PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इन्डोनेसियामा सुनामी : ११३ को मृत्यु, ६०० बढी बेपत्ता



इन्डोनेसियामा सुनामी : ११३ को मृत्यु, ६०० बढी बेपत्ता

जकार्ता: इन्डोनेसियामा आइतवार भएको क्राकाटोआ ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ११३ पुगेको डेलीमेलले जनाएको छ । 

इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागकाअनुसार पछिल्लो ६०० बढी व्यक्ति हराइरहेका छन्। हराएको व्यक्तिको खोजी गर्न कठिनाई देखिएको छ। 

समुद्री तटमा अझै पनि सुनामीको सम्भावना रहेको बताइएको छ। जसका कारण अहिले पनि सो क्षेत्रमा सतर्कता अपनाइएको जनाइएको छ। 

आइतबार इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो। यहाँको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको छ। 

ज्वालामुखी र सुनामी दुवै शक्तिशाली रहेका बताइएको छ। सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन। 

शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन्। मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको पनि इन्डोनेसियाबाट प्राप्त समाचारहरुमा जनाइएको छ। 

यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रहरुमा अन्यत्र भन्दा बढी क्षति पुगेको सरकारी अधिकारीहरुले बताएका छन्। सो क्षेत्रका विपद् व्यवस्थापनमा खटिरहेका अधिकारीहरुले सार्वजनिक गरेका तस्बिरहरुमा प्रभावित क्षेत्रका केही नगरहरु पानीमा डुबेको देखिन्छ। 

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन्। 

उनीहरुले अझै पनि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार वरपरको वस्तीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। 

इन्डोनेसिया विगत लामो समयदेखि नै ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ। यसै वर्षको सेप्टेम्बर महिनामा पनि त्यहाँ शक्तिशाली भूकम्प गएको थियो। सो भूकम्पबाट यहाँ ठूलो जनधनको क्षति भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell