PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६

एसिडले जोडेको नाता, उस्तै उस्तै व्यथा : छोरी बितेको दुई महिनामै धनमाया उडिन् मलेसिया

एसिडले जोडेको नाता, उस्तै उस्तै व्यथा : छोरी बितेको दुई महिनामै धनमाया उडिन् मलेसिया

सागर बुढाथोकी/पहिलोपोस्ट


'गएर त्यही रुममा सुत्नुपर्छ। किन जानु गाउँ?,' भुँइतिर घोरिँदै सानो स्वरमा सुकसुकाइन् सुस्मिताले, 'बरु काठमाडौँमै मर्छु। घर त जान्नँ।'

साँझको पौनै आठ बजेको छ। तापक्रम घट्दै जाँदा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल छेउछाउ मानिसहरुको ओहोरदोहोर बाक्लिँदो छ। टर्मिनलको मुखैमा सोह्रसत्रका युवादेखि अधवैंशेहरु हातमा पासपोर्ट बोकेर उभिइरहेका छन्। आफन्त बिदाइ गर्ने र कुर्नेको जमघट पनि छ त्यहाँ। कोही सुटकेसको प्रतीक्षामा छन् त कोही 'कफिन'को।


त्यही भिडमा सुकसुकाउँदै छिन्, धनमायाकी १२ वर्षीया छोरी सुस्मिता दास।

धनमाया तामाङ हातमा हरियो पासपोर्ट बोकेर लाइनमा छिन्। उनलाई पछ्याइरहेकी छिन्, सुस्मिता। दुवै दु:खी छन्। विछोडको पीडा उनीहरुको मुहारमा देखिन्छ। नछुट्टिनुको पनि विकल्प छैन उनीहरुसँग।

वैदेशिक रोजगारमा जानेहरुका लागि पस्ने लाइन छोट्टिँदै गइरहेको छ। आमाछोरी दुवैले एकले अर्कालाई हेर्न सकिरहेका थिएनन्। दुवैको गहभरी आँशु छल्किरहेको देखिन्थ्यो। धनमाया एकाएक लाइन छाडेर फर्किन्छिन् र सुस्मितालाई अँगालो हाल्छिन्। फेरि एकछिन रुवाबासी चल्छ। 


बहिनी ज्वाइँलाई हात जोरेर भक्कानिँदै भन्छिन्, 'म उतै मरेँ भने यसको राम्रै हेरविचार गर्नु है।'

'हिँड्ने बेला के अलछ्छिना बोल्नु परेको?' बहिनी दिदीको बोलीप्रति लक्षित गर्दै गाली गर्छिन्।

आँशु पुछ्दै फेरि लाइनमा जान्छिन्, धनमाया। लाइन अगाडि बढिरहँदा बारम्बार पछाडि फर्केर छोरीतिर हेरिरहन्छिन्। ८ बजेपछि आमा छोरी एक अर्काबाट ओझेल पर्छन्। रोइरहेकी सुस्मितालाई उनकी असु (आमाकी बहिनी) सम्झाउँछिन्, 'न'रो हामी छौं नि।'

गत भदौ २६ गते सुस्मितामाथि एसिड प्रहार भएको थियो। उनको दिदी सम्झना र उनी एकै ओछ्यानमा थिए। एसिड आक्रमणकै कारण सम्झनाको मृत्यु भयो, उपचारकै क्रममा।

एसिड आक्रमणमा परेकी बहिनी सुस्मिता पनि लामै समय अस्पतालमा बसिन्। विमानस्थलमा सुकसुकाउँदै गरेकी सुस्मिता आफ्नी आमा बिदाइ गर्न आएकी हुन्। एसिडले बनाएको घाउ नपुरिँदै आमालाई बिदाइ गर्नुपरेको छ उनले। जेठी छोरीको मृत्यु भएको दुई महिना नबित्दै फेरि देश छोड्दैछिन्, धनमाया।




***

मिति: २०७५ भदौ २७ गते।

स्थान : मलेसिया।

दिउँसो ४ बजे।

तिजको दिन नाचगान चल्दै थियो। नेपाली कामदारलाई बिदा। सुख दु:खका कुरा गरिरहेकी थिइन्, धनमाया। गीत बजाउँदै बेलाबेलामा साथीहरुसँग नाचिरहेकी थिइन्।

त्यतिबेला फोन बज्यो। आमाको फोन रहेछ। उठाइन्। कुराकानी भयो। त्यही कुराकानीले तिजको रमझम एकाएक सेलायो। नाचगान बन्द भयो।

धनमायालाई सुरुमा त विश्वास नै लागेन। तर, आमाको कुरा विश्वास नगर्नु कसरी? रातभरि निद्रा परेन। बिहान उठेर ड्यूटी गइन्, काममा मन लागोस् कसरी?

ड्युटीमा पुग्नासाथ म्यासेन्जरमा 'नोटिफिकेसन' आयो। श्रीमान् जादोलाल दासले छोरी सम्झनाको फोटो पठाइदिएका रहेछन्।

'ओहो,  विभत्स!'

आफ्नै छोरी चिन्न नसकिने।

उनी काम गर्ने ठाउँमै बेहोस भइन्। बिउँझिँदा ओछ्यानमा। मंगलवार राति भएको घटना बुधवारमात्रै थाहा पाइन्। 

त्यसपछि आँशु छचल्किरह्यो। खाना रुचोस् कसरी? कतिबेला नेपाल पुगुँ भयो। तर, अर्काको देश, अर्काका खटन। भन्नासाथ छुट्टी मिलेन। खबर पाएको एकसातापछि बल्ल नेपाल आइपुगिन्। एयरपोर्टबाट सिधै कीर्तिपुर अस्पताल।

 

पढ्नुहोस्: जसका लागि कमाउन गएकी थिइन्, उसैमाथि एसिड आक्रमण : हान्निएर मलेसियाबाट फर्किन् धनमाया




मिति: २०७५ साल असोज ४ गते।

समय: दिउँसो १२ बजे।

स्थान: कीर्तिपुर अस्पताल।

ट्याक्सीबाट ओर्लेर हस्याङ फस्याङ गर्दै धनमाया अस्पतालमा प्रवेश गरिन्। अत्तालिएकी थिइन् उनी। सम्हालिन गाह्रो। दुईजना महिलाले समाएर अस्पतालको प्रतीक्षालयमा बसाए। 

उनी आइपुग्दा सुस्मिता बोलचाल र सामान्य हिँड्डुल गर्ने सक्ने भएकी थिइन्। सम्झना भने आइसियूमा। धनमायाले सुस्मिताबाट घटनाको बेलिविस्तार सुनिन्। त्यहीबेला आइसियूबाट नर्सले बोलाइन्। हतारिँदै आइसियू छिरिन्।

सम्झना बेडमा पल्टिरहेकी थिइन्। खुट्टादेखि शरीरसम्म पूरै ब्याण्डेज। नाकदेखि हातसम्म पाइपको सहारा। एउटा आँखाबाट पिप बगिरहेको। अर्को पूरै बन्द।


सम्झनालाई एकतमासले हेरिरहिन्। शरीर कामेझैं भए पनि 'कन्ट्रोल' गरिन्। आमा छोरीले एक अर्कालाई हेराहेर गरे। सम्झनाले बोल्न त खोजिन् तर आवाज निस्केन। बोल्न सक्ने धनमाया पनि निशब्द रहिन्। र,  आइसियुबाट दौडँदै बाहिरिइन्।

'त्यो पापीको मेरो छोरीले के बिगारेको'थ्यो र ...,' धनमाया बरबराइन्,'छोरीहरुका लागि भनेर कति दु: ख गरेँ। भोकभोकै बसेँ छोरीहरुकै लागि विदेश गएँ। तर, त्यो पापीले मेरो संसार उजाड बनाइदियो।'

तीन दिनपछि सम्झनाको मृत्यु भयो। लामो समयपछि अस्पतालको शैयामा भेटभएकी छोरीसँग सुखदुखका कुरा त के धित मरुन्जेल हेर्न पनि पाइनन्। छोरीको दाहसंस्कार गर्न रौतहटतिर लागिन्।

***

मिति : २०७५ कार्तिक ३०।

स्थान : त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, आइसियू प्लास्टिक सर्जरी वार्ड।

बेड नम्बर : ३५।

समय : १२ बजे

धनमाया बेड नम्बर ३५ मा पुगिन्। भित्तामा रहेको चम्किलो रातो अक्षरमा लेखेको पढिन्- 'दीन दु:खी र गरिबको लागि मात्र।' एसिड आक्रमणमा परेकी वसन्ती परियार त्यहीँ अगाडिको बेडमा छिन्। उनका श्रीमान यमनारायण र आमा कल्पना छेउमा टोलाइरहेका। धनमायासँग यिनीहरुको नाता एसिडले नै जोड्छ।

 

यो पनि पढ्नुहोस्: एसिड पीडित वसन्तीकी आमाको अस्पतालबाट पुकार, 'हे, पशुपतिनाथ छोरीलाई बचाइदेऊ!


धनमाया वसन्तीलाई भेट्न पुगेकी हुन्। गत असोज ७ नवलपरासीमा आफ्नै छिमेकीबाट एसिड प्रहार भएको थियो वसन्तीमाथि। त्यसयता अस्पतालकै बेडमा छिन्। अनुहार बिग्रिएको छ। 

वसन्तीको हातल आफ्नै छोरीको जस्तो देखेर धनमायाका आँखा रसाए। आँखा जुध्यो, बोल्न सकिनन्। वसन्तीका आमा कमलालाई भनिन्, 'कस्तो दुखिया भाग्य रहेछ। संसारकै अभागी आमा रहेछौँ हामी।'

वसन्तीलाई सुमसुम्याउन थालिन्, कमला। घोसे मुन्टो लगाएर बसेकी वसन्ती सुक्कसुक्क गर्दै रुन थालिन्। कल्पनाले छोरीलाई सम्झाउन थालिन्, 'छोरी मान्छेको जात नै दुखिया! के गर्छेस् त अब... सहनुपर्छ।' 

सान्त्वनाले एसिडको पोलाई के कम हुन्थ्यो र? वसन्तीले आमालाई जवाफ फर्काइन्, 'जति प्रयास गरे पनि सम्हालिन सकिनँ। थाकेँ। यस्तो अनुहार लिएर मन दह्रो पार्न सक्दिनँ म।'

त्यसपछि वातावरणमा सन्नाटा छायो। आँखाभरी आँशु पारेकी वसन्तीले बोल्न मन गरिनन्। त्यसपछि, शिक्षण अस्पतालको प्रांगणमा निस्किए कमला र धनमाया। अर्थात् एसिड पीडितहरुका आमा।


उनीहरु गफिन थाले। एक अर्कोको पीडा सुने अनि सुनाए।  दुखेसो पोखाउने क्रममा अपराधीलाई धारे हात लगाउँदै सरापे। आँशु, आक्रोश, पीडा र सहानुभूतिको 'फ्युजन' थियो त्यो भेट। 

'पार्वती जस्तो छोरीलाई भूत जस्तो बनाइदियो। सास त छ तर, गरेर खाली भन्ने आश छैन,' कमलाले निराश हुँदै सुनाइन्।

'तपाईँ त छोरी नजिक हुनुहन्थ्यो। म सात समुन्द्र पारी। के भयो होला मेरो हालत? मुर्छा परेर लडेँ त्यहीँ। एक सातापछि बल्ल बिदा मिल्यो। आएको तीन दिनमै छोरी मरी,' धनमायाको दुखेसो।

दुवै जनाले आफ्ना पीडा खोतल्न थाले। 'श्रीमानले बाँचेकी एउटा अपाङ्ग छोरीका लागि केही सोचेन। फेरि विदेश जानुपर्ने बाध्यता आइलाग्यो,' सान्त्वना दिन पुगेकी धनमाया आफैँ रुन थालिन्।


छोरीको मृत्युपछि श्रीमान जादोलालले उपचार खर्चका लागि ६ लाखभन्दा बढी सहयोग रकम कुम्ल्याएर हिँडे। धनमायाले भने ऋण गरेरै लाखभन्दा बढी उपचारमा खर्च गरिन्। अर्की श्रीमतीसँग बस्न थालेका दासले उल्टै थर्काए धनमायालाई।

कान्छी श्रीमती ल्याएपछि छोरीहरुलाई धनमायाले हेरिरहेकी थिइन्। सम्बन्ध बिच्छेद भएकाले श्रीमानबाट सहयोग हुन्थेन। यसअघि पनि तीन वर्ष मलेसिया बसेर आएकी। ऋण थियो, तिरिन्। छोरीहरुलाई पढाउन, बढाउन खर्च थिएन। 

धनमायाले पहिलोपटक नेपाल छोड्दा छोराछोरी सानै थिए। विदेश जानुअघि श्रीमानको आग्रहमा धनमायाले सानो छोरालाई जग्गा पास गरिदिइन्। विदेश जानसाथ श्रीमानले अर्की भित्र्याए। बाध्य भएर  दोस्रोपटक विदेश गइन्।

विदेश जादाँ उनीसँग केही थान सपना थिए, 'थोरै जग्गा किन्न सकूँ। आफ्नै घर बनाउँ। छोराछोरीलाई राम्रो स्कुल हालूँ।' 

तर, दोस्रो पटक विदेश गएको डेढ वर्ष नबित्दै छोरीहरुमाथि एसिड प्रहार भयो। 


एकजनाको अपराधले धेरैको जीवन तहसनहस भएको बताउँछिन् धनमाया। भन्छिन्, 'आफ्नो जिन्दगी त बर्बादै भयो। अब छोरीको लागि सकेको गर्छु।'

सुस्मितालाई काठमाडौँमै राख्ने योजना छ, उनको। यतै पढाउन चाहन्छिन्। त्यसका लागि विदेश जानु एउटै विकल्प बन्यो। 'गर या मर'को अवस्थामा रहेकाले भावनामा नबहकिने सुनाउँछिन् उनी। भावनाले मान्छेलाई कमजोर बनाउने थाहा छ, उनलाई। मायाले जिन्दगी नचल्ने बुझिसकेकी छिन्। 

परिवार र छोराछोरीको लागि जिन्दगी रहुन्जेल संघर्ष गर्ने उनको योजना छ। भन्छिन्, 'मर्नु परे विदेशमै मर्छु तर छोरीको भविष्य बिग्रने गरी नेपालमा बस्दिन।'

नेपालमा बस्न मन नभएको हैन, उनलाई। जागिर पाइन्छ कि भनेर धेरै ठाउँ चहारिन्। तर, दश हजार कमाई हुने जागिर पनि कतै भेटिनन्। बस्नलाई घर छैन। खेतीपाती गरौँ, सुकुम्वासी परे। त्यसैले तेस्रोपटक विदेश जाने निर्णय गरिन्।



***

धनमाया जसरी कमलाको विदेश जान सक्ने उमेर छैन। तर, आर्थिक अवस्था भने दुवैको उस्तै। कमलाको श्रीमान वर्षौदेखि मानसिक रोगी भएकाले काम गर्न सक्दैनन्। उनलाई सम्हाल्न एकजना साथी सँगै नभइ हुन्न। छोराहरु जन्मिएनन्। चार छोरीमध्ये एउटा मरिन्। एउटा अस्पतालको बेडमा महिनौंदेखि लडिरहेकी छिन्। बाँकी दुईले बिहे गरिसके।

हाटमा तरकारी बेचेर निर्वाह गरिरहेकी उनी दुई महिनादेखि यहीँ छिन्। 'श्रीमान् मानसिक रोगी, उता जे पायो त्यही खाएर हिँडेका छन् रे। म यता छोरीको बिजोक हेरेर बसिरा'छु। यस्तो पीडा त शत्रुलाई पनि नपरोस्।'


अपराधीले, 'बाँचेर आए मार्दिन्छु' भन्दै खुलेआम धम्क्याएको भुलेकी छैनन् उनले। धम्कीले आक्रोश बढेको छ उनमा। 

'यहाँ पैसा,पावरर नेताको चल्छ भन्दैमा त्यसले हामीलाई फेरि मार्छु भनेर धम्क्याउने,' आक्रोशित हुँदै बोल्छिन्, 'म त्यो जस्तो मूर्ख हैन। तर कानुनले त्यसलाई जन्मकैद सजाय दिएन भने म आफैँ त्यसलाई एसिड हाल्छु।'

धनमायालाई पनि बदला लिनुपर्ने जस्तो लाग्छ। प्रहरी प्रशासनले पीडितलाई सहयोग नगरेको गुनासो छ उनको। 

नेपाल आएको २ महिना नबित्दै धनमाया अहिले मलेसिया फर्किसकेकी छिन्। अपराधीले सजाय पाओस् भन्ने चाहना छ। आफ्नो जस्तो पीडा अरुले नभोगुन् भन्ने कामना गरेकी छिन्। विमानस्थलबाट फर्किँदै गर्दा बहिनीलाई भनिरहेकी थिइन्, 'म उतै मरे भने मेरो छोरीलाई बचाइदिनु है।'



ट्रेन्डिङ पोस्ट