PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एकताको ८ महिनापछि ने क पाको बैठक पहिलो पटक बालुवाटार बाहिर, युनिफिकेसन चर्चको कार्यक्रमबारे प्रश्न उठ्दै



विधुर ढकाल

एकताको ८ महिनापछि ने क पाको बैठक पहिलो पटक बालुवाटार बाहिर, युनिफिकेसन चर्चको कार्यक्रमबारे प्रश्न उठ्दै

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको बैठक शनिबार बस्ने भएको छ।
 
पार्टी कार्यालयका तर्फबाट स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले शनिबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बस्ने सूचना जारी गरेका छन्।
 
गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको ने क पाको स्थायी कमिटीको बैठक ६ महिनादेखि बस्न सकेको छैन। 

लामो समयपछि बस्न लागेको नेकपाको स्थायी कमिटीको बैठकमा सरकारको समीक्षा, पार्टीका तल्ला कमिटीहरुको एकताको विषयमा छलफल हुनेछ।

पछिल्लो समय पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा डाकिएको सचिवालय बैठकमा पार्टीको नेतृत्वको विषयमा समीक्षासमेत हुने एक सचिवालय सदस्यले बताए। पार्टीभित्रको असन्तुष्टि पछिल्लो पटक सचिवालयका चार सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेपछि छताछुल्ला भएको थियो। 

त्यस्तै केन्द्रीय सदस्यहरुले जिम्मेवारी नदिएको भन्दै नेतृत्वको आलोचना गर्दै आएका छन्। प्रदेशको नेतृत्व र प्रदेश कमिटीका सदस्यहरुको नामावलीमाथि पनि असन्तुष्टि कायमै छ।
 
केन्द्रीय कमिटीको बैठक समयमै नबोलाइएको भन्दै २२ जना केन्द्रीय सदस्यहरुले नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए। यस विषयमा समेत स्थायी कमिटीको बैठकमा छलफल हुने बताइएको छ। 

त्यस्तै हालै सम्पन्न युनिफिकेशन चर्चले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीको सहभागिताका विषयमा समेत छलफल हुने बताइएको छ। पार्टीका स्थायी कमिटीका सदस्यहरुले यस विषयमा विरोध गरिरहेका छन्।
 
शनिबार बस्ने स्थायी कमिटीको बैठकले हालसम्म भएका सचिवालयका निर्णयहरुलाई अनुमोदन गर्ने कार्यसूची पनि तय गरिएका एक सचिवालय सदस्यले जानकारी दिए।
 

एकतापछि पार्टी कार्यालयमा पहिलो बैठक

पार्टी एकतापछि ने क पाको बैठक पहिलो पटक पार्टी कार्यालयमा बस्न लागेको हो।
 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता जेठ ३ गते भएको हो। पार्टी एकताका अगाडि शीर्ष नेतृत्वको बैठकहरुसमेत प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै आएको छ।
 
जेठ ३ गते नै बालुवाटार दुई पार्टीका नेताहरुले वृक्षारोपण गरेर पार्टी एकताको अन्तिम बैठक बसेका थिए। त्यसपछि तत्कालिन एमालेको केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै बसेको थियो।
 
त्यसपछि बालुवाटारमै तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय कमिटीको बैठक बसेको थियो। त्यसपछि एकीकृत पार्टीको केन्द्रीय सदस्यहरुले बालुवाटारमै सामूहिक रुपमा सपथ लिएर राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा भयो।

त्यसयताका हरेक सचिवालयका बैठक बालुवाटारमै हुँदै आएका छन्। त्यस्तै एक केन्द्रीय कमिटीको बैठक र स्थायी कमिटीका दुई ‘कर्मकाण्डी’ बैठक पनि बालुवाटारमै भए। यी बैठकमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य बाहेक केही भएन।
 
पार्टीको काम बालुटारबाटै भएको भन्दै सवत्र आलोचनासमेत बढ्दै गएको थियो। पार्टीका नेताहरुले पनि बैठक बालुवाटारमा राख्ने कार्यालयलाई उपेक्षा गरिएको भन्दै आलोचना गरेका थिए। यसैले पनि ने क पाले पहिलो पटक बालुवाटार बाहिर आफ्नो पार्टी कार्यालयमा बैठक आयोजना गर्न लागेको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell