जस्तै खुलेर अरू संस्था भने अघि आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell