PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

निर्मला प्रकरणमा १६ दिन हिरासत बसेका विशाल भन्छन्, 'पुलिसमा जागिर लाइदिन्छु भन्दै हत्या कबुल गर्न लगाए’



सविन ढकाल

निर्मला प्रकरणमा १६ दिन हिरासत बसेका विशाल भन्छन्, 'पुलिसमा जागिर लाइदिन्छु भन्दै हत्या कबुल गर्न लगाए’

काठमाडौं: कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानको लागि नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएका विशाल चौधरी शनिवार हिरासतमुक्त भएका छन्। १६ दिनसम्म प्रहरी हिरासतमा बसेका चौधरीले आफूलाई प्रहरीले मार्ने धम्की दिएर निर्मलाको हत्या गरेको कबुल गर्न लगाएको आरोप लगाएका छन्। 

पहिलोपोस्टसँगको कुराकानीमा विशालले भने, 'मैले हत्या गरेको हुँ भन्, नत्र मार्छु भन्दै प्रहरीले बन्दुक देखाए। उनीहरुले धेरै पिटे। त्यसपछि मैले हत्या गरेको हुँ भनेको हुँ।'

गत मंसिर २० गते चौधरीलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो।  कञ्चनपुरबाट काठमाडौं ल्याएर उनको अनुसन्धान गरिएको थियो।‘काठमाडौंमा त कुटेनन्। चिया खान दिन्थे। चिया खाएपछि भने नशा लागेजस्तो हुन्थ्यो।'

प्रहरीले अनुसन्धानको लागि भन्दै नियन्त्रणमा लिएका अर्का किशोर प्रदीप रावललाई भने अझै रिहा गरेको छैन। रावलकै बयानका आधारमा चौधरीलाई कञ्चनपुरबाट पक्रेर काठमाडौँ ल्याइएको थियो। विशालले प्रदीपलाई काठमाडौंमा भेट्दा किन मलाई फसाएको भन्दै प्रश्न गरेकोसमेत सुनाए।‘किन मलाई फसाएको भन्दा उसले त म नै आफै फसेको छू कसरी फसाउनु भन्थ्यो,' विशालले भने।

प्रहरीले दुवै जनाको डिएनए परीक्षणसमेत गराएको थियो। तर दुवै जनाको डिएनए निर्मलाको भेजिनल स्वाबबाट निकालिएको पुरुष डिएनएसँग मिलेको थिएन। यद्यपि डिएनएको रिपोर्ट प्रहरीले आधिकारिक रुपमा अझै सार्वजनिक गरेको छैन। विशालले प्रहरीले कहिलेकाही प्रलोभनसमेत देखाउन गरेको बताए। उनले भने, 'पुलिसले मलाई प्रहरीमा जागिरसमेत लगाइदिन्छु भनेका थिए। छोड्ने बेला प्रहरीले गरेको कुरा कसैलाई पनि नभन्नु भनेका थिए।'

चौधरी निर्मला हराएको दिन गत साउन १० गते चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेको खुलेको थियो। उनलाई साउन ११ गते उनकी आमा प्रहरी चौकी पुगेर छुट्टाएकी थिइन्।  प्रदीपलाई अदालतले छोड्ने आदेश दिएपछि शनिवार उनी रिहा भएका हुन्। 

विशालले आफूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लग्दाको घटनासमेत सुनाए। भने, ‘मलाई अदालत लगिएको थियो। अदालतमा एक जना अंकलले सोध्नुभयो। तिमीले किन घटना कबुल गरेको त भनेर? मैले मेरो केही संलग्नता छैन। डरले मात्र भनेको हुँ भनेको थिएँ।' 

केन्द्रीय अनुसन्धान ब्युरोको टोली नियन्त्रणमा लिएका चौधरी र रावलको प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललेसमेत बयान लिएको संचारमाध्यममा समाचार आएका थिए। आइजिपी खनालले बयान लिए त? जवाफमा विशालले भने, 'खै एकजना मोटामोटा सरले भेटेका हुन्। मैले डरले हो भनेर कबुल गरें।' 

रावलको डिएनए नमिले पनि रिहा भएका छैनन्। किन प्रहरीले उनलाई हिरासतमा राखिरहेको छ भन्ने कुनै ‌औपचारिक जानकारी दिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell